राष्ट्रियसभाको निर्वाचनमा भागबण्डा मिलाउन गठबन्धनको बैठक बोलाइएको छ । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताबीच छलफल हुन लागेको हो ।
माओवादी केन्द्रको महाधिवेशन लम्बिएपछि आज बस्ने भनिएको गठबन्धनको बैठक भोलि बिहान लागेको छ । आगामी फागुनदेखि चार वर्षे कार्यकाल पूरा गरेका राष्ट्रिय सभाका २० सांसद बिदा हुँदैछन् । एमालेबाट आठजना, माओवादी केन्द्रबाट चार, नेकपा एकीकृत समाजवादीबाट चार, काँग्रेसबाट तीन र मनोनीत एकजना सांसद बिदा हुने क्रममा छन् ।
राष्ट्रपतिबाट मनोनीत हुने एक स्थान बाहेक १९ सिटका लागि यही माघ १२ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म ७ वटै प्रदेशमा चुनाव हुँदैछ । सत्ता गठबन्धन आबद्ध दलहरू काँग्रेस, माओवादी, एकीकृत समाजवादी जसपा गठबन्धन बनाएर चुनावमा जाने तयारीमा छन् ।
प्रतिपक्षी नेकपा एमाले भने एक्लै चुनावमा जानुपर्ने अवस्था देखिन्छ । यस्तो अवस्थामा एमालेलाई पहिलेका ८ वटा सिट जोगाउनुपर्ने चुनौती छ । प्रदेश एक बाहेकका प्रदेशमा गठबन्धनका उम्मेदवारले जित्ने देखिन्छ । यद्यपि प्रदेश एकमा साना दल र स्वतन्त्र सांसदलाई आफ्नो पक्षमा पार्न सके गठबन्धनले चुनाव जित्न सक्ने आधार भने बाँकी छैन ।
काँग्रेस र माओवादी, एकीकृत समाजवादी र जसपा राष्ट्रियसभाको सिटमा भागबण्डा मिलाउने तयारीमा छन् । काँग्रेसका ३, माओवादी र एकीकृत समाजवादीका खाली भएका चार–चार सिटमा भने भागबण्डा हुने छैन ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij