
पेरिस : डेल्टा र ओमिक्रोन भेरियन्टको मिश्रणले फेरि एकपटक विश्वभर कोभिड घटनाको एउटा डरलाग्दो सुनामी ल्याउन लागिरहेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुखले बताएका छन् । युरोप र अमेरिकामा कोभिडका नयाँ बढिरहेको बेला डा. टेड्रोस एड्हानोम गेहब्रेयससको त्यस्तो भनाइ आएको हो । डा. टेड्रोसले दुईवटा भेरियन्टको चुनौतीले समग्र घटनाको चाप बढाएको भन्दै चेतावनी समेत दिएका छन् ।
कोभिडको सुनामीले स्वास्थ्य सेवा प्रणालीलाई धम्की दिने खतरा छ, ओमिक्रोन भेरियन्टले गरेको रेकर्ड वृद्धिले विश्वभर नयाँ वर्षको उत्सवलाई फेरि एकपटक धमिलो पारेको डब्ल्यूएचओले जनाएको छ । विभिन्न अध्ययनहरुले ओमिक्रोन खतरामा डेल्टाभन्दा मध्यम रहेको तर निकै धेरै संक्रामक रहेको बताएको छ ।
फ्रान्सका स्वास्थ्यमन्त्रीले ओमिक्रोनलाई लहर मात्र भनेर नपुग्ने बरु ‘आँधीजस्तो लहर’ भन्नुपर्ने बताएका छन् । विश्वभरका लाखौँ व्यक्तिले फेरि महामारीबीच नै नयाँ वर्षलाई स्वागत गर्नेछन् । यस महामारीको कारण अहिलेसम्म ५४ लाखभन्दा बढी मानिसको ज्यान लिइसकेको छ । कैयौं देशमा चाडपर्व ओझेलमा पर्नुको साथै रद्द गरिएको छ ।
ग्रीसले बुधबार बार र रेस्टुरेन्टमा नयाँ वर्षको पूर्वसन्ध्या पार्टी सीमित गर्नको लागि संगीत प्रतिबन्धित गरेको छ । सार्वजनिक कार्यक्रम पहिले नै रद्द गरिसकेका छन् । मेक्सिकोमा कोरोना संक्रमण बढ्दै गएपछि राजधानीका मेयरले नयाँ वर्षको पूर्वसन्ध्याको उत्सव रद्द गरेका छन् ।
रासस–एएफपी
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij