२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

श्रम स्वीकृति नलिई विदेश जाने महिलाले अध्यागमनमा स्वघोषणा फारम भर्नुपर्ने

श्रम स्वीकृति नलिई विदेश जाने महिलाले अध्यागमनमा स्वघोषणा फारम भर्नुपर्ने

काठमाडौं । खाडी लगायत अन्य मुलुकमा श्रम स्वीकृत नलिई यात्रा गर्न लागेका नेपाली महिलाले अब ‘आफू भिजिट/टुरिष्ट भिसामा काम गर्ने उद्देश्यले जान नलागेको’ बेहोरा खुल्ने गरी स्वःघोषणा फारम भर्नुपर्ने भएको छ ।

अध्यागमन विभाग, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले आफ्ना कर्मचारीका लागि निर्देशन जारी गर्दै यस्तो व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

बिहीबार कार्यालयका सबै समूहका कर्मचारीलाई निर्देशन जारी गर्दै कार्यालयले भनेको छ, ‘खाडी लगायत अन्य मुलुकमा नेपाली महिलाहरु श्रम स्वीकृति नलिई काम गर्ने उद्देश्यले जान लागेको आशंका लागेमा अध्यागमन ऐन, कानून र पछिल्ला मापदण्ड लागू गर्नुका साथै अतिरिक्त रजिष्टर खडा गरेर म भिजिट/टुरिष्ट भिसामा काम गर्ने उद्देश्यले जान लागेको होइन भन्ने स्वःघोषणा फारम समेत भर्न लगाउने, साथै नातेदारलाई भेट्न जाने उद्देश्यले जान लागेको भए उक्त फारममा नातेदारको राहदानी र नागरिकता समेत अनिवार्य रुपमा खुलाउने ।’

कार्यालयले आफ्नो कर्मचारीलाई डेस्कमा नरम, शिष्ट र सम्मानित रुपमा प्रस्तुत हुन निर्देशन जारी गर्दै छलफल र सोधपुछका क्रममा समेत यस्तै व्यवहार देखाउन निर्देशन दिएको छ ।

यस क्रममा अध्यागमन कानून र मापदण्डमा भने कडाइका साथ लागू गर्न भनिएको छ । यात्रुको कागजातमा आशंका गर्ने ठाउँ भएपनि दोषी हुने पर्याप्त आधार नभएसम्म यात्रु निर्दोष नै रहेको व्यवहार देखाउन समेत कर्मचारीलाई भनिएको छ ।

यसैगरी पछिल्लो समय अध्यागमनमा यात्रु अड्किएपछि जहाजको प्रस्थान ‘डिले’ हुने प्रवृत्ति बढेको भन्दै अब कागजात नपुगेका वा कागजातमा आंशका भएका यात्रुसँग छलफल र बहसमा अध्यागमनको डेस्कमा बसेका यात्रु अड्कन पाइने छैन ।

यस्ता यात्रुसँग वरिष्ठ अध्यागमन अधिकृतले छलफल गरेर छिटो निर्णय दिनु पर्ने भएको छ । यसले अन्य यात्रु लामो समय लाइनमा अड्किनुपर्ने समस्या समाधान हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij