२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

समृद्ध नेपालको परिकल्पनाः उद्याेग परिसंघका उपाध्यक्ष विरेन्द्रराज पाण्डेकाे दृष्टिकाेण

समृद्ध नेपालको परिकल्पनाः उद्याेग परिसंघका उपाध्यक्ष विरेन्द्रराज पाण्डेकाे दृष्टिकाेण

विरेन्द्रराज पाण्डे, उपाध्यक्ष, नेपाल उद्योग परिसंघ, प्रबन्ध निर्देशक, नेपाल आदर्श निर्माण कम्पनी प्रा.लि

– सन् २००० तिर उत्पादनमूलक उद्योगको योगदान जिडिपीमा ९ प्रतिशत रहेकोमा अहिले घटेर ५ प्रतिशतमा सीमित भएको छ ।

– दिगो विकास लक्ष्य–२०३० ले तय गरेका लक्ष्यहरु मध्ये सामाजिक पक्ष अन्तरगत पर्ने शिक्षा, स्वास्थ्य, सञ्चार लगायतमा नेपालले राम्रै प्रगति गरेको छ ।

– राजनीतिक दलहरुको चेतनास्तर समाजका प्रत्येक व्यक्तिको चेतनास्तरको समष्टिगत योगको औसत हो । समाजले जे चाहन्छ, राजनीतिक दलका नेताहरु आफूलाई पनि सोही दिशामा मोड्न तयार हुन्छन् ।

– हामीले पुराना नीतिनियमहरुलाई परिमार्जन गरेर अब दीर्घकालिन मान्यता सहित औद्योगिकरणको दिशामा अघी बढ्नुको विकल्प छैन ।

– अहिले नेपालमा युवा जनशक्ति ठूलो मात्रामा छ । तत्काल यी युवाहरुमा काममा लगाएर राम्रो उत्पादकत्व प्राप्ति गर्न सकिन्छ ।

‘विगतमा नेपाल सरकार र इजरायल सरकारसँगको सहयोगमा नेपाल कन्स्ट्रक्सन कम्पनी स्थापना भई सञ्चालनमा रहँदै आएको थियो । इजरायलीहरुको व्यवस्थापनमा सञ्चालनमा रहँदै आएको उक्त कम्पनीको योगदान ठूलो थियो । उक्त कम्पनीबाट इजरायली समूह बाहिरिएपछि राम्रोसँग चल्न नसकी उक्त कम्पनी अहिले बन्द अवस्थामा छ । यस्ता कम्पनीहरुलाई सही तवरले सञ्चालन गर्न नसक्दा नेपालको विकास अवस्था पछाडि परेको हो’ नेपाल आदर्श निर्माण कम्पनी प्रा.लिका प्रबन्ध निर्देशक तथा निर्माण क्षेत्रका सफल एवं अनुभवी व्यक्तित्व विरेन्द्रराज पाण्डे बताउनुहुन्छ ।

निर्माण क्षेत्रको अग्रणी कम्पनी नेपाल आदर्श निर्माण कम्पनी प्रा.लि. सञ्चालन गर्दै आउनुभएका पाण्डे नेपाल उद्योग परिसंघका उपाध्यक्ष पनि हुनुहुन्छ । निर्माण क्षेत्रमा निकै लामो अनुभव हासिल गर्नुभएका पाण्डे आफू निर्माण व्यवसायमा संलग्न हुने समयमा नेपालका निर्माण व्यवसायीसँग प्रयाप्त प्राविधिक ज्ञान, आवश्यक जनशक्ति तथा उपकरणहरुको अभाव रहेको बताउनुहुन्छ । त्यसपश्चात् नै आवश्यकता महसुस गरी नेपाल सरकारले हेभी इक्युपमेन्ट डिभिजन नै सञ्चालनमा ल्याएको विस्तारै निर्माण क्षेत्रले गति लिँदै अघी बढेको पाण्डे बताउनुहुन्छ ।

नेकपा (एमाले)का नेता मनमोहन अधिकारी प्रधानमन्त्री भएको बेला निर्माण व्यवसायीहरुलाई बिना व्याजमा विगतको २० प्रतिशतमा थप १० प्रतिशत अग्रिम धरौटी (एडिसनल मोभिलाइजेसनल एड्भान्स) उपलब्ध गराएर उपकरणहरु भित्र्याउन पाउने व्यवस्थाले निकै सहयोग पुर्याएको स्थिति निकै सुखद रहेको समेत पाण्डेले बताउनुभयो । उक्त व्यवस्थाले नेपाली निर्माण व्यवसायीहरुलाई आफ्नो क्षमता बिस्तारमा पनि थप सहायता पुर्याएको पाण्डेको धारणा छ । अहिले सम्म आइपुग्दा नेपाली निर्माण व्यवसायीहरु ठूला–ठूला परियोजना निर्माण कार्यमा सक्षम बनिसकेको धारणा राख्नुहुन्छ । नेपालको विकास अवस्था, सम्भावना र जटिलताहरुलाई नजिकबाट बुझ्नुभएका पाण्डेसँगको कुराकानीमा रही हामीले यो सामाग्री तयार पारेका हौं ।

नेपाल र बाह्य मुलुकको विगतको तुलना
विगत २–३ दशकको तुलनामा अहिले हाम्रो अर्थतन्त्र केही विकास त भएको छ । यद्यपि हामीले जुन गतिमा हाम्र्रो अवस्थालाई माथि उठाउनुपर्ने थियो, त्यो गर्न सकेका छैनौं । म करिब ३५ बर्ष पहिले भारतबाट इन्जिनियरिङ अध्ययन गरेर नेपाल प्र्र्रवेश गरेको हुँ । त्यतिबेला सामाजिक स्थिति भारत र नेपालको लगभग एकै किसिमको थियो । चीनको अवस्था सायद नेपाल र भारत भन्दा पनि पछाडि थियो । कोरिया पनि कमजोर नै थियो । एसियाका लगभग सबैजसो देशहरुको स्थिति एकै किसिमको थियो । समयक्रममा जुन–जुन देशहरुले पूर्वाधार विकास र औद्योगिकरणलाई बढी महत्व दिन थाले, ती देशहरुको समग्र अवस्था माथि उठ्दै गयो । नेपालले पूर्वाधार विकास र औद्योगिक वातावरण निर्माण गर्ने दिशामा प्रयाप्त काम गर्न सकेन । सन् २००० तिर उत्पादनमूलक उद्योगको योगदान जिडिपीमा ९ प्रतिशत रहेकोमा अहिले घटेर ५ प्रतिशतमा सीमित भएको छ । नेपालमा नै उत्पादन सम्भव रहेका र विगतमा यहीँ उत्पादन गरेर विदेश निर्यात गर्दै आएका वस्तुहरु समेत अत्यन्तै बढी आयात गर्नुपर्ने स्थितिमा हामी पुगेका छौं ।

उद्योगको अवस्था कमजोर भएको कारण नेपालमा रोजगारी सृजनामा बाधा सृजना भएको छ । जसले गर्दा नेपालबाट युवाहरुलाई रोजगारीको लागि विदेश पठाउनुपर्ने स्थिति नेपालमा सृजना भयो । यसरी हामी यत्तिकै अल्मलिने स्थितिमा पुग्यौं । त्यसको परिणाम अहिलेको हाम्रो अवस्था बन्न पुगेको छ ।

भावी सम्भावना
लामो समय राजनीतिक अस्थिरताको भूमरीमा पर्दै आएको नेपाल आगामी केही दशकमा तुलनात्मक रुपमा निकै अगाडि बढिसकेको हुनेछ । दिगो विकास लक्ष्य–२०३० ले तय गरेका लक्ष्यहरु मध्ये सामाजिक पक्ष अन्तरगत पर्ने शिक्षा, स्वास्थ्य, सञ्चार लगायतमा नेपालले राम्रै प्रगति गरेको छ । प्रतिव्यक्ति आय, उत्पादन, औद्योगिकरण, रोजगारी सृजना लगायतमा भने प्रयाप्त सुधार गर्नुपर्नेछ । हाम्रो १५औं पञ्चबर्षीय योजनाका लक्ष्यहरु छन् । ८–९ प्रतिशतको आर्थिक वृद्धिदरको स्थितिमा हाम्रो अर्थतन्त्रलाई उकास्नुछ । अब हामीले पाउँदै आएका सहुलियत र सुविधाहरु बिस्तारै कटौती हुँदैछन् । यस्तो अवस्थाले हामीलाई विस्तारै आत्मनिर्भर बन्न उत्प्रेरित गर्दैछ ।

हाम्रा छिमेकी मुलुकहरु भारत र चीनले निकै कम लागतमा जुन वस्तुहरु उत्पादन गर्दै आएका छन् । ती वस्तुहरु उत्पादन गर्नको लागि नेपालमा लागत निकै महँगो पर्ने स्थिति छ । यसलाई घटाउनको लागि पनि हामीले पहल गर्नुछ । हामीले चाहेको विकास प्र्राप्तिको लागि सरकारी तथा निजी क्षेत्र दुवै मिलेर माथि उठ्नु जरुरी छ । अहिले सम्म आइपुग्दा नेपालीहरुले स्वदेश तथा विदेशमा रहँदा जुन ज्ञान, सीप र अनुभवहरु हासिल गरेका छौं । विदेश जाने अधिकांश युवाहरु अप्राविधिक काममा नै जाने भएपनि केही उच्च व्यवस्थापनमा रहेर काम गर्ने अवसर पनि पाउनुभएको छ । ती सबैको ज्ञान र अनुभवलाई हाम्रो विकासमा केन्द्रित गर्नुपर्ने जरुरी छ ।

अब विकासको यात्रालाई कसैले रोक्न सक्दैन ।
विदेशमा रहँदा त्यहाँको विकास स्थिति र जीवन पद्धतिलाई नजिकबाट महसुस गरेका युवाहरुले नेपाल पनि त्यसै किसिमले विकास भएको हेर्न चाहेका छन् । अहिले नेपालीहरुले विश्वस्तरीय प्रविधिहरुको ज्ञान हासिल गरेका छौं । राजनीतिक दलहरुको चेतनास्तर पनि समाजका प्रत्येक व्यक्तिको चेतनास्तरको समष्टिगत योगको औसत हो । समाजले जे चाहन्छ, राजनीतिक दलका नेताहरु आफूलाई पनि त्यतै मोड्न तयार हुन्छन् । अहिले नेपालमा सुशासनको अभाव र बढ्दो भ्रष्टाचारलाई कमजोर अर्थतन्त्रको प्रतिबिम्ब मान्न सकिन्छ । विस्तारै नेपालीहरुको कमाईलाई संगठित गरेर दीर्घकालिन आयोजनाहरुमा लगाउने नीति ल्याउने हो भने केही दशकमा हरेक नेपालीको आर्थिक उन्नती सम्भव हुन सक्छ ।

सुधार गर्नुपर्ने धेरै छन् 
हामीले पुराना नीतिनियमहरुलाई परिमार्जन गरेर अब दीर्घकालिन मान्यता सहित अघी बढ्नुको विकल्प छैन । जहाँ–जहाँ बाधाव्यवधानहरु छन्, ती बाधाहरुलाई फुकाउँदै अब हामी अघी बढ्नुछ । हाम्रो चाहना सामुहिक सङ्कल्पबाट पूरा गर्न सकिन्छ ।

राजनीतिको महत्व
मुलुकलाई निर्देशन गर्ने राजनीतिले नै हो । हाम्रो समृद्धि सपना साकार बनाउन राजनीतिको अत्यन्तै महत्वपूर्ण भूमिका रहन्छ । मुलुकको स्थिति माथि उठ्दा समग्र क्षेत्रलाई लाभ हुन्छ ।

सम्भावनायुक्त मुलुक
नेपाल अत्यन्तै सम्भावनायुक्त मुलुक हो । यहाँ पर्यटन, जलविद्युत, कृषि, खनिज पदार्थ लगायतको राम्रो सम्भावना छ । नेपाल सानो भएपनि यहाँका जनताहरु नीतिविधिलाई राम्रोसँग पालना गर्न तयार छन् । सभ्य, शिक्षित र सुसंस्कृत छन् । हामीले सही दिशा पाउन सकेको खण्डमा अत्यन्तै छोटो अवधिमा नेपाललाई ठूलो परिवर्तन गर्न सक्छौं । अब हामीले ढिलाई गर्नुहुँदैन । अहिले नेपालमा युवा जनशक्ति ठूलो मात्रामा छ । तत्काल काम गर्न अघी बढ्ने हो भने हाम्रो उत्पादकत्व निकै वृद्धि गर्न सकिन्छ । आगामी १५ बर्षमा अहिलेका युवाहरु वृद्ध अवस्थामा प्रवेश गर्नेछन्, त्यसपछि हाम्रो आर्थिक भार निकै बढेर जाने स्थिति सृजना हुन सक्छ ।

राजनीतिक स्थायित्व नै मुख्य समस्या
हामीले वि.सं २००७ देखि अहिले सम्म आइपुग्दा राजनीतिक रुपमा थुप्रै प्रणालीहरु परिवर्तन गर्यौं । यति छोटो अवधिमा हाम्र्रो वरपरका अन्य कुनै देशमा पनि यति धेरै परिवर्तन भएका छैनन् । परिवर्तनसँगै नयाँ पद्धतिलाई जुन रुपमा संस्थागत गर्नुपथ्र्यो, त्यस पक्षमा भने हामी चुकेका छौं ।

साझा प्रतिबद्धता सहित दिगो रणनीति बनाऔं
नेपाली युवाहरु अध्ययन, सोच र ज्ञानको हिसाबले कुनै पनि अर्थमा कमजोर छैन । तैपनि नेपाल समृद्धिको दिशामा अघी बढाउन नसक्नुमा एक दुईओटा मात्र नभएर थुप्रै पक्षहरु जिम्मेवार छन् । आत्मनिर्भर अर्थतन्त्र निर्माणको लागि ठूलो जनसङ्ख्या समेटिने उद्योग व्यवसाय स्थापना गर्ने तर्फ पनि हामी केन्द्रित हुनुपर्ने जरुरी छ । नेपालले पूर्वाधार तथा विकास निर्माण लगायत केही क्षेत्रहरुलाई सम्बोधन हुनेगरी सबै राजनीतिक दलहरु एउटै विचार लिएर आगामी २० बर्ष वा ३० बर्षमा मुलुकलाई यो बिन्दुबाट त्यो बिन्दुमा पुर्याउँछौं भन्ने सामुहिक प्रतिबद्धताको खाँचो छ । आगामी २० बर्ष वा त्यो भन्दा पछि हामीसँग यति परिमाणमा रेल्वे लाइनहरु हुनेछन् । उत्तर दक्षिण जोड्ने सडकहरु यहाँ–यहाँ हुनेछन् । ठूला पार्क, सभा गृह, केवलकार, व्यावसायिक कम्प्लेक्स, औद्योगिक क्षेत्र, ठूला कृषि परियोजना, ठूलो क्षमताका तालिम केन्द्रहरु, अनुसन्धान केन्द्र लगायत यो पूर्वाधार यहाँ हुनेछन् । हाम्रो अवस्था बढेर प्रतिव्यक्ति आय यति हुने भनेर अहिले नै रणनीति बनाउन सकेको खण्डमा हामी अवश्य पनि सोचेबमोजिम अघी बढ्नेछौं ।

हामीले दिगो विकास लक्ष्यको जुन योजना बनाएका छौं । त्यस लक्ष्यलाई प्राप्ति गर्नको लागि हाम्रो बार्षिक खर्च पूर्वाधार विकास क्षेत्रमा अहिले (४ अर्ब)को भन्दा झण्डै ४ गुणा बढाउनुपर्नेछ । सरकारले सही तवरले दिशानिर्देश गर्न नसक्दा अहिलेको बजेट पनि निकै कम मात्र खर्च भएको स्थिति छ । यसलाई कसरी बढाउन सकिन्छ, सोहीबमोजिम हामीले बाटो लिनुपर्नेछ । यस बर्षलाई हेर्ने हो भने अहिले सम्म केवल ७ प्रतिशत मात्र खर्च भएको छ ।

उद्योग स्थापना गर्दा दीर्घकालिन नीति लिनुपर्छ
शुरुमा सामान्यतयाः खालि ठाउँमा नै उद्योग बस्ने गर्छ । काठमाडौं उपत्यकामा पनि विगतमा खालि ठाउँमा नै उद्योगहरु बसेका हुन् । अहिले जनसङ्ख्या बढेर साथै बसाईं सरेर आउँदा कतिपय उद्योग विस्थापित हुनुपर्ने स्थिति सृजना भएको छ । अहिले इट्टा भट्टा उपत्यकामा नयाँ स्थापना गर्न रोक लगाइएको छ । भएका उद्योग पनि विस्थापनको चर्चा हुने गरेको छ । उद्योग स्थापना पश्चात् ट्रेडिङ जसरी उद्योगलाई सार्न सकिँदैन । यसैकारण राज्यले उद्योग स्थापना सम्बन्धमा दीर्घकालिन नीति लिनुपर्छ ।

राज्य पक्षले पनि बुझ्नुपर्छ कि उद्योग स्थापनाबाट व्यापार जसरी तत्काल लाभ लिन सकिँदैन । ८–१० बर्षमा मात्र उद्योगबाट लाभ लिन सकिन्छ । यसका धेरै फाइदा छन् । रोजगारी सृजना एवं आयात प्रतिष्थापनको दिगो विकास नै उद्योगका मुख्य फाइदा हुन् । यसो हुँदाहुँदै पनि नेपालमा राज्यको कर नीति, राजनीतिक अस्थिरता एवं उच्च लागतको कारण नेपालमा उद्योग स्थापना गर्न व्यवसायी तत्काल तयार हुने स्थिति देखिँदैन । उद्योग सञ्चालन गर्दा जग्गा भाडामा लिनुपर्ने हुन्छ । जग्गा व्यक्तिबाट लिने सम्बन्धमा पनि हदबन्दी लगायतका समस्याहरु छन् । यसलाई अहिले सम्म समाधान गर्न सकिएको छैन । बैंकबाट कर्जा लिने सम्बन्धमा पनि थुपै्र समस्याहरु छन् । नेपाली बैंकिङ क्षेत्रले बिना धितो कर्जा प्रवाह गर्ने स्थिति अहिले सम्म बन्न सकेको छैन । यी विविध समस्याहरु बीच हामीेले दिगो समृद्धिको लागि उद्योग स्थापना तर्फ ध्यान केन्द्रित गर्नुको विकल्प छैन । यसको लागि नीतिनिर्माता र राजनीतिक दलले विशेष सहजीकरण गर्नुपर्छ ।

वैदेशिक रोजगारी दिगो हुँदैन
देशका युवाहरुलाई बाहिर पठाएर हामीले दीर्घकालिन राम्रो लाभ लिन सक्दैनौं । विभिन्न देशले विभिन्न प्रयोजनको लागि नेपाल लगायत देशबाट जनशक्ति भित्र्याएका छन् । ती कार्यक्रमहरु निश्चित समयमा सम्पन्न भएपश्चात् नेपाली युवाहरु नेपालमा नै फर्कनुपर्ने हुन्छ । साथै यो पनि बुझ्नुपर्छ कि कुनै पनि देश युवालाई विदेश पठाएर समृद्ध भएको छैन । युवालाई स्वदेशमा नै काममा लगाएर यहाँ उत्पादित वस्तु विदेश निर्यात गर्यौं भने हामी समृद्ध बन्न सक्छौं ।

खानी उद्योगलाई प्राथमिकता दिउँ
विगत ५ बर्ष पहिले सम्म नेपाली कंक्रिटको लागत र जापान, कोरिया, इण्डोनेसिया, मलेसिया लगायतका कंक्रिटको लागत एकै किसिमको थियो । नेपालमा ढुङ्गा, माटो, बालुवा, गिट्टी लगायत सबै हामीसँग नै उपलब्ध छ । यसलाई हाम्रो पूर्वाधार निर्माणमा प्रयोग गरेर सामान्य प्रशोधन सहित बाह्य बजारमा बिक्री गर्ने नीति लियौं भने हामीले राम्रो लाभ लिन सक्नेथियौं । यद्यपि हाम्रो लागत उच्च रहेको कारण त्यस तर्फ अघी बढ्न सकेका छैनौं । राज्यको उचित नीतिगत व्यवस्था हुन सकेको खण्डमा यस क्षेत्रबाट निकै राम्रो लाभ हासिल गर्न सकिन्छ ।

अन्त्यमा
अब हामी उत्पादनमुखी अर्थतन्त्र तर्फ केन्द्रित हुनुछ । नेपालका विगतका कतिपय बाधक बनेका नीतिनियमहरुमा हामीले परिमार्जन ल्याउनुपर्नेछ । पूर्वाधारमा लगानी बढाई खर्च गर्न सक्ने क्षमता बढाउनुछ । यसको लागि विभिन्न परियोजना निर्माणको अवधारणा सहित दीर्घकालिन गुरुयोजना बनाउनु जरुरी छ । सबै पक्षबाट उपयुक्त परियोजना निर्माण गर्यौं भने मात्र हामीले दीर्घकालिन लाभ लिन सक्छौं ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij