
`सिन्धुपाल्चोक जिल्लाको ग्रामीण भू–भागमा मध्यम वर्गीय परिवारमा जन्मिएका व्यक्ति हुन् विकास लामा । विद्यालय तहको अन्तिम परिक्षा (एसएलसी) वि.सं २०३३ मा पोखराबाट पूरा गरेका लामा उच्च शिक्षाको लागि पिएन क्याम्पसमा भर्ना भए । त्यहाँ पढ्दा अखिल (पाँचौ)बाट उनले राजनीतिक यात्रा शुरु गरे । पछि आफ्नो राजनीतिक धार परिवर्तन गरेर उनी नेपाली काङ्ग्रेसमा संलग्न हुनपुगे । आफ्नो गाउँमा नजिक विद्यालय नभएकोले अध्ययन गर्नको लागि नै दैनिक ५ घण्टा खर्चिनुपर्ने स्थिति अनुभव गरेका लामाले आफ्नो अध्ययन र अनुभव बढ्दै जाँदा आफ्नो जन्मभूमि र ग्रामीण क्षेत्रको आर्थिक स्थिति कसरी मजबुत बनाउन सकिन्छ भन्नेमा पनि निकै गम्भीर बन्दै गए । अहिले लामाले आफ्नो जिल्लाको लागि मात्र नभई सिङ्गो मुलुकलाई कसरी समृद्ध बनाउन सकिन्छ भन्ने सम्बन्धमा विभिन्न योजनाहरु तयार पारेका छन् ।
पोखराबाट नेपाली काङ्ग्रेसमा विभिन्न भूमिका हुँदै अघि बढिरहेकै समयमा उनी वि.सं २०३७ मा काठमाडौं प्रवेश गरे । त्यसपछि उनी एलएलएम तहको अध्ययनको लागि पुने विश्वविद्यालय भर्ना भए । वि.सं २०४२ मा नेपालमा आन्दोलन शुरु भएको कारण उनले एलएलएम तहको अध्ययन पूरा गर्न भने सकेनन् । तैपनि उनी आफ्नो व्यक्तित्वमा स्वअध्ययन, तालिम गोष्ठी र नेतृत्वदायी क्षमता मार्फत निरन्तर निखार गर्दै लगे । त्यसबेला देखि शुरु भएको लामाको राजनीतिक अहिले सम्म निरन्तर अघि बढिरहेको छ ।
नेविसंघका विभिन्न भूमिका (महासमिति सदस्य, क्षेत्रीय सभापति, जिल्ला सचिव हुँदै) तेह्रौं अधिवेसनबाट सिन्धुपाल्चोक जिल्ला सभापति बन्न उनी सफल भए । सामाजिक गतिविधिहरुमा पनि लामाले निकै महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
लामाको व्यावसायिक संलग्नता
विकास लामा व्यावसायिक रुपमा लामा विभिन्न जलविद्युत आयोजनाहरुमा संलग्न रहँदै आएका छन् । उनी नेशनल हाइड्रोपावर लिमिटेडका प्रवद्र्धक हुन् । आफू उक्त आयोजनाको सञ्चालक रहेको समयमा लामाले रुग्ण अवस्थामा पुगेको उक्त आयोजनालाई पुनः सञ्चालनमा ल्याई कम्पनीलाई नाफामा जाने स्थिति सृजना गर्नमा महत्वपूर्ण योगदान पुर्याएका छन् ।
महाधिवेसनले विशेष जोड दिनुपर्ने विषयः
महाधिवेसनले सक्षम नेतृत्व चयन गर्नुपर्नेमा जोड दिँदै लामा भन्छन्, ‘अहिले सम्म नेपाली काङ्ग्रेसलाई अघिल्लो पुस्ताका व्यक्तिहरुले नेतृत्व गर्दै आएको बुढो पार्टीको रुपमा अन्य दलका व्यक्तिहरुले संज्ञा दिँदै आएका छन् । यसो हुनुमा पाटीभित्र पुरानै तरिकाको कार्यव्यवहार कायम रहनु नै मुख्य कुरा हो । नेपाली काङ्ग्रेसमा सबै उमेर काटिसकेका अयोग्य बुढाहरु मात्र संलग्न छैनन् । क्षमतावान् नयाँ विश्व परिस्थितिलाई बुझेका र नवविकसित प्रविधिलाई अबलम्बन गर्न सक्ने क्षमतावान् व्यक्तिहरु पनि पाटीमा छन् । यद्यपि अहिले सम्म पनि नयाँ पुस्ताका क्षमतावान् व्यक्तिहरुलाई पार्टीले जिम्मेवारी दिन सकेको छैन । जुन दुखद छ ।’
ठूलो सङ्ख्यामा युवाहरुलाई समेट्दै नेपाली काङ्ग्रेस
यसपटकको महाधिवेसनले करिब ६० प्रतिशत युवाहरुलाई नेतृत्वमा समेट्दैछ । अघिल्लो नेतृत्वमा २० प्रतिशत युवाहरुले पनि पाटीमा उपयुक्त जिम्मेवारी पाउन सकेका थिएनन् । अब बन्ने नेपाली काङ्ग्रेसको संरचनाले नेपाली काङ्ग्रेसलाई साँच्ची नयाँ शक्तिको रुपमा स्थापित गर्नेमा आशावादी हुन सकिन्छ । यो आफैंमा राम्रो शुरुवात हो । यद्यपि अब यत्तिले मात्रै पुग्दैन । यस चौधौं महाधिवेसनमा नेपाली काङ्ग्रेस खास एजेण्डा सहित अघी बढ्नुपर्ने आवश्यकता छ । अहिले नेपालमा शैक्षिक बेरोजगारी बढ्दै गएको छ । यसलाई न्यूनीकरण गर्दै नेपाललाई कसरी आर्थिक रुपमा सफल बनाउने भन्ने सम्बन्धमा पनि विशेष वहस सहित आगामी नेतृत्वले काम गर्नुपर्ने आवश्यकता रहेको काङ्ग्रेस नेता विकास लामाको धारणा छ ।
लामा प्रत्येक व्यक्तिले आफूमा भएको सीप बमोजिमका उद्यमशिल गतिविधिहरु सञ्चालन गरी साना तथा मझौला क्षमताका उद्योगहरु सञ्चालन गर्नुपर्नेमा समेत विशेष जोड दिन्छन् । नेपालको लागि राम्रो सम्भावना भएको अर्को क्षेत्र खानी भएको र यसको उत्खननको लागि राज्यले उचित नीति लिनुपर्ने उनको धारणा छ । यद्यपि यसको परिमाण कति छ भन्ने सम्बन्धमा अहिले सम्म कुनै अध्ययन भएको छैन । खानी विभागले कुनै व्यक्तिलाई लाइसेन्स दिने क्रममा आफ्नोे अनुकुलता हुने गरी निश्चित सर्तमा इजाजत दिने प्रचलन रहनुले खानीबाट हामीले राम्रो लाभ लिन नसकेको लामाको तर्क छ । नेपालमा साधारण देखिने गिट्टी, बालुवा, ढुङ्गा लगायतको उत्खनन् गर्नमा हामीले ध्यान नदिई विदेशी राष्ट्रहरुसँग हात फैलाइरहँदा नेपालका गिट्टी बालुवाहरु माथि विदेशी कम्पनीहरु भने निकै आँखा गाडेको लामाको तर्क छ । यसैकारण अब साँच्चै उद्यमशिल दिशामा अघी बढ्नुपर्ने उनको धारणा छ । यसको लागि अब हामी स्पष्ट खाका सहित अघी बढ्नुपर्ने कुरामा लामा जोड दिन्छन् ।
लामाको दृष्टिकोणमा यसरी हुन सक्छ ग्रामीण विकास
ग्रामीण साना किसानको अवस्था माथि उठाउने हो भने समुदायस्तरका व्यक्तिहरु मिलेर कम्तीमा १ मेगावाटकै भएपनि आयोजना निर्माण गनुेपर्नेमा लामाको जोड छ । जसबाट उक्त समुदायले बर्षेनी नियमित रुपमा राम्रो लाभ लिन सकिन्छ । १ मेगावाट आयोजनाको लागि बढीमा १ बर्ष लाग्न सक्छ । यसको लागि करिब १५ करोड रकम आवश्यकता पर्छ । यस्ता कार्यक्रमहरु सञ्चालनबाट स्थानीयहरुको अवस्था माथि उठाउन ठूलो सहयोग पुग्ने स्थिति सृजना हुन सक्छ ।
मुलुकको विकासमा निरन्तर चासो राख्दै आएका विकास लामा आसन्न नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा उपमहामन्त्री पदको लागि उम्मेदवारी दिन लागेका छन् । नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक जिल्ला सभापति समेत रहेका लामा नेपालको बढ्दो बेरोजगारी एवं व्यापार घाटाबाट चिन्तित छन् । रोजगारीको लागि नेपालीहरु विदेशिनुपर्ने स्थिति सृजना हुनुमा मुलुकको भावी खाका कोर्न सक्ने दूरदर्शी नेताहरुको खाँचो हुनु र कुनै पनि पाटीले क्षमतावान् व्यक्तिहरुलाई स्थान दिने परिस्थिति सृजना हुन नसक्नु रहेको बताउँछन् ।
वैदेशिक रोजगारीमा जाने युवाहरुले विदेशमा रहँदा आर्जन गरेको अधिकांश रकम सुखभोग र विलाशिताका वस्तुमा खर्च भएको र यसबाट उत्पादनमूलक क्रियाकलापहरु सञ्चालनको लागि पुँजी निर्माण गर्न नसकिने उनको धारणा छ ।
कुनै देशको विकासको लागि राज्य पक्ष दृढता सहित अघी बढ्नुपर्नेमा उनी जोड दिन्छन् । राज्यले चाहने हो भने नेपालीहरुले कमाएको रकमलाई नै नियमित रुपमा निश्चित रकम संकलन गर्ने संयन्त्र विकास गरेर ठूलो परिमाणमा राष्ट्रिय पुँजी संकलन गर्न सकिने उनको धारणा छ ।
अहिले नेपाल सरकारले जलविद्युत आयोजना निर्माणका क्रममा उचित अध्ययन नै नगरी लाइसेन्स वितरण गर्नुले अझ बढी क्षमताका आयोजनाहरू निर्माण गर्न सकिने भएपनि राज्यको त्यसतर्फ ध्यान नजाँदा धेरै आयोजनाहरूले खोला ओगटेर बस्ने कार्य मात्रै हुँदै आएको समेत उनी बताउँछन् ।
यसपटकको महाधिवेसनमा आफू प्रति ठूलो परिमाणमा नयाँ पुस्ताका अधिकांश महाधिवेशन प्रतिनिधिहरू सकारात्मक रहेकोले आफ्नो विजय सम्भावना उच्च रहेको समेत उनी बताउँछन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij