
काठमाडौं । कोरोना भाइरसका कारण बन्द भएका उद्योग व्यवसायहरु मध्ये ८७ प्रतिशत उद्योग व्यवसाय पूर्ण रुपमा सञ्चालनमा आएको अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार पुनरावृत्ति सर्वेक्षणले २०७७ असारको सर्वेक्षणको तुलनामा उद्योग-व्यवसायको सञ्चालन स्थिति तथा उत्पादन र व्यावसायिक कारोबारमा सुधार आएको देखाएको हो ।
यस सर्वेक्षणले ८७.२ प्रतिशत उद्योग-व्यवसाय पूर्ण रुपमा सञ्चालनमा आएको देखाएको छ । कोभिडपूर्वको तुलनामा २०७७ असारमा २८.८ प्रतिशत मात्र रहेको उत्पादन/कारोबार स्थिति यो सर्वेक्षण सम्पन्न हुँदा ७४.७ प्रतिशत पुगेको छ भने रोजगारीको अवस्थामा समेत सुधार आई ७७.५ प्रतिशत बाट ९७.२ प्रतिशत पुगेको राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले बताएका छन् ।
राष्ट्र बैंकले २०७७ असारमा सम्पन्न गरेको सर्वेक्षणले बन्दाबन्दी अवधिमा सर्वेक्षणमा सहभागी ४ प्रतिशत उद्योग-व्यवसाय पूर्ण रुपमा सञ्चालनमा रहेको, ३५ प्रतिशत उद्योग-व्यवसाय आंशिक रुपमा सञ्चालनमा रहेको र ६१ प्रतिशत उद्योग-व्यवसायहरु पूर्णरुपमा बन्द रहेको देखाएको थियो ।
सो सर्वेक्षणले कोभिड महामारी २०७६ फागुनको तुलनामा २०७७ असारमा उद्योग-व्यवसायले औसतमा करिब २९ प्रतिशत मात्र उत्पादन/कारोबार गरेको, ७७.५ प्रतिशत मात्र रोजगारी प्रदान गरेको र ६३.४ प्रतिशत मात्र तलब-ज्यालामा खर्च गरेको देखाएको थियो ।
राष्ट्र बैंकले २०७७ मंसिरमा सम्पन्न गरेको पहिलो पुनरावृत्ति सर्वेक्षणले ५४ प्रतिशत उद्योग-व्यवसाय पूर्ण रुपमा सञ्चालनमा रहेको, ३७ प्रतिशत उद्योग-व्यवसाय आंशिक रुपमा सञ्चालनमा रहेकोर ९ प्रतिशत उद्योग-व्यवसायहरु पूर्णरुपमा बन्द रहेको देखाएको थियो ।
सो सर्वेक्षणले २०७६ फागुनको तुलनामा २०७७ मंसिरमा उद्योग-व्यवसायले औसतमा ५०.५ प्रतिशत उत्पादन/कारोबार गरेको, ८७.५ प्रतिशत रोजगारी प्रदान गरेको र ७०.४ प्रतिशत मात्र तलब-ज्यालामा खर्च गरेको देखाएको थियो ।
त्यसैगरी, राष्ट्र बैंकले २०७८ बैशाखमा सम्पन्न गरेको दोस्रो पुनरावृत्ति सर्वेक्षणले ८१.२ प्रतिशत उद्योग-व्यवसाय पूर्ण रुपमा सञ्चालनमा रहेको, १४.६ प्रतिशत उद्योग-व्यवसाय आंशिक रुपमा सञ्चालनमा रहेको र ४.२ प्रतिशत उद्योग-व्यवसायहरु पूर्णरुपमा बन्द रहेको देखाएको थियो ।
सो सर्वेक्षणले २०७६ फागुनको तुलनामा २०७८ बैशाखमा उद्योग-व्यवसायले औसतमा ६१.४ प्रतिशत उत्पादन/कारोबार गरेको, ९३.८ प्रतिशत रोजगारी प्रदान गरेको र ८८.५ प्रतिशत मात्र तलब-ज्यालामा खर्च गरेको देखाएको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij