
नेपाल एक विकासोन्मुख देशको रुपमा लामो समय देखि रहँदै आएको छ । यहाँको विकास अवस्था तुलनात्मक रुपमा अझै पनि माथि उठ्न सकेको छैन । यद्यपि प्राकृतिक स्रोतसाधनको उपलब्धताले भने नेपालको अवस्था कमजोर छैन । यद्यपि हाम्रा विकासे क्रियाकलापहरु भने दिगो विकास योजना बमोजिम अघी बढ्न सकेका छैनन् ।
विश्वमा सम्पन्न अवस्थामा पुगिसकेका देशहरु र हाम्रो अवस्था केही दशक पहिले सम्ममा ठूलो अन्तर थिएन । अहिले भने हाम्रो नेपाल र हाम्रा छिमेकी मुलुकहरु भारत र चीन बीचको विकास अवस्थामा निकै व्यापक भिन्नता आइसकेको छ ।
विकसित देशहरुले आफ्नो देशमा स्रोतसाधन उपलब्ध नभएपनि बाह्य देशहरुबाट आफ्नो लागि आवश्यक पर्ने सबै किसिमका स्रोतसाधनहरु जुटाएर आफ्नो अवस्थालाई माथि उठाएका छन् । हामीले भने हाम्रो देशमा उपलब्ध स्र्रोतसाधनको उच्चतम प्रयोगलाई कहिल्यै पनि जोड दिन सकेनौं ।
कुनै पनि देशले विकासको गति समाउनको लागि अल्पकालिन र दीर्घकालिन योजना सहित दिगो विकास महत्वका कार्यक्रमहरु अघी बढाउनु जरुरी रहन्छ । आफूसँग के–कस्ता स्रोतसाधन उपलब्ध छन् ? हामीले न्यून लागतमा उच्च प्रतिफल लिन सकिने क्षेत्रहरु कुन–कुन हुन् ? त्यसको लागि हामी कसरी अघी बढ्नुपर्छ ? हाम्रो स्रोतसाधनको परिचालन नीति के हुने ? युवा नीति के हुने ? वैदेशिक नीति के हुने ? उद्योग नीति के हुने ? ग्रामीण विकासको लागि कस्ता कार्यक्रम अवलम्बन गर्ने ? अल्पकालिन लाभको लागि कस्ता क्षेत्रहरुमा काम गर्ने ? दीर्घकालिन महत्वका कामहरु के–के हुन सक्छन् ? मुलुकमा सुशासनको अवस्था कस्तो छ ? अर्थतन्त्रलाई खुल्लामुखी बनाउने कि बन्दमुखी ? दीर्घकालिन महत्वका उद्योगलाई बढी प्राथमिकता दिने कि अल्पकालिन व्यापारलाई ? विश्वस्तरीय कम्पनी र बाह्य लगानी सम्बन्धी कस्तो नीति तय गर्ने ? लगायतका कुराहरुमा स्पष्ट हुन सकेको खण्डमा हामीले सोही बमोजिम विकास अवस्थालाई छोटो समयमा नै माथि उठाउन सक्छौं ।
कुनै पनि देशको विकास कुनै योजना वा विचार र सिद्धान्त बिना भएको छैन । एउटा देशले अबलम्बन गरेको विकास मोडललाई अनुशरण गर्दैमा त्यसले हाम्रो अवस्था पनि तीव्र वृद्धि हुन्छ भन्न सकिँदैन । यद्यपि अहिलेको समय सूचना प्रविधिको समय समेत भएकोले विश्वभर के–कस्ता विकास मोडलहरु विकास भएका छन् ? र ती मोडलहरु हाम्रो लागि कत्तिको उपयुक्त हुन सक्लान् ? भन्ने सम्बन्धमा भने विचार गरेर लागु गर्न सकिन्छ । कुनै मोडल हुवहु हाम्रो लागि उपयुक्त हुने नदेखिएमा त्यसलाई परिमार्जन सहित लागु गर्न पनि सकिन्छ । सबैभन्दा महत्वपूर्ण कुरा भनेको मुलुकको विकासको निम्ति सदैव चिन्तनशिल रहने राजनीतिक दलहरुमा नै यस किसिमको सोच आउनु जरुरी छ ।
आफ्नो देशको समृद्ध बिना हामीले दीर्घकालिन राम्रो लाभ लिन सक्दैनौं भन्ने कुरालाई ध्यानमा राख्दै यसको लागि हामीसँग उपलब्ध स्रोतसाधनहरु के–के हुन् ? ती स्रोतसाधनको पहिचान गरेर हाम्रो अवस्थामा उल्लेख्य सुधार ल्याउनको लागि विशेष पहल गर्नु जरुरी छ । यसो हुन सकेको खण्डमा हामीले हाम्रो अवस्थामा सुधार ल्याउन सक्छौं ।
अहिले सम्म हामीले हाम्रो अर्थतन्त्रलाई दिगो बनाउन सकेका छैनौं । हाम्रो निर्यातको तुलनामा आयात बढी छ । व्यापार घाटा बढ्दो छ । रेमिट्यान्सबाट प्राप्त रकमबाट हाम्रो अर्थतन्त्र धानिएको छ । प्रतिव्यक्ति आय अत्यन्तै न्यून छ । आर्थिक वृद्धिदर पनि अत्यन्तै न्यून छ । यद्यपि मुद्रास्फिती दर भने उच्च छ । हामीले बाह्य मुलुकमा निर्यात गर्ने सामानहरु अत्यन्तै न्यून छन् । साथै त्यसरी बाह्य बजारमा निर्यात गर्ने सामानहरुको लागि आवश्यक पर्ने कच्चा पदार्थ समेत बाह्य मुलुकबाट नै नेपालमा भित्रिने गरेका छन् । यसले हाम्रो अवस्था माथि जान नसकेको सङ्केत गर्छ ।
जसरी विश्वका विकसित मुलुकहरुले क्षमतावान् जनशक्ति भित्र्याएर आफूसँग सम्भव हुने वस्तु तथा सेवा उपलब्ध गराएर आफ्नो अवस्थामा सुधार ल्याएका छन् । त्यसरी नै नेपालमा पनि हाम्रा युवाहरुलाई स्वदेशमा नै आफ्नो क्षमता बमोजिमको काममा लाग्न प्रोत्साहित गर्नु जरुरी छ । युवाहरुमा प्रविधिको प्रयोग विशेष प्रयोजनको लागि बढ्ने किसिमको व्यवस्था गरेर यन्त्र र उपकरणलाई समेत आत्मसात् गर्दै न्यून लगानीमा समेत सम्भव रहने उत्पादन तथा सेवामूलक उद्योग व्यवसायलाई विशेष सहयोग पुग्ने गरी काम गर्नु जरुरी छ ।
अतः मुलुकको विकासका संवाहक युवाहरु हुन् । व्यवस्थित प्रणाली, विकास कार्यमा युवा परिचालन र प्रविधिको उच्चतम प्रयोग साथै स्थानीय स्रोतसाधन तथा विश्वस्तरीय सीप र प्रविधिको प्रयोगबाट हाम्रो अवस्थामा सुधार ल्याउनको लागि हामी विशेष प्रयत्नशिल रहनु जरुरी छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij