काठमाडौं । निर्दोष मूल्याङ्कनकर्ता इन्जिनियर राजेश कुमार चौरसीयालाई नियतवश दोषी ठहर गरेर जेल हालेको आरोपमा मूल्याङ्कनकर्ता इन्जिनियरहरु सामुहिक रुपमा कुमारी बैंकको विरोधमा उत्रिएका छन् ।
नेपाल भ्यालुयर्स एसोसिएसनको अग्रसरतामा आइतबार कुमारी बैंकको केन्द्रीय कार्यालयमा भएको विरोधसभामा मूल्याङ्कनकर्ताहरुले एकतर्फी सम्झौता खारेज गर्नुपर्ने, समान सम्झौता कायम गर्नुपर्ने, अनधिकृत रुपमा ईन्जिनियरलाई कालोसूचीमा राख्ने कार्य बन्द गर्नुपर्ने, कुमारी बैंक माथि आवश्यक छानबिन गर्नुपर्ने लगायतका प्लेकार्डहरु सहित नारा लगाएका थिए । काम गर्नेलाई जेल र बदमासी गर्नेलाई इज्जतको संस्कार विकास हुनुले समाज सही ट्रयाकमा अघी बढ्न नसक्नेमा मूल्याङ्कनकर्ताहरुले चिन्ता समेत व्यक्त गरेका छन् ।
आइतबारको कार्यक्रम अन्तरगत मूल्याङ्कनकर्ता ईन्जिनियरहरुको व्यापक सहभागिता विरोधस्वरुप धर्ना र्याली प्रदर्शन गरेका छन् । धर्ना र विरोधसभामा सहभागिहरुले मूलतः निर्दोष ईन्जिनियर राजेस कुमार चौरासियालाई निःसर्त रिहाई गर्नुपर्ने साथै स्पष्ट मूल्याङ्कन मापदण्ड तथा निर्देशिका जारी गर्नुपर्ने कुरामा विशेष जोड दिएका छन् ।
धर्नामा उपस्थित एकजना मूल्याङ्कर्ताले सीमित दायित्व निर्वाह गर्ने निर्दोष ईन्जिनियरलाई गलत मनसायले जेल हालेर कानुनी राज्य र विधिको शासनको धज्जी उडाइएको बताए ।
मूल्याङ्कन कार्यमा संलग्न व्यक्तिहरूको व्यापक उपस्थितिमा विरोध कार्यक्रमको पहिलो चरण अन्तरगत उक्त विरोध सभा आयोजना गरिएको हो । आयोजक संस्था नेपाल भ्यालुयर्स एसोसिएसनले क्रमिक रुपमा विरोधका अन्य कार्यक्रमहरु समेत सार्वजनिक गरेको छ ।
धर्ना र विरोध र्याली पश्चात् कोणसभामा परिणत भएको आइतबारको विरोधसभालाई एसोसिएसनका अध्यक्ष ई. ऋषि कोइराला र वरिष्ठ उपाध्यक्ष ई. लक्ष्मण सेढाईंले सम्बोधन गरेका थिए ।
सभालाई सम्बोधन गर्दै अध्यक्ष कोइरालाले मूल्याङ्कनकर्ताले निश्चित शुल्क लिएर आवश्यक परामर्श उपलब्ध गराउने भएकोले आफूहरुले असीमित (सम्पूर्ण दायित्व) वहन गर्न नसक्ने बताए । उनले यदि सम्पूर्ण दायित्व मूल्याङ्कनकर्ता आफैंले निर्वाह गर्नुपर्नेभए बैंक तथा विमा कम्पनीको आवश्यकता किन रहन्छ भन्ने प्रश्न समेत गरे ।
यसैैगरी वरिष्ठ उपाध्यक्ष लक्ष्मण सेढाईंले राज्यको उचित नीतिको अभावमा बौद्धिक वर्ग यसरी सडकमा विरोधमा उत्रिनुपर्ने बाध्यात्मक स्थिति सृजना भएको बताए । साथै उनले आफूहरुको विरोध कार्यक्रम निर्णायक मोडमा नपुगी नरोकिने कुरा समेत स्पष्ट पारे ।
स्मरण रहोस्, भ्यालुएर्स एसोसिएसनमा आवद्ध वीरगञ्ज च्याप्टरका सदस्य तथा डाइनामिक कन्सल्टेन्सी एण्ड कन्स्ट्रक्सन सर्भिसेज (इन्जिनियर राजेश कुमार चौरसीया)ले कुमारी बैंकले उपलब्ध गराएका कागजातको आधारमा वाराको कलैया उपमहानगरपालिकाको कित्ता नं १०६९ को जग्गाको धितो मूल्याङ्कन गरी कुमारी बैंकलाई रिपोर्ट प्रदान गरेको थियो ।
अहिले बैंकबाट उपलब्ध गराइएका उक्त कागजातहरु नै किर्ते रहेको खुलासा हुन आएको छ । त्यस बापत एकतर्फी रुपमा मूल्याङ्कनकर्ता इन्जिनियर राजेश कुमार चौरसीयालाई दोषी ठहर गरी केन्द्रीय अनुसन्धान ब्युरोले जेल हालेको विषयलाई लिएर कात्तिक २४ देखि देशभरका मूल्याङकनकर्ताहरुले मूल्याङ्कन कार्य बन्द गरी विरोधमा उत्रिएका छन् ।



© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij