
ई. ऋषि कोइराला लामो समय देखि नेपालमा इन्जिनियरिङ क्षेत्र अन्तरगत रही काम गर्दै आउनुभएका व्यक्ति हुनुहुन्छ । इन्जिनियरिङ मूल्याङ्कनकर्ताको रुपमा काम गर्दै आउनुभएका उहाँ विपि स्टडी युथ सर्कलका अध्यक्ष समेत हुनुहुन्छ । वैचारिक रुपमा नेपाली काङ्ग्रेस निकट मानिने कोइराला नेपाल इन्जिनियर्स एसोसिएसनको आसन्न ३३ औं अधिवेशनमा उहाँले लोकतान्त्रिक इन्जिनियर्स समूहबाट उपाध्यक्ष पदको लागि उम्मेदवारी दिनुभएको छ ।
ई. दिलीप कुमार झाले नेतृत्व गरेको लोकतान्त्रिक इन्जिनियर्स समूहमा ई. कृष्णसिंह बस्नेत, ई. सुधिर गुरागाईं, आ. रमिता श्रेष्ठ, ई. सञ्जय महतो लगायतका दिग्गज व्यक्तिहरुको संलग्नता रहेको छ । साथै सबैजसो विधागत प्रतिनिधित्व हुनेगरी व्यावसायिक प्यानलको रुपमा अघी सारिएको छ ।
आफूहरुको उद्देश्य नेपाल इन्जिनियर्स एसोसिएसनलाई राजनीतिक सङ्गठनको रुपमा नभई व्यावसायिक संस्थाको रुपमा अघी बढाउने रहेको र सोहीबमोजिम प्यानल गठन गरेर चुनावमा होमिन लागेको समेत कोइरालाले बताउनुभयो ।
लामो समय देखि नेपालमा धितो मूल्याङ्कन क्षेत्रमा रही काम गर्दै आउनुभएका कोइरालालाई हामीले नेपाल भ्यालुयर्स एसोसिएसनको नेतृत्व गर्दै आउनुभएका तपाईं नेपाल इन्जिनियर्स एसोसिएसनको चुनावमा उपाध्यक्ष पदमा भिड्नुपर्ने जरुरी किन रह्यो ? भनेर प्रश्न गरेका थियौं । जवाफमा कोइराला भन्नुहुन्छ,
‘नेपाल भ्यालुयर्स एसोसिएसन मूल्याङ्कन क्षेत्रमा समस्यामा रहँदै आएका इन्जिनियरहरुको व्यावसायिक सुरक्षाको पृष्ठभूमिबाट स्थापना भएको संस्था हो । स्थापनाकालमा यस संस्थाका दायित्व र उद्देश्यहरु न्यून रहेपनि क्रमिक रुपमा आफ्ना गतिविधिहरु बढाउँदै अहिले आफ्नो दायरा निकै नै बिस्तार गर्न यो संस्था सफल भएको छ । सबैलाई जानकारी नै छ, विगत केही बर्ष पहिले सम्म नेपालमा अव्यवस्थित रुपमा सञ्चालनमा रहँदै आएको धितो मूल्याङ्कन क्षेत्रलाई व्यवस्थित बनाउनमा नेपाल भ्यालुयर्स एसोसिएसनको नेतृत्वमा रहेका व्यक्तिहरुको अत्यन्तै महत्वपूर्ण योगदान छ । यस संस्थामा महासचिव र अध्यक्ष जस्ता महत्वपूर्ण एवं जिम्मेवार भूमिका निर्वाह गर्दै अहिले सम्म आइपुग्दा मैले सँगालेका महत्वपूर्ण अनुभवहरु अब सम्पूर्ण नेपाली इन्जिनियरहरुको लागि योगदान गर्नुपर्ने बेला भइसकेको छ ।
नेपाल इन्जिनियर्स एसोसिएसन आफैंमा ठूलो प्लेटफर्म हो । जहाँबाट गरिने हरेक निर्णयले सम्पूर्ण इन्जिनियरिङ क्षेत्रलाई कुन दिशा तर्फ डोहो¥याउने भन्ने निर्धारण गर्छन् । अब नेपाल इन्जिनियर्स एसोसिएसन जस्तो गरिमामय संस्थामा नयाँ सोच र दिगो योजना सहित सबै पक्षलाई राम्रोसँग व्यवस्थापन गर्न सक्ने व्यक्ति निर्वाचित हुनुपर्ने आवश्यकता रहेको मैले महसुस गरेको छु । साथै त्यस किसिमका योग्यता सहित आवश्यक कार्यभार पूरा गर्न म आफू सक्षम रहेको हुनाले मैले उपाध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ ।
नेपाल इन्जिनियर्स एसोसिएसनले नेपालमा सञ्चालनमा रहँदै आएका आर्किटेक्चर, भ्यालुएसन, सिभिल, आइटि, भूगर्भ लगायत सबै किसिमका व्यावसायिक एवं विधागत प्रतिनिधित्व गर्ने संस्था एवं व्यक्तिहरुलाई समेट्न सक्नुपर्छ । यद्यपि विगत देखि वर्तमान सम्म पनि एसोसिएसनले यस गहन दायित्वलाई आत्मसात् गर्न सकेको छैन । अहिले यसरी स–साना विधागत संस्थाहरु स्थापना हुनुमा इन्जिनियर्स एसोसिएसनले सबै क्षेत्रका इन्जिनियरहरुको भावना समेटिने गरी काम गर्न नसक्नु पनि मुख्य जिम्मेवार कारणको रुपमा रहँदै आएको छ ।
नेपाल इन्जिनियर्स एसोसिएसन राजनीतिक नभई व्यावसायिक संस्था भएको हुनाले संस्थाको जिम्मेवारीमा रहने व्यक्तिले सबैको साझा प्रतिनिधिको रुपमा कसैलाई अप्ठ्यारो नपर्ने गरी काम गर्नुपर्ने जरुरी समेत रहन्छ । अन्य सरोकारवाला निकायहरुसँग राम्रो सम्बन्ध स्थापित गर्न सक्ने, सबैतिर राम्रो पहुँच भएको, दीर्घकालिन सोच र दृढसङ्कल्प सहितको नेतृत्व अबको इन्जिनियर्स एसोसिएसनको आवश्यकता बनेको छ । सोहीकारण म लगायत व्यावसायिक क्षेत्रमा राम्रो दखल भएका र सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी हामीले लोकतान्त्रिक इन्जिनियर्स समूह निर्माण गरी निर्वाचनमा होमिन लागेका हौं ।’
आफू नेपाल भ्यालुयर्स एसोसिएसनको नेतृत्वमा रहँदा संस्था मार्फत निर्वाह गरेका भूमिका एवं उपलब्धिहरुलाई कोइराला यसरी स्मरण गर्नुहुन्छ ।
–अहिले मैले नेतृत्व गर्दै आएको नेपाल भ्यालुयर्स एसोसिएसनले संस्थामा आवद्ध सदस्यहरुको हकहित, व्यावसायिक एकता, सुदृढीकरण, इन्जिनियरहरुको क्षमता विकास र नीतिगत सहजीकरणको लागि निर्वाह गरेको भूमिकाकै कारण अहिले उक्त समस्या समाधान भई मूल्याङ्कनकर्ताहरुको विशिष्ट पहिचान स्थापना हुन सकेको छ ।
– विगतमा बिना गल्ती मूल्याङ्कनकर्ता इन्जिनियर जेल जानुपर्ने स्थिति रहँदै आएकोमा अहिले यस्तो समस्या धेरै हद सम्म निराकरण भइसकेको छ ।
– भ्यालुएसन क्षेत्रमा काम गर्न चाहने नवप्रवेशी व्यक्ति अनिवार्य रुपमा भ्यालुयर्स एसोसिएसनमा आवद्ध भएर मात्रै बैंक तथा वित्तीय संस्थाहरुको मूल्याङ्कन सम्बन्धी काम गर्ने स्थिति सृजना भएको छ । यसबाट मूल्याङ्कनकर्ताको व्यावसायिक सुरक्षामा पनि ठूलो सहयोग पुगेको छ ।
– विगतमा न्यून सङ्ख्यामा सदस्यहरु रहेको नेपाल भ्यालुयर्स एसोसिएसन अहिले निकै ठूलो सञ्जाल सहितको संस्थाको रुपमा स्थापना भइसकेको छ ।
– अहिले करिब साढे सात सय संस्थागत सदस्यहरु यस संस्थामा आवद्ध भइसक्नुभएको छ । साथै ती संस्थागत सदस्य (फर्म) मार्फत करिब ६ हजार व्यक्तिहरु प्रत्यक्ष रोजगारीमा हुनुहुन्छ ।
– धितो मूल्याङ्कन कार्यको लागि नेपालमा पनि अन्तर्राष्ट्रिय अभ्यास बमोजिमको मूल्याङ्कन प्रणाली भित्र्याउने सम्बन्धी प्रक्रिया अघी बढेको छ ।
– काठमाडौं लगायत विभिन्न ठाउँका घरजग्गाको मूल्य निर्धारण सम्बन्धी कामको शुरुवात कार्य भ्यालुयर्स एसोसिएसनबाट अघी बढेको छ । जसले आगामी दिनमा घरजग्गाको मूल्य निर्धारण कार्य सहज हुनुको अलावा तथा मूल्यमा एकरुपता कायम गर्न समेत ठूलो योगदान मिल्नेछ ।
इन्जिनियर्स एसोसिएसनमा उपाध्यक्षको उम्मेदवारी किन ?
–मैले लामो समय देखि इन्जिनियरिङ क्षेत्रमा रहेर आफूले सँगालेको अनुभवलाई अब नेपाल इन्जिनियर्स एसोसिएसन मार्फत एउटा क्षेत्रको लागि मात्र नभई समग्र इन्जिनियरिङ क्षेत्रको व्यवस्थापनमा योगदान गर्नुपर्ने जरुरी छ ।
– इन्जिनियर्स एसोसिएसनमा लामो अनुभव सहित उल्लेख्य योगदान दिन सक्ने युवा सोचका व्यक्तिहरुको आवश्यकता छ ।
– नेपाल इन्जिनियरिङ एसोसिएसन सम्पूर्ण नेपाली इन्जिनियरहरुको छाता संगठन हो । सबै विधागत इन्जिनियरहरु अटाउने एकमात्र छाता संगठन रहेको हुनाले यस संस्थालाई राजनीतिक स्वार्थ पूरा हुने किसिमले नभई व्यावसायिक हकहित र पेशागत मर्यादाको दायरा भित्र रहने गरी सञ्चालन गर्नुपर्ने जरुरी छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij