राजेन्द्र पराजुली, उपाध्यक्ष, जनता समाजवादी पार्टी (जसपा), गोरखा जिल्ला कार्यसमिति
कुनै पनि मुलुकको सही विकासको लागि राजनीतिको भूमिका महत्वपूर्ण रहने गर्छ । नेपालमा पनि राजनीतिले सही ट्रयाक लिन सक्ने हो भने हामीले चाहेको समृद्धि छोटो अवधिमा नै प्राप्त गर्न सकिन्छ । यसको लागि सबै क्षेत्रहरुको समानुपातिक विकास हुनुपर्छ । नेपालमा नै रोजगारी सृजना गर्ने वातावरण हुनुपर्छ । मर्यादित र स्वस्थ व्यावसायिक वातावरण निर्माण हुन सकेको खण्डमा नेपाल राम्रो सम्भावना बोकेको देश हो । हामीसँग उपलब्ध स्रोतसाधनहरुको राम्रोसँग अध्ययन र परिचालन हुन सकेको खण्डमा नेपालले विकासको गति सहजै लिन सक्छ । यसको लागि उपलब्ध स्रोतसाधन र मानव शक्तिको उचित परिचालन आवश्यक रहन्छ ।
विकासको लागि जनशक्ति
कुनै पनि देशको विकासको लागि जनशक्ति विशेष महत्वपूर्ण हुने गर्छ । यसकारण मुलुकको विकासको लागि हामीले युवा जनशक्तिको क्षमता अभिवृद्धिको लागि प्रयाप्त लगानी गर्न सक्नुपर्छ । नेपालमा भने युवा वर्गहरुलाई लक्षित गरेर आवश्यकता बमोजिम प्रयाप्त लगानी हुन सकेको छैन । जसरी उद्योग व्यवसाय सञ्चालनको लागि पुँजी व्यवस्थापनको लागि लगानी आवश्यक पर्ने गर्छ । त्यसरी उद्योग सञ्चालन गर्ने र उद्योगमा काम गर्ने जनशक्तिको ज्ञान, सीप र तालिम समेत निकै महत्वपूर्ण रहने गर्छन् । ज्ञान, सीप र तालिमले मष्तिष्कको सोच्ने क्षमता धारिलो बनाई हाम्रो चेतना विकासमा ठूलो सहयोग पुर्याउँछ । जसबाट हामीले अपेक्षित सफलता हासिल गर्न सक्छौं ।
सीप सबैको लागि अपरिहार्य रहन्छ
अहिले अधिकांश नेपालीहरुको लागि रोजगारीको भरपर्दो माध्यमको रुपमा वैदेशिक रोजगारीलाई नै अपनाउँदै आइएको छ । यसरी रोजगारीको लागि बाहिरिने अधिकांश युवाहरु शारीरिक परिश्रमको लागि खाडी मुलुकहरुमा जाने गरेका छन् । यसरी रोजगारीको लागि बाहिरिने अधिकांश युवाहरु कामको लागि विदेशिनु भन्दा पहिले सम्बन्धित कामको आधारभूत ज्ञान समेत हासिल नगरी बाहिरिने प्रचलन प्रचलन अहिले सम्म कायम रहँदै आएको छ । कुनै सीप हासिल नगरी काममा जाँदा दुर्घटना हुने सम्भावना पनि बढी रहन्छ ।
नेपालमा घट्दो श्रमशक्ति
नेपालबाट रोजगारीको लागि बाहिरिने युवाहरुको सङ्ख्या बढेको कारण नेपालमा सञ्चालित उद्योग, व्यवसाय र कृषि कार्यहरुमा जनशक्तिको अभाव सृजना हुँदै गएको छ । यसलाई व्यवस्थित गर्नको लागि नेपालमा सम्भावना रहेका क्षेत्रहरुमा काम गर्न युवा जनशक्तिलाई प्रोत्साहित गर्नुपर्ने जरुरी छ । ठूला प्रतिष्ठित उद्योग व्यवसाय र सरकारी जागिरमा मात्रै सबै व्यक्तिहरुलाई रोजगारी उपलब्ध गराउन सकिने अवस्था नरहेको अवस्थामा घरेलु तथा साना उद्योग व्यवसायलाई समेत कसरी व्यावसायिक रुपमा सञ्चालन गर्न सकिन्छ भन्ने सम्बन्धमा राज्यले स्पष्ट योजना सहित काम अघी बढाउनु जरुरी छ । यसको लागि युवाहरुमा व्यावसायिक चेतना जागरण विशेष महत्वपूर्ण रहने गर्छ ।
नयाँ सोच र योजना बमोजिम काम गर्न चाहने उद्यमशिल व्यक्तिहरुलाई बिना धितो कर्जा, सीप प्रविधि एवं राज्यको संरक्षण र सुरक्षा तथा सहुलियत प्राप्त हुन नसकेको कारण आफ्नो भूमि छोडेर युवाहरु बाहिरिन बाध्य भएका हुन् । यस्तो स्थितिलाई विचार गर्दै मुलुकको दिगो विकास रणनीति अबलम्बन गरी हरेक युवालाई आफ्नै देशमा रहेर आफ्नो क्षमता बमोजिमको काममा संलग्न हुन उत्प्रेरणा मिल्ने वातावरण सृजना गर्नु जरुरी छ । आफू संलग्न काममा गर्व गर्न सक्ने वातावरण हुने हो भने अधिकांश युवाहरु रहरले रोजगारीको लागि विदेशिँदैनन् ।
उद्यमशिलता जागरणमा राज्यको भूमिका आवश्यक
नेपाल सम्भावना नै सम्भावनाले भरिएको देश हो । उद्यमशिल सोच हुने हो भने न्यून लगानीमा पनि राम्रो लाभ हासिल गर्न सकिने थुप्रै क्षेत्रहरु नेपालमा छन् । ती क्षेत्रहरुको पहिचान गर्ने कार्यमा राज्य पक्षको सहयोग हुनुपर्ने जरुरी छ । राज्यले यस्ता कामहरुमा संलग्न हुन चाहने व्यक्तिहरुलाई लक्षित गरी तालिम, अनुदान, सहज कर्जा प्रवाह, उत्पादित वस्तुको बजारीकरण लगायतमा आवश्यक सहजीकरण गर्ने हो भने नेपालको विकासमा यसबाट ठूलो योगदान पुग्न सक्ने देखिन्छ ।
स्वदेशमै अवसर सृजना गर्ने दिगो नीति आवश्यक
नेपाल विकास सम्भावनाको हिसाबले राम्रो सम्भावनायुक्त मुलुक रहेपनि ती सम्भावनालाई ययार्थमा बदल्नको लागि क्षमतावान् जनशक्तिको भूमिका अत्यन्तै महत्वपूर्ण हुने गर्छ । प्रविधि र यन्त्र उपकरणको परिचालन गर्ने कार्यमा समेत मानवीय श्रम अपरिहार्य रहन्छ । यद्यपि पछिल्ला बर्षहरुमा नेपालबाट क्षमतावान् र राम्रो विज्ञता हासिल गरेका व्यक्तिहरुको पलायन दर बढ्दो छ । नेपालमा जन्मिएर हुर्किएर राष्ट्र प्रति ठूलो बोझ बोकाएका व्यक्तिहरु आफ्नो जीवनको उत्पादनशिल समयम निहीत लाभको उद्देश्यले आफ्नो देशलाई नै बिर्सेर अझ जन्मभूमिको नागरिकता समेत त्यागेर अर्कै देशको स्थायी बासिन्दा बन्ने जुन क्रम बढेको छ, त्यो प्रवृत्ति हाम्रो लागि अझ दुखको विषय बनेको छ । ती क्षमतावान् जनशक्तिलाई नेपालमा रोक्न नसक्नुमा राज्यको युवा नीति र उद्योग नीति पनि बाधक बनेका छन् ।
नयाँ सोच र योजना बमोजिम काम गर्न चाहने उद्यमशिल व्यक्तिहरुलाई बिना धितो कर्जा, सीप प्रविधि एवं राज्यको संरक्षण र सुरक्षा तथा सहुलियत प्राप्त हुन नसकेको कारण आफ्नो भूमि छोडेर युवाहरु बाहिरिन बाध्य भएका हुन् । यस्तो स्थितिलाई विचार गर्दै मुलुकको दिगो विकास रणनीति अबलम्बन गरी हरेक युवालाई आफ्नै देशमा रहेर आफ्नो क्षमता बमोजिमको काममा संलग्न हुन उत्प्रेरणा मिल्ने वातावरण सृजना गर्नु जरुरी छ । आफू संलग्न काममा गर्व गर्न सक्ने वातावरण हुने हो भने अधिकांश युवाहरु रहरले रोजगारीको लागि विदेशिँदैनन् । यस तथ्यलाई हृदयङ्गम गर्दै नेपालका क्षमतावान् प्राज्ञिक एवं दक्ष जनशक्तिलाई यहीँ नै रोक्न राज्यले अल्पकालिन र दीर्घकालिन योजना सहित आफ्ना क्रियाकलापहरु अघी बढाउनुपर्ने टड्कारो आवश्यकता छ ।
बढ्दो व्यापार घाटा
नेपाल आफैंमा कमजोर देश होइन । जुन कुरा विगतमा नेपालमा उत्पादन हुने वस्तुहरु बाह्य बजारमा निर्यात गरी राम्रो आर्थिक हैसियत कायम भएकोबाट प्रष्ट हुन्छ । कुनै दिन नेपालमा उत्पादन हुने धान, मकै, गहुँ, घ्यू, तेल हाम्रो आवश्यकता पूरा गरी बाहिर निर्यात हुने स्थिति थियो । अहिले भने यो स्थिति बदलिएको छ । हामी पूर्ण रुपमा आयातमा निर्भर बनिसकेका छौं । वैदेशिक रोजगारीबाट प्राप्त रकमको ठूलो हिस्सा दैनिक उपभोग्य वस्तु खरिदकै लागि पुनः बाहिरै निर्यात हुनु अहिलेको वास्तविकता बनेको छ । जसले गर्दा हाम्रो बार्षिक बजेटको नोक्सानी दर हरेक बर्ष बढ्दै गएको छ । व्यापार घाटा बढ्दो छ । यस्तो अवस्थामा सुधार ल्याउनको लागि नेपालका युवाहरुलाई जसरी हुन्छ, उत्पादनशिल क्रियाकलापमा संलग्न हुन उत्प्रेरित गर्नुको कुनै विकल्प नै छैन ।
राम्रा योजनामा राजनीतिक पूर्वाग्रह नराखौं
राज्यले स्वदेशी उद्योगको प्रवद्र्धन र उत्पादनको प्रयोगलाई प्रोत्साहन गर्ने नीति पनि नलिएको होइन । उद्यमशिल सोचका युवाहरुलाई स्वरोजगार बन्नको लागि बिना धितो ऋण प्रदान गर्ने नीति नलिएको होइन । स्वदेशी उत्पादनको बजार प्रवद्र्धनको लागि पनि केही प्रयाशहरु भएपनि अहिले सम्म हरेक विकास योजना तथा नीतिहरुमा राजनीतिक पूर्वाग्रह देखिँदै आएको छ । मुलुकको लागि हितकारी योजनाहरु जुनसुकै विचार र राजनीतिमा आवद्ध व्यक्ति भएपनि आत्मसात् गर्ने संस्कृति हामीमा विकास हुनु जरुरी छ । अहिले भने यस्ता दिगो महत्वका योजना समेत सरकार परिवर्तन हुने बित्तिकै तुहिने गरेका छन् । कि त यस्ता आयोजनाहरु राजनीतिक कार्यकर्ता भर्तीस्थल जस्ता बनेर निष्प्रभावी बनेका छन् । यद्यपि मुलुक निर्माणको लागि दूरदर्शी दृष्टिकोणका केही कार्यक्रमहरु भने विभिन्न अवरोह बीच पनि सार्थक बनेका छन् । डा. बाबुराम भट्टराईले व्यवस्थित शहरीकरण र दिगो भौतिक विकासको उद्देश्यले अघी बढाएका सडक बिस्तार योजना, युवा स्वरोजगारमूलक एवं उद्यमशिलता जागरण कार्यक्रम लगायतले युवाहरुको चेतना विस्तारमा ठूलो सहयोग पुर्याएका छन् । आगामी दिनमा पनि यस्ता दिगो महत्वका कार्यक्रमहरु तय गरी अघी बढाउने र साझा राजनीतिक कार्यक्रमको रुपमा अघी बढाउनु जरुरी रहन्छ । साथै दीर्घकालिन योजना सहित अघी बढेका रणनीतिले अल्पकालमा खासै प्रगति नदेखिएपनि लामो अन्तरालमा अवश्य पनि लाभदायक नै हुने गर्छन् ।
मुलुकको लागि हितकारी योजनाहरु जुनसुकै विचार र राजनीतिमा आवद्ध व्यक्ति भएपनि आत्मसात् गर्ने संस्कृति हामीमा विकास हुनु जरुरी छ । अहिले भने यस्ता दिगो महत्वका योजना समेत सरकार परिवर्तन हुने बित्तिकै तुहिने गरेका छन् । कि त यस्ता आयोजनाहरु राजनीतिक कार्यकर्ता भर्तीस्थल जस्ता बनेर निष्प्रभावी बनेका छन् । यद्यपि मुलुक निर्माणको लागि दूरदर्शी दृष्टिकोणका केही कार्यक्रमहरु भने विभिन्न अवरोह बीच पनि सार्थक बनेका छन् ।
अबको विकल्पः
अहिले हाम्रो उत्पादन क्षमता घटेको छ । हामी आयातमा नै हामी निर्भर बन्दै गएका छौं । जुन नयाँ परिपाटीको रुपमा विकास भइरहेको छ । ग्रामीण क्षेत्रका जग्गाहरु बाँझा बनाएर अनुत्पादक रुपमा काठमाडौं, पोखरा, बुटबल लगायतका शहरहरुमा बसोबास गर्ने प्रचलन पछिल्ला बर्षहरुमा नयाँ फेसनको रुपमा विकास भएको छ । हाम्रो खानपिनको तौरतरिका बदलिएको छ । काम गर्ने जाँगर हराउँदै गएको छ । यस्तो अवस्थाबाट बाहिर आएर वास्तविक रुपमा मुलुकलाई विकासको सही दिशामा अघी बढाउनको लागि हाम्रो चेतनास्तरलाई माथि उठाउन र बौद्धिक विकासमा केन्द्रित हुनुको कुनै विकल्प छैन । जब हामीले हाम्रो बदलिँदै गरेको व्यवहारलाई परिवर्तन ल्याई अल्छी मानसिकताबाट माथि उठेर पूर्ण क्षमतामा काम गर्ने तर्फ केन्द्रित हुन्छौं, तब मात्र हामीले चाहेको विकास सम्भव हुनेछ ।
कोरोना सङ्कट पछिको अर्थतन्त्र
पछिल्ला बर्षहरुमा विश्वभरको अर्थतन्त्र कोरोना संक्रमणको कारण लथालिङ्ग भएको छ । यसको असर उद्योग व्यवसायहरुमा पनि परेको छ । सबैजसो औद्योगिक वा व्यावसायिक क्षेत्रहरु कोरोनाको कारण नोक्सानको अवस्थामा भएपनि नेपालमा बैंक तथा वित्तीय क्षेत्रहरुले भने यही अवस्थामा राम्रो प्रगति गर्न सफल भएका छन् । सम्पूर्ण जनता लाभान्वित नभई केही क्षेत्र वा वर्ग मात्र लाभान्वित हुने गरी भएको वृद्धिले हाम्रो समग्र अवस्था माथि उठ्न सक्दैन । सबैको यसबाट कल्याण हुन सक्दैन भन्ने कुरालाई विचार गर्दैैै सबै समेटिने गरी विकास गतिविधिहरु अघी बढाउनु जरुरी छ ।
अन्त्यमा
राज्यले अहिले आफ्नो चासो समग्र विकासमा केन्द्रित गर्न सकेको छैन । नेपालमा स्थिरता कायम हुने योजना सहित नयाँ संविधान जारी गरिएको र नेकपा नेतृत्वमा २ तिहाई जनमत सहितको दल निर्वाचित हुनुले नयाँ आशाको सञ्चार गराएको भएपनि त्यस बमोजिम अहिले अवस्था कायम रहन सकेन । अहिले नेपालमा पुनः मुलुक अस्थिरताको दलदलमा फसेको छ । यो स्थिति केही राजनीतिक दलहरुको आफ्नो निहीत स्वार्थको कारण सृजना भएको हो ।

सबैभन्दा महत्वपूर्ण कुरा भनेको अहिलेको अवस्थामा नेपाली जनताहरुको लागि जल्दोबल्दो आवश्यकताहरु के–के हुन् भन्ने सम्बन्धमा हाम्रा राजनीतिक दलहरु केन्द्रित हुन सकेको अवस्था छैन । राजनीतिक दलहरु व्यक्तिगत स्वार्थमा रुमल्लिइरहेको अवस्था छ । यसले गर्दा हाम्रो मुलुकको आर्थिक अवस्थामा अझै सुधार हुन सक्ने अवस्था देखिएको छैन ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij