काठमाडाैं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौँकाे दाेस्राे बार्षिक साधारणसभा आज संस्थाका अध्यक्ष दिनेश श्रेष्ठको सभापतित्व तथा माननीय अर्थमन्त्री जनार्दन शर्माको प्रमुख अतिथ्यतामा जुम प्लाटफर्म मार्फत सम्पन्न भएकाे छ ।
कार्यक्रममा विशिष्ट अतिथिकाे रुपमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष अन्जन श्रेष्ठ तथा मानार्थ सदस्य एवं निवर्तमान उपाध्यक्ष किशोर कुमार प्रधानको उपस्थिति रहेकाे थियो।
संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष समेत रहनुभएका दिनेश श्रेष्ठले कार्यक्रममा बाेल्दै २ वर्ष देखि कोरोना महामारीका कारण थालिएका लघु घरेलु तथा साना उद्योगी व्यवसायीहरु धेरै नै विस्थापित भैसकेको र विस्थापित हुने क्रम जारी रहेको बताउनुभयाे । साथै उहाँले नवगठित सरकारले जारी गर्न लागेको परिमार्जित बजेटले थलिएको उद्योग व्यवसायलाई विशेष ध्यानमा राखी उचित राहतका प्याकेज ल्याउनुपर्ने र कर, राजस्व तथा मूल्य अभिवृद्धि करको दरलाई कम गर्नुपर्नेमा समेत विशेष ध्यानाकर्षण गराउनुभएकाे छ ।
स्थानीय निकायहरुले मनपरी दर्ता शुल्क तथा अन्य कर राजस्वहरु जसरी भएपनि व्यवसायीहरुबाट असुल उपर गर्नुपर्छ भन्ने मनसाय राख्नु व्यवसायीमैत्री व्यवहार नरहेको समेत अध्यक्ष श्रेष्ठले मञ्तव्यकाे क्रममा उल्लेख गर्नुभयो। स्थानीय स्तरमा उठ्ने कर राजस्व वैज्ञानिक हुनुपर्ने र उठेको करको केहि प्रतिशत उद्योगी व्यवसायीहरुको क्षमता वृद्धि गर्न छुट्याउनुपर्ने माग समेत उहाँले राख्नुभयो।
कार्यक्रमका प्रमूख अतिथि माननीय अर्थमन्त्रि जनार्दन शर्माले कोरोना महामारीका कारण समग्र उद्योग व्यवसायमा परेको असर बारे सरकार गम्भीर रहेको र थालिएको अर्थतन्त्रलाई उकास्न विशेष पहल गर्ने प्रतिवद्धता जनाउनुभयो। राज्यले बनाउने नीति ऐन कानुनहरु अब उप्रान्त निजी क्षेत्रसँग छलफल गरी संयुक्त पहलमा बनाउने र परिमार्जन गर्ने कुरा समेत उहाँले राख्नु भयो। उद्योगी व्यवसायीको लागि सहज रुपमा कॊरोना खोपको व्यवस्था गर्ने प्रतिवद्धता समेत जनाउनुभएकाे छ ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले डबल डीजिट अर्थतन्त्रको परिकल्पना लाई यथार्थमा परिणत गर्ने लक्ष्य राखी महासंघले “ VISION 2020 रणनीतिक अवाधराणा ” तर्जुमा गरेर सरकारलाई उपलब्ध गराईसकेको स्मरण गराउँदै नवगठित सरकारसंग यो विषयमा छलफल र त्यसमा रहेको रणनीति बारे सहकार्य गर्न माननीय अर्थमन्त्री जनार्दन शर्मा लाई नेपाल उद्योग वाणिज्य महासंघमा आमन्त्रण गर्नुभयो। 
महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठले नेपाल उद्योग वाणिज्य संघ काठमाडौँलाई नेपाल उद्योग वाणिज्य महासंघकै तदारुकतामा र विशेष परिस्थितिमा गठन गरेको स्मरण गराउँदै संघलाई अझ क्रियाशिल बनाएर लानुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश महासंघका अध्यक्षहरु, नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्यहरु , जिल्ला नगर संघ तथा विभिन्न वस्तुगत संघका अध्यक्षहरु तथा पदाधिकारीहरु तथा काठमाडौँ जिल्लाका उद्योगी व्यवसायीहरुको बाक्लो सहभागिता रहेको थियो।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij