२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

अहमता, इर्ष्या र बदला भाव त्यागौं, जनता र राष्ट्र हितमा अग्रसर बनौं

अहमता, इर्ष्या र बदला भाव त्यागौं, जनता र राष्ट्र हितमा अग्रसर बनौं

-महेश्वर बनेपाली

अहिले नेकपा (एमाले) भित्र चलिरहेको आन्तरिक कलहले यतिबेला नेपालको राजनीतिक क्षेत्र तरङ्गित भइरहेको छ । जसको पीडा भोग्न उक्त पार्टीमा संलग्न कार्यकर्ता मात्र नभई समस्त देशबासी जनताहरु बाध्य छन् । अहिले विकराल बन्दै गएको र भयावह अवस्था सृजना गरेको कोरोना कहरलाई समेत प्रवाह नगरी आपसी राजनैतिक झै–झगडा गर्नु कत्तिको शोभनीय हुन सक्छ भन्ने कुरा ती झगडालुहरुले मनन गर्नुपर्ने आवश्यकता छ ।
यस्तो बेलामा नेतृत्व वर्गले सही दिशा लिन नसक्दा आज देशका ठूला दलको रुपमा रहेको नेकपा (एमाले) आन्तरिक जीवनमा सङ्कटको भूमरी मडारिइरहेको छ । एकले अर्कोलाई दोष थुपार्दै जाने हो झन भविष्यमा तिनीहरुको विश्वास कसले गर्लान् र ? गर्न लायक नै हुँदैनन् ।
अहिले एउटै आमाले जन्माएका र हुर्काएका एमालेका सन्तानहरु बीचमा नै मेलमिलाप छैन । एकले अर्कोलाई सिध्याउने छलछाम भइरहेको छ । मौका परे चौका हान्ने काम दुवै पक्षबाट भएको हो । त्यस माथि पराई घरको अर्कै बुबाको सन्तानसँग मिलेर के नै प्राप्त सक्लान् र असन्तुष्ट पक्षले ? जबकि आफू शक्तिशाली बन्नको लागि ती दुवै सौतेनी दाजुभाइलाई झगडामा संलग्न गराएर आफ्नो दुनो सोझ्याउने प्रपञ्च मात्र थियो असन्तुष्ट पक्षलाई साथ दिने दलको ।
सायद दुई तिहाई बहुमत सहित सरकारको नेतृत्व गरिरहेको नेकपा प्रति निकै ठूलो आशा र भरोसा नेपाली जनताहरुले गरेका थिए । अब त देशमा नेकपाबाट मानव स्वरुपमा ब्रह्मा, बिष्णु र महेश्वरकै न्याय र कल्याण जनताहरुले पाउने भए भनेर जनताहरुले सोचिरहेका थिए । तर कथित रहेछ भगवानको अवतारमा शक्तिशाली भई सिंहदरबारमा राज गर्न पसेका शक्ति केन्द्रको आकाङ्क्षा । लोभी, पापी, भ्रष्टाचारी, इष्र्यालु सोचहरुले जुराएको संयोग । आखिर दीर्घकालिन रुपमा एक भई रहेर जनताको पक्षमा काम गर्न यिनीहरुले कसरी सक्थे र ?

देशको यस्तो कोरोना भाइरसको भयावह स्थितिमा पनि जनताहरु प्रति सेवा, सुविधा प्रदान गर्न सद्भाव दर्शाउन साथै दायित्व बोध गर्न त कता हो कता, सान्त्वनापूर्ण शब्दहरु उच्चारण समेत गर्न नसक्ने राजनेताले जनताको हकहितमा कसरी काम गर्न सक्लान् भन्ने प्रश्न यतिबेला सबैतिर उठ्न थालेको छ । मुलुकमा सङ्कट पर्दा जनताको जनजीवनसँग कुनै सरोकार नराखी सिङ्गो राज्यशक्ति आफ्नो पद बचाउने उद्देश्यले स्वार्थको राजनीतिमा केन्द्रित भइरहँदा पनि केही व्यक्ति एवं संघसंस्थाहरु भने मानवीय भावले विभिन्न सहयोगात्मक कार्यहरुमा स्वतःस्फूर्त रुपमा सक्रिय रहँदै आएका छन् । जुन क्रियाकलापहरु विभिन्न सञ्चार माध्यम एवं सामाजिक सञ्जालहरुबाट जानकारी पाउन सकिन्छ । यस्ता सामाजिक सहयोगात्मक गतिविधिहरु समेटेर २०७८ बैशाख २६ गते आइतबार प्रकाशित राष्ट्रिय दैनिक अन्नपूर्ण पोष्टले पनि यस्ता क्रियाकलापहरुमा आफ्नो जोखिमको प्रवाह नगरी स्वतःस्फूर्त रुपमा नागरिकहरु कसरी जागृत भएका छन् भन्ने कुरा प्रष्ट पार्छ ।

हाल देशमा गम्भीर र भयावह अवस्थामा रहेको कोरोना कहरमा देशका सम्पूर्ण राजनीतिक दलहरु र ती दलका नेताहरु एकजुट भई वर्तमान अवस्थामा चलिरहेको भयावहको स्थितिलाई नियन्त्रण गरी अवस्थालाई सहज बनाउँदै लैजानुपर्नेमा त्यसो नगरी पदको खिचातानी र लोलुपतामा केन्द्रित हुने निर्लज्ज स्वभावका नेताहरुको कारण सर्वसाधारण नेपालीहरुलाई समेत लज्जित बनाएको छ ।

साथै राजनीतिक दलहरुका व्यवहारको कारण त्यसको मार नेपाली जनताहरुले भोग्नुपर्ने अवस्था समेत छ । यस्तो अवस्थामा अबका दिनमा राजनीतिक दलहरुसँग कुनै ठूलो अपेक्षा नराखी जनता आफैं स्वाबलम्बी र सचेत बन्नुपर्ने जरुरी छ । मुलुक सामान्य अवस्थामा रहँदा राजनीतिमा जे–जस्तो उतारचढाव आएपनि त्यसले सर्वसाधारण जनताहरुलाई खासै महत्व राख्दैन । तर अहिले नेपाल मात्र नभई सिङ्गो विश्व नै कोरोना भाइरसबाट आक्रान्त भइरहेको अवस्थामा हामीले हाम्रो सम्पूर्ण ध्यान, शक्ति र स्रोत कोरोना भाइरस विरुद्ध केन्द्रित गर्नुपर्ने हो । कोरोना विरुद्धको लडाईंलाई पहिलो प्राथमिकतामा राखेर हाम्रा गतिविधिहरु अघी बढाउन सकेको खण्डमा मात्र यस सङ्कटको घडीमा हाम्रो लागि ठूलो ठूलो उपलब्धि हुन सक्नेछ ।

यतिबेला हामी सबैले वैचारिक भिन्नता, संस्थागत भिन्नता वा कुनै प्रकारका यस्ता भिन्नताहरुलाई थाती राखेर यस रोग विरुद्ध लड्न सक्यौं भने अहिलेको लागि यस भन्दा ठूलो उपलब्धि हाम्रो लागि अर्को हुनेछैन । सम्पूर्ण जनताहरुको हित हुनेगरी काम नगरेर आफ्नो पक्षका सीमित व्यक्तिहरुलाई मात्र लाभ हुने गरी काम गर्ने सोच अहिले केही राजनेताहरुमा रहेको प्रष्टै हुन्छ, यसले समग्र राष्ट्रको हित हुन सक्दैन । सरकारले सबैको लागि न्याय हुने गरी अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ । साथै सामुहिक हित हुने काममा सरकारलाई अन्य दलहरु, सामाजिक तथा व्यावसायिक संस्थाहरु एवं जनताहरुले समेत साथ दिनु जरुरी छ । हालका प्रधानमन्त्री केपी शर्मा ओली ज्यूले पनि यस्तै सोच सहित सबैसँग आफ्नो पक्षमा सहयोगको लागि आग्रह गर्नुभएको छ । जुन असाध्यै सराहनीय हो । त्यस्तै सुनसरी क्षेत्र नं १ का सांसद जयकुमार राई ज्यूको भनाई पनि पार्टी विभाजन हुनेभए आफूले राजिनामा दिने र अहिलेको जटिल महामारीमा सबै एकजुट भएर उचित समाधान दिनुपर्ने कुरा बताउनुभएको छ । यसरी नै सबैले सोच्ने र पदको लागि आपसमा झगडा नगरी वार्ता र सहमतिको माध्यमबाट आपसी सहकार्यमा अघी बढेर मुलुक र देशबासीलाई आर्थिक, भौतिक एवं मानवीय नोक्सानीबाट जोगाउन सकेमात्र नेताहरुले जनताबाट विश्वास प्राप्त गर्न सक्नेछन् । अहिलेको जस्तो भयावह कोरोना सङ्कट सृजना हुनुमा राज्य पक्षको मात्र दोष देख्नु हाम्रो लागि ठूलो भूल हुन सक्छ । जसलाई सम्हाल्न सबै पक्षको सहयोग आवश्यक छ ।

नेपालमा कोरोनाको कारणले ज्यान गुमाउने पहिलो नरैनापुरका थिए । पूर्वाधारको चरम अभाव रहेकोले मानवीय क्षति हुन पुगेको भन्दै आलोचना भएपछि सरकारले नरैनापुरमा आवश्यक पूर्वाधार निर्माण कार्य छिटो सम्पन्न गर्न निर्देशन दिएको थियो । फलस्वरुप कोभिड–१९ कालमै नरैनापुरले सडक, बत्ति एवं चिकित्सक सहितका प्राथमिक स्वास्थ्य केन्द्र पाएको छ । जहाँ महामारीको शुरुवाती दिनमा धेरै संक्रमित थिए । तैपनि सरकारले चाँडै उहाँहरुको समस्या पहिचान गरी तदरुकताका साथ समाधान गरेको छ । यसलाई नरैनापुरका बासिन्दाहरुले ठूलो उपलब्धिको रुपमा लिएका छन् ।

त्यस्तै कोभिड–१९ विरुद्धको खोप भारतपछि पहिलो पटक नेपालमा नै ल्याइएको थियो । साथमा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि बढाउन र नेपालीको इज्जत बढाउन सरकारले गरेको मेहनत र शान्तिपूर्ण मूलधारमा ल्याएको जस्तो ऐतिहासिक उपलब्धि कम र मेलम्चीको पानी काठमाडौं ल्याउने, धरहराको निर्माण तथा रानीपोखरीका साथ अस्पतालहरुको निर्माण, दैनिक ६ किलोमिटर सडक निर्माण लगायतका विकास एवं पूर्वाधार निर्माण मार्फत मुलुकको दिगो समृद्धिको लागि थुप्रै कामहरु अघी बढाएको छ । यसर्थ राम्रो कामलाई राम्रो नै मानेर थप प्रोत्साहन गर्नुपर्ने र काम राम्रोसँग हुन नसकेको अवस्थामा आवश्यकता र औचित्यताको आधारमा विरोध र सचेतनामूलक गतिविधि सञ्चालन गर्नुपर्ने भएपनि हाम्रो विडम्बना भनेको सदवहार विरोध मात्रै प्रदर्शन गर्ने गलत परिपाटी छ हाम्रा राजनीतिक दलहरुमा । हामी निरीह जनताहरु राजनीतिक दलहरुको परिपाटी देखेर दुख मनाउ गर्नुको अलावा अन्य केही गर्न नसक्ने अवस्थामा छौं ।

खासमा राजनीति भनेको देश र जनताको सेवा गर्ने उचित माध्यम बन्नुपर्ने हो । तर यहाँ राम्रो गरेपनि जस नपाइने नराम्रो गरेपनि कारवाही नहुने किसिमको अवस्था छ । यसले हाम्रोमा विधिको शासन कमजोर भएको प्रष्ट पार्छ । यसो हुनुमा जसरी पनि राजनीतिक अस्थिरता ल्याउन पल्केका नेता गणहरु नै जिम्मेवार छन् । आफ्नै दलका प्रधानमन्त्री भएपनि पूर्ण अवधिभर राज्यसत्ताको नेतृत्व गर्न नदिने चलनलाई सम्झिँदा मलाई एउटा गीतको याद आउँछ, ‘यस्तै रहेछ यहाँको चलन…..’

निष्कर्षः
अतः सरकार ढाल्ने, व्यक्ति व्यक्तिलाई सिध्याउने नाममा व्यवस्थालाई नै सङ्कटमा पार्ने कार्यमा कोही सक्रिय नहोऔं । सबै मिलौं । हाल महामारीको रुपमा तीव्र रुपमा विस्तार भइरहेको कोरोनाको विरुद्धमा लडौं । शक्तिमा भएका मानिसको सेवा ग¥यो भने त्यो चाकरी हुन्छ । जबकि दुखी, गरीब र असहायको सेवा ग¥यौं भने त्यो पवित्र मानवीय सेवा हुने गर्छ । सच्चा र असल सम्बन्ध न त किन्न सकिन्छ न त उधारो नै लिन सकिन्छ । यसकारण चुनौतीसँग नडराऔं । किनकि जुन तारा पनि अँध्यारोमा नै चम्किने हो । जीवनमा बदलाको भावलाई प्रश्रय नदिऔं, माया र प्रेमको भावलाई अङ्गिकार गर्दै अगाडि बढाऔं । यसमा नै सबैको कल्याण हुन सक्छ ।

दत्तात्रय, भक्तपुर

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij