फुर लाक्पा शेर्पानेपालमा लामो समय देखि निर्माण क्षेत्रमा संलग्न रही कार्य गर्दै आएका व्यक्ति हुन् फुर लाक्पा शेर्पा । काठमाडौंको जोरपाटीबाट च्छोरोल्पा कन्स्ट्रक्सन नामक निर्माण कम्पनी सञ्चालन गर्दै आएका उनी मूलतः अण्डरग्राउण्ड कन्स्ट्रक्सन सम्बन्धी काममा राम्रो अनुभव समेटेका व्यक्ति हुन् । मूलतः उनी विभिन्न जलविद्युत आयोजनाहरुमा केन्द्रित रहेर काम गर्दै आएका छन् । शेर्पाले विभिन्न प्रोजेक्टहरुमा गरी आफूमातहत करिब डेढ सय व्यक्तिहरुलाई रोजगारी दिएका छन् । जस मध्ये प्राविधिक, ड्राइभर एवं कर्मचारीहरु गरी करिब ४० जना छन् । हाल काठमाडौंको माकलबारीमा बालुवा डिपो सम्बन्धी पनि शेर्पाले काम गर्दै आएका छन् । विगत करिब २ बर्ष पहिले देखि उक्त डिपो शेर्पाले सञ्चालनमा ल्याएका हुन् ।
दोलखाको गौरीसङ्कर स्थायी घर भएका फुरलाक्पा आफ्नो क्षेत्रको विकासको लागि सदैव चासो र चिन्ता लिने व्यक्ति हुन् । दोलखा राम्रो सम्भावनायुक्त जिल्ला भएको र त्यहाँ सबै किसिमका प्राकृतिक स्रोतसाधनहरु उपलब्ध रहेपनि अहिले सम्म स्थानीयहरूको जनजीवन भने तुलनात्मक रुपमा माथि उठ्न नसक्नुमा उनी चिन्तित छन् । उपलब्ध स्रोतसाधनहरुको सही परिचालन हुन सकेको खण्डमा सबैको अवस्था सुधार हुनेमा उनी विश्वस्त छन् ।
स्थानीय विकास कार्यलाई प्रभावकारी बनाउनको लागि स्थानीय विकास कार्यका अग्रणी व्यक्तिहरु नै बढी जागरुक बन्नुपर्नेमा उनी जोड दिन्छन् । आफ्नो क्षेत्रको विकासलाई विशेष प्राथमिकता र चासो सहित अघी बढाउन सकेको खण्डमा विकास दिगो र बढी प्रभावकारी हुन सक्ने उनको धारणा छ ।

विकास कार्यमा सकारात्मक सोच आवश्यक रहन्छ
सकारात्मक सोच सहित विकास गतिविधिहरू अघी बढाउन सकेको खण्डमा आफूले चाहेबमोजिमको उपलब्धि हासिल गर्न सकिन्छ भन्ने मान्यता राख्छन् शेर्पा । यद्यपि मुलुकको अस्थिर राजनीतिक अवस्थाको कारण यसको असर नेपालका सबै व्यवसायहरुमा देखिएको छ । रोजगारीमूलक काम पनि राजनीतिबाट प्रभावित हुने गरेका छन् । यसले हाम्रो विकास कार्यलाई सही दिशा निर्देश गर्न नसक्ने कुरालाई लक्षित गरी व्यक्ति र पहुँचको आधारमा नभई आवश्यकता र औचित्यताको आधारमा मात्र विकास योजना अघी बढाउनुपर्नेमा शेर्पा जोड दिन्छन् ।
नेपालमा गणतन्त्र स्थापना र संघीयता प्राप्ति पछिका बर्षहरुमा निर्माण क्षेत्रको गुणस्तरीयता खस्कँदै गएको छ । यसो हुनुमा आफ्नो क्षेत्रको विकासमा संलग्न रहने व्यक्तिहरु नै सामुहिक लाभमा नभई व्यक्तिगत स्वार्थ भावबाट बढी प्रेरित हुनु मुख्य कारण भएको शेर्पाको ठम्याई छ । यस्तो अवस्थामा सुधार गर्नको लागि व्यक्तिको मानसिकता नै सबैभन्दा बढी जिम्मेवार बन्ने समेत शेर्पाको धारणा छ ।
निर्माण व्यवसायका मुख्य चुनौती
निर्माण व्यवसायमा विभिन्न किसिमका चुनौतीहरु कायम रहँदै आएका छन् । खासगरी शुरुमा इन्जिनियरबाट गरिएको अनुमान भन्दा ३०-३५ प्रतिशत न्यून दरमा कामको जिम्मेवारी लिने प्रचलन निर्माण व्यवसायमा रहँदै आएको छ । यसको अलाव अन्य थुप्रै समस्याहरु निर्माण क्षेत्रमा कायम रहँदै आएका छन् । ती समस्याहरु सृजना हुनुमा व्यवसायीहरुको समेत कमजोरी रहेकोले त्यस्ता कमजोरीहरु सुधार्नको लागि व्यवसायीहरु पनि जिम्मेवार रहने भन्दै आफूहरु संलग्न निर्माण क्षेत्रको अवस्था सुधारको लागि विभिन्न समस्याहरु रहेकोले ती समस्या र विसङ्गतिहरुलाई सुधार्दै जानुपर्नेमा उनी जोड दिन्छन् । सरकारलाई ठूलो राजस्व सङ्कलन र व्यापक रोजगारी सृजनाको क्षेत्र बनेको निर्माण क्षेत्रमा संलग्न व्यक्तिहरुको लागि सुरक्षाको ग्यारेन्टी समेत नहुनु दुखद रहेको शेर्पाको धारणा छ ।
प्राविधिक शिक्षालय स्थापनाको योजनामा शेर्पा
पछिल्लो समय शेर्पा नेपालमा प्राविधिक शिक्षालय सञ्चालन गर्ने योजनामा समेत छन् । विभिन्न सीपमूलक तालिमहरु प्रदान गर्ने योजना बमोजिम उनले उक्त कार्य अघी बढाएका छन् । कोही व्यक्ति वेरोजगार भएको अवस्थामा आफूहरुले सञ्चालन गरेको प्राविधिक शिक्षालय मार्फत आफ्नो चाहना बमोजिमको कुनै तालिम निःशुल्क हासिल गरेर सुनिश्चित भविष्य निर्माण गर्न नेपाली युवाहरुलाई शेर्पा आह्वान गर्छन् ।
संघीयता पछिको स्थानीय विकास
नेपालमा गणतन्त्र स्थापना र संघीयता प्राप्ति पछिका बर्षहरुमा निर्माण क्षेत्रको गुणस्तरीयता खस्कँदै गएको छ । यसो हुनुमा आफ्नो क्षेत्रको विकासमा संलग्न रहने व्यक्तिहरु नै सामुहिक लाभमा नभई व्यक्तिगत स्वार्थ भावबाट बढी प्रेरित हुनु मुख्य कारण भएको शेर्पाको ठम्याई छ । यस्तो अवस्थामा सुधार गर्नको लागि व्यक्तिको मानसिकता नै सबैभन्दा बढी जिम्मेवार बन्ने समेत शेर्पाको धारणा छ । आफ्नो मातृभूमिको माया हुने हो भने आफ्नो क्षेत्रमा हुने विकास कार्यमा कसैले पनि सम्झौता नगर्ने उनको बुझाई छ ।
सफलताको लागि कर्मचारी तथा सेवाग्राहीसँग सुसम्बन्ध
फुर लाक्पा शेर्पा पछिल्लो समय नेपालमा आधुनिक तवरले नयाँ विकास योजना सहित कसरी नेपालमा रोजगारी सृजना र उद्यमशिलता जागरणमा संलग्न गराउन सकिन्छ भन्नेमा विशेष जोड दिँदै आएका छन् । आफ्नो व्यवसायमा संलग्न रहने सबै सदस्यहरूलाई पारिवारिक सदस्यको रूपमा उनले व्यवहार गर्दै आएका छन् । आफ्ना सेवाग्राहीलाई पनि यस्तै व्यवहार प्रदर्शन गर्छन् । आफ्नो व्यवहारले पनि व्यवसायलाई माथि उठाउनमा आफूलाई सहयोग पुगेको हो जस्तो आफूलाई अनुभव हुने शेर्पा बताउँछन् । उनी भन्छन्, आफूले अन्य व्यक्तिप्रति जस्तो व्यवहार प्रदर्शन गरिन्छ, आफूलाई पनि त्यस्तै प्रतिक्रिया प्राप्त हुँदो रहेछ ।
आफूलाई ठीक लागेको कामबाट पछि नहटौं
आफ्नो सफलताको रहस्य बारे बताउँदै शेर्पा आफ्नो अन्तस्करणले सही ठहर्याएको काममा अन्य व्यक्ति वा समुदायको जति नै विरोध वा प्रतिक्रिया आएपनि त्यसलाई छोड्न नहुने कुरामा उनी जोड दिन्छन् । कुनै नयाँ योजना कुनै एक व्यक्तिले प्रस्तुत गर्दा त्यस योजना प्रति शुरूमा अन्य व्यक्तिको विश्वास हुँदैन । यद्यपि आफू संलग्न रहेको काममा निरन्तर रूपमा अघी बढ्ने हो भने त्यसले ढिलोछिटो सफलतामा पुर्याउँछ ।
कुनै निश्चित योजना र उद्देश्य सहित अघी बढ्ने क्रममा विभिन्न किसिमका आरोहअवरोहहरू आउनु अस्वभाविक हुँदैन । यद्यपि जसरी पनि आफूले अघी बढाएको कामलाई निश्चित गञ्तव्यमा पुर्याएर मात्र विश्राम लिने धैर्यता, आँट र संयमता हुने व्यक्ति नै अन्ततः सफलताको शिखरमा पुग्न सक्छ ।
युवाहरूलाई सन्देश
नेपाली युवाहरू क्षमतामा कमी छैनन् । यद्यपि कतिपय युवाहरूले सही गञ्तव्य पहिचान गर्न नसकेका हुन सक्छन् । सही गञ्तव्य पहिचान गरेर आफूमा कुनै सीप वा ज्ञान हासिल गरी कार्यक्षेत्रमा खटिएको खण्डमा कोही पनि निराश हुनुपर्दैन । आफ्नो चाहना र बजार मागलाई सम्बोधन गर्ने सीप हासिल गर्ने हो भने कोही पनि वेरोजगार बस्नुपर्दैन । अहिले नेपाली युवाहरू कोही सीपमूलक तालिम लिएर कुनै विशेष काममा लाग्न चाहेको खण्डमा यस्तो तालिम विभिन्न संस्था मार्फत निःशुल्क समेत प्राप्त गर्न सकिन्छ । यद्यपि सीप हासिल गर्दैमा एकैपटकमा अवस्था धेरै माथि उठ्ने हुँदैन । आफ्नो कार्यदक्षता अभिवृद्धिको लागि आफ्नो अनुभव पनि विशेष महत्वपूर्ण हुने गर्छ ।
जीवनको सबैभन्दा दुखद घटना
आफ्नो निर्माण कम्पनी मार्फत काम भइरहेको अवस्थामा शिवश्री हाइड्रोपावर निर्माण कार्य अन्तिम चरणमा पुगेको अवस्थामा आफ्नो भाई सहितका ४ जना व्यक्तिहरूको दुखद निधन भएको क्षण आफ्नो जीवनको लागि सबैभन्दा अविस्मरणीय घटना बनेर जिन्दगीभर रहिरहने शेर्पा बताउँछन् । उक्त घटनाले आफूलाई अविश्रान्त रूपमा काममा खटिइरहन र आफ्नो कामको गुणस्तरीयतामा विशेष संयमित हुन विशेष प्रोत्साहित गर्ने उनको धारणा छ ।
उक्त घटनाले दिलाएकाे सन्देश
शेर्पा भन्छन्, मेरो लागि भाईले पुर्याएको योगदानको सम्झनाले पनि मलाई अझ धेरै कामहरू गर्नको लागि निरन्तर प्रेरित गरिरहन्छ । कहिलेकाहीँ अल्छि लागेपनि तत्कालै कार्यक्षेत्रमा जुट्न भित्रैदेखि ऊर्जा प्राप्त हुन्छ । त्यही ऊर्जाले मलाई मेरो निर्माण क्षेत्रमा एक प्रतिष्ठित कम्पनी स्थापना गर्न उत्साहित गराइरहेको छ । अहिले मैले मेरो व्यवसायलाई विविधिकरण गर्दै लैजानमा त्यो दुखान्त घटना पनि ठू्लो कारक तत्वको रूपमा रहँदै आएको छ । अतः मृत्यु त सबैको लागि अन्तिम सत्य हो । यसर्थ हामी जिउँदो रहँदा जे गर्न सक्छौं, त्यसमा नै हाम्रो पहिचान सदाको लागि जीवन्त रहन सक्ने भएकोले हामीले जे सक्छौं, समाजलाई समेत केही योगदान हुने गरी अहिले नै काममा जुटौं । नाफा भावले नै काम गर्दा पनि सेवा भावबाट विचलित नहोऔं ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij