२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

घर निर्माणलाई प्रतिष्ठासँग जोडेर हेर्ने प्रचलन बढ्दो छ

घर निर्माणलाई प्रतिष्ठासँग जोडेर हेर्ने प्रचलन बढ्दो छ

विनाेद श्रेष्ठ, सञ्चालक, श्री श्रेष्ठ कन्स्ट्रक्सन प्रा.लि

निर्माण व्यवसायमा लामो समय देखि संलग्न रहँदै आएका एकजना युवा प्रतिनिधि पात्र हुन् विनाेद श्रेष्ठ। वि.सं २०४७ साल असार ३० मा दोलखाको गौरीशङ्कर गाउँपालिकाको शिल्पाश्वरमा जन्मिएका उनी जनयुद्धको समयमा घरबाट भागेर काठमाडौं प्रवेश गरका हुन् । काठमाडौंमा रहँदा आफ्ना फूपाजुको साथ पाएर उनी निर्माण सम्बन्धी व्यवसायमा संलग्न भए । सानै उमेरमा घरपरिवारबाट अलग्गिनुपर्दा तत्कालको लागि पीडा त भयो नै । यद्यपि त्यही घरपरिवारबाट छुट्टिनुपर्ने सङ्कटमय स्थिति नै उनको जीवनमा दीर्घकालको लागि नयाँ अवसर बनेर उदायो ।

कठिनपूर्ण अवस्थामा भएको काठमाडौं प्रवेश सहज त पक्कै थिएन । यद्यपि त्यही कठिनता बीच पनि सम्भावनाको बीऊ लुकेको हुँदो रहेछ । अहिले यस्तै लाग्छ । उनी भन्छन्, ‘काठमाडौंमा रहँदाका शुरुवाती दिनहरुमा त थुप्रै आरोहअवरोहहरु पनि महसुस गर्नुपर्यो । तिनै कठिन क्षणबाट शुरु भएको यात्राले अहिले उनलाई सफलताको नयाँ उचाईमा उठाएको छ । अहिले लाग्छ, त्यतिबेला काठमाडौं नआएको भए म कहाँ हुन्थेँ, कुन अवस्थामा हुन्थेँ थाहा छैन । तर बाध्यताले नै भएपनि घर छोडेर समयमा नै काठमाडौं आएको कारण अहिले मेरो जीवन बदलिएको छ । हो, त्यही क्षण नै मेरो लागि बाह्य संसारलाई बुझ्ने अवसर बन्न सक्यो ।’

काठमाडौंमा रहँदा सिकेको सीपले ल्याएको परिवर्तन
विनाेदले काठमाडौंमा रहँदा उनले घर निर्माण सम्बन्धी कला सिके । घर निर्माण गर्ने क्रममा कुन पक्षसँग कसरी सु–सम्बन्ध स्थापना गर्ने र त्यसबाट आफूले कसरी लाभ लिने भन्ने कुरा पनि सिके । विस्तारै सोही कार्यअनुभव आफ्नो व्यवसायको रुपमा नै विस्तार हुँदै गयो । अहिले भने उनको पहिचान बदलिएको छ । अहिले उनी घर निर्माणको लागि एक प्रतिष्ठित व्यक्ति बन्न पुगेका छन् । कोही कसैलाई घर निर्माण सम्बन्धी काम गर्नुपरेमा आफ्नो अनुभवको आधारमा उनले आवश्यक परामर्श उपलब्ध गराउँछन् । अहिले उनले राम्रो आर्थिक हैसियत तथा सेवाग्राहीहरुको विश्वास र माया पाएका छन् । जसले गर्दा पछिल्ला बर्षहरुमा आफ्नो काम नयाँ व्यवसायकै रुपमा विकास हुन पुगेको उनी स्वीकार्छन् ।

श्रेष्ठ मातहत हुँदै आएका कामहरु
श्रेष्ठ घरजग्गा तथा निर्माण व्यवसायमा संलग्न भएको पनि अहिले त ८ बर्ष पो भइसकेको छ । यस बीचमा आफ्नो व्यवस्थापनमा करिब ७० ओटा घरहरु उनले निर्माण गरिसकेका छन् । घर निर्माण तथा व्यवस्थापन सेवा प्रदान गर्ने उद्देश्यले उनले अहिले श्री श्रेष्ठ कन्स्ट्रक्सन प्रा.लि. नामक कम्पनी समेत दर्ता गरेर सञ्चालन गर्दै आएका छन् । उक्त कम्पनीले हाल घर निर्माणको अलावा कसैलाई घरघडेरीको आवश्यकता परे त्यसको व्यवस्थापन, घर निर्माणको लागि आवश्यक पर्ने मिक्सचर, ट्याक्टर, बायमिटर, जम्पर लगायतका सामानहरु भाडामा उपलब्ध गराउने लगायतका कामहरु गर्दै आएको छ ।
आफ्ना सेवाग्राहीलाई सन्तुष्ट बनाउँदै आफ्ना कामहरुलाई सम्पन्न गर्न सकेको खण्डमा त्यसले दीर्घकालिन रुपमा राम्रो लाभ उपलब्ध हुने अनुभव सङ्गालेका श्रेष्ठ सेवाग्राहीको आवश्यकतालाई मध्यनजर गरेर आफूले काम सम्पन्न गर्दै आएका छन् । साथै सेवा भावलाई बढी महत्व दिएर सम्पन्न गरेको कार्य बढी उपलब्धिमूलक हुनुको अलावा त्यसले आफूलाई समेत बढी सन्तुष्टि प्राप्त हुने उनी बताउँछन् ।

राम्रो सम्भावनाको क्षेत्र
पछिल्ला दिनहरुमा नेपालका खासगरी काठमाडौै उपत्यका लगायतका ठूला शहरहरुमा घर बनाउन चाहने व्यक्तिहरुका सङख्या बढिरहेको छ । यसले गर्दा काठमाडौंमा घरजग्गाको कारोबारमा सहजीकरण गर्ने कार्यमा व्यावसायिक हिसाबले नै संलग्न हुन चाहने मानिसहरुको सङ्ख्या समेत बढ्दो छ । जसले गर्दा घर निर्माण कार्यमा संलग्न व्यक्तिहरुको लागि आगामी दिनमा अझ राम्रो सम्भावना समेत छ ।  घर निर्माण गर्ने चाहना हुनु एउटा पक्ष हो । साथै यसको लागि आवश्यक व्यवस्थापन गर्ने कार्य अर्को पक्ष हो । घर निर्माण गर्ने चाहनासँगै त्यसको व्यवस्थापन कला समेत आवश्यक रहन्छ । जुन सबैमा हुँदैन । कतिपय कार्यव्यस्तताको कारण समेत कामको सबै जिम्मेवारी अन्य कसैलाई दिन चाहन्छन् । जग्गा छनौट तथा घर निर्माण कार्यमा बिल्कुलै नयाँ व्यक्तिले विविध समस्याहरु सामना गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा पनि व्यावसायिक तवरले काम गरिरहेका व्यक्ति वा कम्पनीहरुको सहयोग लिन सकिन्छ । यसैकारण घर निर्माण गर्न चाहने व्यक्तिलाई आवश्यक सही परामर्श उपलब्ध गराएर घर निर्माणको सबै जिम्मेवारी आफूहरुले पूरा गरिदिने कार्यमा उनी संलग्न हुने गर्छन् ।

घर निर्माणको प्रचलन बढ्दो
विगत केही बर्ष देखि घर निर्माणको लागि सहजीकरण गर्ने कार्यमा काठमाडौं उपत्यका भित्र थुप्रै व्यक्तिहरु संलग्न रहँदै आएका छन् । यसो हुनुले घर निर्माण गर्ने व्यक्तिहरुको चाहना उपत्यका भित्र बढ्दै जानु नै हो । निर्माण कार्यमा आफूहरुसँग उपलब्ध सीप र जनशक्तिको माध्यमबाट घर निर्माणमा सघाउने व्यक्तिहरुले पनि राम्रै लाभ हासिल गर्न सकिने अवस्था छ । पछिल्लो समय श्री श्रेष्ठ कन्स्ट्रक्सनले मूलतः पेप्सीकोला, मूलपानी, जोरपाटी लगायतका क्षेत्रहरुमा घर निर्माण सम्बन्धी कार्य गर्दै आएको छ । बाह्य जिल्लाहरुबाट अवसरको खोजीमा राजधानी प्रवेश गर्ने व्यक्तिहरुको सङ्ख्या अहिले पनि वृद्धि हुने क्रममा नै रहेको र काठमाडौंमा कुनै पेशा व्यवसायमा संलग्न भई कमाएको वा वैदेशिक रोजगारीबाट प्राप्त गरेको रकमलाई घर निर्माणमा लगाउने प्रचलन रहँदै आएको छ ।

यसकारण आफ्नै घर आवश्यक रहन्छ

अहिले घर मानिसको प्रतिष्ठाको विषय समेत बनेको छ । सानो चिटिक्क परेको घर निर्माण गर्दा त्यसले मानिसलाई आत्मविश्वासी समेत बनाउँछ । आफन्त, छिमेकी र समाजले पनि घर भएको व्यक्तिलाई गर्ने इज्जतको कारण अहिले मानिसहरु ऋणधन गरेर नै भएपनि आफ्नो अलग्गै घर बनाउन चाहन्छन् । यसको साथै बैंक तथा वित्तीय संस्थाहरुले घर निर्माणको लागि सहज रुपमा कर्जा प्रवाहको समेत व्यवस्था गरेका कारण अहिले काठमाडौं शहरको जुनसुकै ठाउँमा भएपनि घर बनाउनैपर्ने मान्यता आर्थिक हैसियत तुलनात्मक रुपमा माथि रहेका व्यक्तिहरुमा रहँदै आएको छ । मानिसहरुमा बढ्दै गएको यस किसिमको प्रवृत्तिको कारण आफूहरु जस्ता सहजीकरण कार्यमा संलग्न व्यक्तिहरु पनि लाभान्वित हुँदै आएको समेत बताउँछन् श्रेष्ठ । घर निर्माणको लागि आवश्यक पर्ने सबै किसिमका जनशक्ति एवं उपकरणहरु आफूहरुले नै व्यवस्था मिलाइदिने भएकोले घर निर्माण कार्यमा संलग्न रहन चाहने व्यक्तिले कम झण्झटमा नै आफ्नो सपनाको घर निर्माण कार्य सम्पन्न गर्न सक्छन् ।

घर निर्माण गर्दा लाग्ने खर्च
अहिलेको अवस्थामा काठमाडौं उपत्यकामा घर बनाउन करिब एक डेढ–करोड खर्च लाग्ने गर्छ । जुन जग्गा व्यवस्थापन तथा निर्माण कार्य गरी अन्तिम रुपमा तयार पार्दा सम्मको लागत हो । साथै घर निर्माणबाट धेरै व्यक्तिहरुले रोजगारी समेत प्राप्त गर्न सक्छन् । एउटा घर निर्माणको लागि काममा खटिने कामदारले प्रतिदिन १०–१२ सय कमाउने गर्छन् । यसैगरी घर निर्माणमा खटिने मिस्त्रीले दैनिक १७–१८ सय कमाइ गर्छन् । एउटा घर निर्माणको लागि जनशक्ति बापत मात्रै करिब १५ लाख रुपियाँ खर्च लाग्ने गर्छ । यसलाई विचार गर्दा पनि घर निर्माण क्षेत्रबाट धेरैले ठूलो लाभ लिइरहेको र आगामी दिनमा समेत घरजग्गाको सम्भावना राम्रो रहेको अनुमान गर्न सकिन्छ ।

गुणस्तरीयतामा जोड दिनुपर्छ
कुनै पनि काम गर्दा गुणस्तरीयतामा जोड दिनुपर्छ । राम्रो काम गर्न सकेको खण्डमा एक व्यक्तिको काम सम्पन्न गरेपश्चात् पहिले काम गरेकै व्यक्तिबाट उसको सम्पर्कमा रहेका अन्य व्यक्तिको काम समेत लिने अवसर सृजना हुने गर्छ । घर निर्माणको लागि पनि यही नियम लागु हुन्छ । साथै घर निर्माण कार्य पनि एउटा व्यवस्थापन हो । कुशल व्यवस्थापन र कामको गुणस्तरीयताबाट आफूले चाहेबमोजिमको सफलता समेत हासिल गर्न सकिने समेत श्रेष्ठ बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij