२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

पानीको निश्चित गुणस्तर कायम गरी बजारीकरण गर्न मूल्य समायोजन आवश्यक छ

पानीको निश्चित गुणस्तर कायम गरी बजारीकरण गर्न मूल्य समायोजन आवश्यक छ

ध्रुव गाैतम, महासचिव, बाेतल बाटर उद्याेग संघ

काठमाडौं । नेपालमा यतिबेला सबैजसो दैनिक उपभोग्य वस्तुहरुको मूल्य आकाशिएको छ । सामान्यतया माग र पुर्तिको आधारमा वस्तुको मूल्य निर्धारण हुने भएपनि लकडाउन एवं निशेषाज्ञा जस्ता विशेष अवस्थामा उपभोक्ताको हितलाई ध्यान नदिई उद्योगी व्यवसायीहरुले एकतर्फी रुपमा सामानको मूल्य बढाएर उपभोक्ताहरुबाट अवैधानिक तवरले बढी रकम असुलिरहेको छ । सबैजसो सामानहरुको मूल्य नियन्त्रण भन्दा बाहिर छ । खानेतेलको मूल्य सर्वसाधारणको पहुँच भन्दा बाहिर पुगिसकेको छ ।

नेपाल सरकार मातहतको नेपाल आयल निगमले वितरण गर्ने डिजेल, पेट्रोल, मट्टितेल जस्ता पेट्रोलियम पदार्थको मूल्य समेत निषेधाज्ञा अवधिमा पटक–पटक बढाइएको छ । दालचामल जस्ता खाद्यान्न, हरियो तरकारी, फलफूल लगायत वस्तुहरु पनि नियन्त्रण भन्दा बाहिर पुगिसकेका छन् । यद्यपि ती सबै वस्तुहरुको मूल्य सीमा कायम गरी बजार व्यवस्थित गर्नपर्ने आवश्यकता भएपनि यस सम्बन्धमा अहिले सम्म कसैले पनि चासो राखेको पाईंदैन ।

लामो समय देखि मूल्य वृद्धि नभएको क्षेत्र पानी

नेपालमा लामो समय देखि जार एवं वोतलमा उपलब्ध हुने प्रशोधित पिउने पानीको मूल्य भने वृद्धि हुन सकेको छैन । समयानुकुल पानीको मूल्य समायोजन गर्नुपर्छ भन्ने सम्बन्धमा व्यवसायीहरुले माग गर्दै आइरहेका भने छन् ।

पानी मानिसको जीवन रक्षाको लागि अत्यावश्यक वस्तु हो । यसको आपुर्ति सहज रुपमा राज्य पक्षबाट व्यवस्थित गर्न नसकिएको कारण यसको व्यवस्थापन कार्यमा निजी क्षेत्र संलग्न रहँदै आएको छ ।

सामान्यतया निजी क्षेत्र मुनाफाकै उद्देश्यले सञ्चालन हुने भएपनि लामो समय देखि पानीको मूल्य स्थिर रहँदै आएको र समयानुकुल मूल्य समायोजन हुन नसक्दा पानी उद्योगहरु चल्न नै अप्ठ्यारो अवस्था सृजना भएको व्यवसायीहरु बताउँदै आएका छन् ।

बढ्दो अस्वस्थ प्रतिष्पर्धा
नेपालमा जारको पानी प्रशोधन कार्यमा संलग्न उद्योगहरु हरेक बर्ष थपिइरहेका छन् । यद्यपि नेपाली बजारमा कति पानी उद्योगहरु राम्रोसँग चल्न सक्छन् ? बजारमा जार एवं बोतल मार्फत बिक्री गरिने पानीको गुणस्तर कस्तो छ ? भन्ने कुरामा हाम्रा सरोकारवाला निकायको ध्यान जान नसक्दा र अनियन्त्रित तवरले इजाजत दिइरहँदा यसले बजारमा अस्वस्थ प्रतिष्पर्धा बढेको छ । यही अवस्था कायम रहने हो भने नेपालमा पानी उद्योग धरासयी हुन सक्ने अवस्था छ । यस्तो अवस्थामा पानी उद्योगलाई व्यवस्थित गर्न र सुलभ मूल्यमा गुणस्तरीय पानी उपलब्ध गराउनको लागि पानीको उत्पादन, बजारीकरण तथा वितरण लगायत पक्षहरुलाई ध्यानमा राखी मूल्य समायोजन गर्नुपर्ने जरुरी छ ।

निषेधाज्ञामा पानी उद्योगको अवस्था
यतिबेला पानी उद्योगहरु न्यूनतम जनशक्तिबाट सञ्चालन हुँदै आएका छन् । निषेधाज्ञाको कारण बजारमा पानीको माग समेत घटेको र पसलहरुबाट सहज रुपमा पानी बिक्री हुने अवस्था नरहेकोले पानी उत्पादन क्षमता समेत घटेको छ । जसले गर्दा उद्योगहरुको लागत बढेको छ । यद्यपि आफूहरुले कोरोना महामारीबाट सृजना भएको विषम परिस्थितिमा पनि पानी उत्पादन कार्यलाई निरन्तरता दिएकोले निर्वाध रुपमा पानी आपुर्ति गरेको कारण उपभोक्ताहरु पानी उपयोगबाट वञ्चित हुनुपरेको छैन । आगामी दिनमा पानीको गुणस्तरीय पक्षमा उपभोक्ता एवं अन्य सरोकारवाला निकायहरु सचेत बन्दै जानुपर्ने आवश्यकता छ ।

नेपाली अर्थतन्त्रमा पानी उद्योगहरुको योगदान
हाल नेपालमा देशभर गरी ५ सय ५१ ओटा पानी उद्योगहरु सञ्चालनमा छन् । जसमध्ये काठमाडौं उपत्यका सहित प्रदेश नम्बर ३ मा २ सय पानी उद्योगहरु सञ्चालनमा रहेका छन् । देशभरका प्रत्येक उद्योगमा औसतमा १५ जना कामदार रहेको तथ्यलाई आधार मान्दा पानी उद्योग मार्फत ८ हजार भन्दा बढी कर्मचारीहरु प्रत्यक्ष लाभान्वित भएको अवस्था छ । उत्पादन, बजारीकरण लगायत सबै कार्यमा संलग्न व्यक्तिहरुलाई आधार मान्दा निजी लगानीमा सञ्चालित पानी उद्योग मार्फत करिब साढे १६ हजार परिवारहरु आश्रित रहेको नेपाल वोतल  वाटर उद्योग संघको तथ्याङ्क छ ।

हाल संघ मातहत आवद्ध रहेका उद्योगहरुले १ लिटर पानी प्रति वोतल १६ रुपियाँमा र प्रति जार (२० लिटर क्षमता) ५० रुपियाँको दरले पानी उपलब्ध गराउँदै आएको छ । हाल काठमाडौं उपत्यकामा प्रतिदिन करिब ४० हजार कार्टुन पानी प्रशोधन हुँदै आएको अनुमान गरिन्छ ।

राजस्वमा योगदान
साथै नेपालमा रहेका सबै पानी उद्योगहरु अनिवार्य रुपमा भ्याटको दायरामा आउनुपर्छ भन्ने सम्बन्धमा समेत संघले आवश्यक पहल गरिरहेको छ । सबै उद्योगहरु भ्याटको दायरामा आउन सकेको खण्डमा राज्यलाई बार्षिक १ अर्ब २० करोड बराबरको भ्याट रकम र १८ करोड ८१ लाख रकम बराबरको आयकर प्राप्त हुने स्थिति देखिन्छ ।

अन्त्यमा,
पानीको मूल्यलाई लिएर समय–समयमा विभिन्न चर्चापरिचर्चा हुने गरेपनि बजारमा उपलब्ध पानीको गुणस्तर कस्तो हुनुपर्ने भन्ने सम्बन्धमा भने राज्य पक्ष, उपभोक्तावादी संघसंस्था, राज्य एवं उपभोक्ता कसैको पनि चासो जान नसक्नु दुखद कुरा हो । यसलाई व्यवस्थापन गर्नको लागि पानीको समयानुकुल मूल्य समायोजन गरी बजारमा नयाँ तवरले प्रवद्र्धन गर्नुपर्ने आवश्यकता छ ।

(प्रस्तुत सामाग्री नेपाल बोतल बाटर उद्योग संघका महासचिव ध्रुव गौतमसँग गरिएको कुराकानीको आधारमा तयार पारिएको हो ।)

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij