जनकपुर । संघीय सरकारमा सत्ता साझेदारीको विषयलाई लिएर जसपा नेपालभित्र बढेको राजनीतिक द्वन्द्वको बाछिटा प्रदेश २ सरकारमा पनि पर्ने सम्भावना बढेको छ ।
केपी शर्मा ओली नेतृत्वको संघीय सरकारमा जसपाको महन्थ–राजेन्द्र पक्ष सामेल भएको छ भने उपेन्द्र यादव पक्षले सरकारमा सामेल हुने निर्णय पार्टीगत रुपमा नभएको बताउँदै कारवाहीको डन्डा चलाउन थालेको छ ।
पार्टीभित्रको द्वन्द्व यसरी नै बढेको खण्डमा जसपा नेतृत्वको प्रदेश २ सरकार परिवर्तन हुन सक्ने आँकलन गरिएको छ ।
यिनै अड्कलवाजीबीच जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव जनकपुरधाम आएर पार्टीका नेताहरुसँग छलफल गरेसँगै प्रदेश २ मा पनि राजनीतिक तरङ्ग बढेको छ । गत वर्ष तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरणपछि जनता समाजवादी पार्टी गठन भएको थियो ।
प्रदेश २ मा जसपाले पूर्ण बहुमतको सरकार सञ्चालन गर्दै आएको छ । तर केन्द्रमा विकसित राजनीतिक घटनाक्रमले प्रदेश २ सरकारको स्थायित्वमा प्रश्न खडा गर्न थालेको छ । स्रोतका अनुसार जसपा अध्यक्ष यादव प्रदेश २ सरकार पुनर्गठन गर्ने गृहकार्यका लागि जनकपुरधाम आएका हुन् ।
जसपा केन्द्रीय कार्यकारिणी समितिमा बहुमत रहेका कारण पार्टीको आधिकारिकता आफूले नै पाउने यादव पक्षको विश्वास छ । सोही आधारमा प्रदेश २ सरकारबाट महन्थ–राजेन्द्र पक्षलाई हटाएर यादवले नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रलाई सरकारमा ल्याउन कसरत थालेको स्रोत बताउँछ । यद्यपि प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र कुमार साह तत्काल सरकार पुनर्गठनभन्दा पनि वार्षिक नीति तथा कार्यक्रमतर्फ आफूहरु केन्द्रित रहेको बताउँछन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij