२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

३१ औं कार्यसमितिमा रहँदाका हाम्रा उपलब्धिहरू ई.सरोज धिताल

३१ औं कार्यसमितिमा रहँदाका हाम्रा उपलब्धिहरू ई.सरोज धिताल

ई.सरोज धिताल, उपमहासचिव पदका उम्मेद्वार, नेपाल इन्जिनियर्स एसोसिएसन

नेपाल इन्जिनियर्स एसोसिएसनको डा.ई. हरेराम श्रेष्ठ र महासचिव ई. उमेश प्रसाद थानी नेतृत्वको ३१ औं कार्यसमितिमा मैले कार्यकारिणी समिति सदस्यको रुपमा म आफू पनि निर्वाचित भएको थिएँ । उक्त कार्यसमितिमा रहँदा मैले संस्थाका गतिविधिहरुलाई नजिकबाट बुझ्न र अवलोकन गर्न पाएँ । साथै संस्थाले गर्नुपर्ने आगामी कामहरु के हुनुपर्छ र के गर्न सकिन्छ भन्ने सम्बन्धमा पनि थुप्रै कुराहरु सिक्ने अवसर पाएँ । ३१ औं कार्यसमितिमा समेटिएका सबै व्यक्तिहरु सशक्त, जिम्मेवार र कर्तव्यनिष्ठ थियौं । लोकतान्त्रिक समूहको नेतृत्वदायी भूमिका रहेको उक्त कार्यसमिति मार्फत हामीले लोकतान्त्रिक समूहले आफ्नो चुनावी घोषणापत्रमा समेटेका थुप्रै कार्ययोजनाहरुलाई विशेष तयारीको साथ अघी बढाउँदै परिणाम दिन सफल समेत भएका थियौं ।
हाम्रो कार्यकाल मुख्यतः इन्जिनियरिङ क्षेत्रमा देखिएका जल्दाबल्दा विषय र समस्याहरुलाई उठान गराई कसरी सही समाधान वा परिणाम दिन सकिन्छ भन्ने सम्बन्धमा केन्द्रित रहिरह्यौं ।

संस्थालाई संघीय संरचनामा बदल्यौं
डा. ई. हरेराम श्रेष्ठ र महासचिव ई. उमेश प्रसाद थानी नेतृत्वको हामी संलग्न ३१ औं कार्यसमितिलाई मुलुक संघीय संरचनामा गइरहेको अवस्थामा यस संस्थालाई पनि संघीय ढाँचामा नै लैजानुपर्ने दायित्व थियो । त्यसको लागि संस्थाको विधान संशोधन गरेर सफलतापूर्वक यस संस्थालाई संघीय ढाँचामा रुपान्तरण गर्न सफल भयौं । जुन कार्य हाम्रो अग्रसरता एवं सबै सदस्यज्यूहरुको साथसहयोगबाट सम्भव भएको हो ।

डा. ई. हरेराम श्रेष्ठ  र महासचिव ई. उमेश प्रसाद थानी नेतृत्वको कार्यसमितिमा रहेर म आफूले पनि थुप्रै कार्यहरुमा नेतृत्वदायी भूमिका निर्वाह गरेको छु । हामी सामुहिक वा संगठनात्मक प्रयाशमा विश्वास गर्छौं । युवा इन्जिनियरहरुलाई महत्वपूर्ण स्थान दिइएको ३१ औं कार्यसमिति समग्रमा सफल कार्यकाल रह्यो भन्नेमा विश्वास गर्न सकिने निम्न आधारहरु छन् ।

क) इन्जिनियरहरुको सेवासुविधा वृद्धि
हामीले संस्थाको नेतृत्व लिने समयमा नेपाल भूकम्प पश्चात् पुनर्निर्माणको क्रममा थियो । देशभरबाट १३ सय भन्दा बढी इन्जिनियरहरु पुनर्निर्माण कार्यमा निरन्तर खटिनुभएको थियो । तैपनि कार्य क्षेत्रमा खटिने इन्जिनियरहरुले आफ्नो कामको तुलनामा उचित सेवा सुविधा प्राप्त गर्न सक्नुभएको थिएन । त्यस सम्बन्धमा अध्यक्ष  डा. ई. हरेराम श्रेष्ठ र महासचिव ई उमेश प्रसाद थानीको नेतृत्वमा म लगायतका व्यक्तिहरुको पहलमा नेपाल राष्ट्रिय पुनर्निर्माण प्राधिकरण मार्फत १३ सय भन्दा बढी इन्जिनियरहरुलाई उचित सेवासुविधा उपलब्ध गराउने कार्य गराउन हामी सफल भयौं ।

ख) आइटि अफिसर समस्याको उचित समाधान
नेपाल इन्जिनियर्स एसोसिएसनमा आबद्ध इन्जिनियरहरुका समस्याबारे काम गरिरहेको ३१ औं कार्यसमितिले एसोसिएसनको नेतृत्व गरिरहेको समयमा स्थानीय तहहरुमा आइटि अफिसर राख्ने व्यवस्था कार्यान्वयनमा ल्याइयो । त्यो नियम एउटा सिण्डिकेटको रुपमा आएको थियो । जसअनुसार त्रिभुवन विश्वविद्यालयबाट अध्ययन गरेका व्यक्तिहरु मात्र आइटि अफिसर बन्न पाउने भन्ने कुरा त्यहाँ उल्लेख थियो ।

मेरो नेतृत्वमा रहेको एसोसिएसनको टिमले व्यापक दबाब दिएपश्चात् पछि सबै विश्वविद्यालयमा अध्ययन गरेका व्यक्तिहरुले आइटि अफिसरको रुपमा दरखास्त दिन सक्ने भए । यद्यपि केही समय पछि नै पुनः उक्त नियमलाई असर पर्ने गरी निर्देशिका जारी गरेर इलेक्ट्रोनिक एण्ड कम्युनिकेसनका व्यक्तिहरु आइटी अफिसर बन्न नपाउने तर वि.एड गरेर ६ महिना तालिम लिएको व्यक्तिलाई आइटि अफिसर बन्न पाइने किसिमकाे नियम ल्याइयाे । इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन अध्ययन गरेका व्यक्ति आइटि अफिसर बन्न नपाउने नियम निकै भेदभावकारी थियो । जसले गर्दा हामी पुनः दबाबमा उत्रिनुपर्यो । देशव्यापी रुपमा हामीले विभिन्न स्वरुपका आन्दोलन गर्दै मन्त्रालयमा समेत डेलिगेसन गरिरहँदा सबै स्थानीय निकायहरु इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसनका विद्यार्थीहरुलाई समेत आइटि अफिसर बन्न पाउने व्यवस्था गर्न बाध्य भए । अहिले करिब ३ सय इन्जिनियरहरु यस व्यवस्थाबाट लाभान्वित हुनुभएको छ ।

ग) बाह्य इन्जिनियर प्रवेशमा कडाई सम्बन्धमा काउन्सिलमा उजुरी
बाह्य मुलुकबाट नेपालमा आएर काम गर्ने इन्जिनियरहरुमा कम कार्यअनुभव हुनुको अलावा कम पारिश्रमिकमा काम गर्ने प्रचलन छ । त्यसको असर स्वरुप नेपालका थुप्रै इन्जिनियरहरु अहिले पनि वेरोजगार हुनुहुन्छ । यस सम्बन्धमा कुरा उठाउँदै म आफैंले नेपाल इन्जिनियरिङ काउन्सिलमा मुद्दा समेत दर्ता गराएको छु । अझै पनि उक्त मुद्दा सुनुवाई भइसकेको छैन । काउन्सिलले यस विषयमा विशेष चासो नराख्दा थुप्रै स्वदेशी इन्जिनियरहरु प्रताडित हुनुपरेको छ । जुन विषय अहिले अझ पेचिलो बन्दै गएकाे छ ।

घ) हुवावे कम्पनीबाट प्रताडित इन्जिनियरको समाधान
नेपालमा काम गर्दै आएको चीनको हुवाई कम्पनीमा कार्यरत एकजना नेपाली इन्जिनियरलाई बदमानीपूर्वक उक्त कम्पनीले कारवाही गरेको थियो । त्यस अवस्थामा न्याय दिलाउन प्रभावकारी भूमिका खेलेर इन्जिनियरहरुको आत्मबल बढाउन हामीले विशेष भूमिका निर्वाह गरेका थियौं । जसले गर्दा त्यस पछिका दिनमा एसोसिएसन प्रति इन्जिनियर साथीहरुको आस्था अझ बढ्न गएको महसुस हामीले गरेका छौं ।

ङ) अनलाइन सदस्यता प्रणाली लागु 
हामीले अनलाइन सदस्यता प्रणाली लागु गर्यौं । जुन नेपाल इन्जिनियर्स एसोसिएसनको लागि आधुनिक एवं नवीनतम प्रविधि थियो । जसले गर्दा नयाँ सदस्यता लिन चाहने साथीहरुलाई निकै सहज भएको छ । विगतमा चुनावको समयमा ठूलो लाइन लागेर सदस्यता लिनुपर्ने बाध्यात्मक अवस्था थियो । यद्यपि अनलाइन सदस्यता डाटाबेश अझै बलियो भइसकेको भने छैन । सदस्य इन्जिनियरहरुको सङ्ख्या ३७ हजार पुगिसकेको अवस्थामा यसलाई अझ प्रभावकारी बनाउँदै लैजानुपर्ने आवश्यकता छ ।

च) इलेक्ट्रोनिक भोटिङको पहल
हामीले इलेक्ट्रोनिक भोटिङको लागि पनि पहल गरेका थियौं । यो अझै सफल भइसकेकेयसलाई अबका दिनमा प्रभावकारी ढङ्गले सम्पन्न गर्नुपर्छ ।

छ) प्रकाशन र प्रचारप्रसारमा विशेष जोड
म एसोसिएसनको सदस्य रहेको ३१ औं कार्यसमितिमा मैले प्रकाशन समिति सदस्यको भूमिका पनि निर्वाह गरेको छु । हाम्रो समितिले त्यस समयमा २ ओटा पुस्तकहरु प्रकाशन गरेको थियो । जसमध्ये एउटा अनुराधा सर्माको संयोजकत्वमा प्रकाशित ‘विगतमा नेपाल इन्जिनियर्स एसोसिएसन’ हो भने दोस्रो पुस्तक काठमाडौं भित्र राणाहरुको दरबार सम्बन्धमा अध्ययन गरी जीवराज पोखरेलको संयोजकत्वमा म आफू सहसंयोजक भई प्रकाशन गरेका छौं ।

ज) न्यूनतम पारिश्रमिक निर्धारणः
मैले न्यूनतम पारिश्रमिक निर्धारण समितिको सचिवको रुपमा पनि काम गरेको छु ।

३३ औं कार्यसमितिमा डा.ई. हरि बहादुर दर्लामी नेतृत्वकाे कार्यसमितिमार्फत हाम्राे समूहले नेपाल इन्जिनियर्स एसाेसिएसनमा खेल्ने भूमिका सम्बन्धमा छिट्टै विस्तृत प्रतिबद्धतापत्र समेत सार्वजनिक गर्दैछाै‌ । हाम्राे समूहले निर्वाह गर्ने भूमिकालाइ म निम्न बुँदाहरु मार्फत प्रष्ट पार्न चाहन्छु ।

हाम्राे अबकाे नेतृत्वले संस्थालाई व्यवस्थित र पारदर्शी बनाउने, नवप्रवेशीहरुलाइ सीपमूलक तालिमकाे व्यवस्था गर्ने, नयाँ प्रविधिकाे प्रवर्द्धन गर्ने लगायत थुप्रै नयाँ कामहरु शुरुवात गर्नुछ भने विगतका उपलब्धिहरुलाइ बचाउँदै  संस्थाकाे गरिमा अझ उच्च बनाउनुछ ।

म सहित डा.ई. हरि बहादुर दर्लामी नेतृत्वकाे वृहद् लाेकतान्त्रिक समूह समूहले निर्वाचन पश्चात् अघी बढाउने कार्यहरुलाइ म निम्न बुँदाहरु मार्फत सार्वजनिक गर्दछु ।

१. नेपाल इन्जिनियर्स एसोसिएसनका गतिविधिहरुलाई व्यवस्थित, पारदर्शी र चलायमान बनाउन उपयुक्त प्रणाली विकास गर्ने ।
२. अग्रजहरुको सम्मान र नयाँ इन्जिनियरहरुलाई मार्गनिर्देशन गर्दै तटस्थ संस्थाको रुपमा नेपाल इन्जिनियर्स एसोसिएसनलाई स्थापित गर्ने ।
३ . विभिन्न सङ्काय अन्तरगत नयाँ इन्जिनियरहरुलाई निरन्तर तालिम केन्द्र (Department of Continue Training Center) स्थापना गर्नेे ।
४. अनलाइन डाटावेश र Membership लाई प्रभावकारी बनाउने
५. नेपाल इन्जिनियर्स एसोसिएसनका आगामी निर्वाचनहरु इलेक्ट्रोनिक भोटिङ मेसिनबाट गराउन शुरु देखि नै पहल गरी परिणाम समेत दिने।
६. इन्जिनियरको न्यूनतम पारिश्रमिक तोक्ने विषयमा शुरुदेखि नै काम अघी बढाई परिणाम दिने।
७. विभिन्न सङ्काय अन्तरगत निजी तथा सरकारी क्षेत्र मा संलग्न इन्जिनियरहरुका समस्याहरु पहिचान गरी सोहीबमोजिम समाधानको लागि पहल गर्ने।
८. स्थानीय निकायमा कार्यरत इन्जिनियरहरुको मनोबल उच्च राखी निरन्तर कार्य क्षेत्रमा खटिन सक्ने गरी प्रोत्साहित गर्ने
९. नीतिगत रुपमै इन्जिनियरहरुको हस्तक्षेप हुन सक्ने व्यवस्था कार्यान्वयनको लागि नेपाल इन्जिनियर्स एसोसिएसन मार्फत पहल गर्ने ।
१०. Talk program लाई निरन्तरता दिइ थप व्यवस्थित रुपमा ईन्जिनियरिङ विषयवस्तुमा राष्ट्रिय स्तरको वहस र पैरवी गर्ने ।
११. नवीनतम प्रविधि मार्फत व्यवसाय गरिरहेका Pathao, Tootle  लगायतका Entrepreneur हरुको मुद्दालाई राष्ट्रिय रुपमा छलफलमा लगेर उपयुक्त नीतिगत व्यवस्था गर्न पहल गरी व्यवसाय गर्ने सहजीकरण गर्ने।
१२. Valuation sector मा आबद्ध ईन्जिनियरका समस्याहरु समाधानको लागि उचित पहल गर्ने ।
अन्त्यमा, देशभरबाट डा.ई. हरि बहादुर दर्लामी नेतृत्वकाे लाेकतान्त्रिक समूह मार्फत उम्मेदवारी दिनुभएका उम्मेदवारहरुलाइ  हामीले विगतमा खेलेकाे भूमिकालाइ समेत मूल्याङ्कन गर्दै र हामीले उठाएका महत्वपूर्ण संस्थागत प्रतिबद्धता सहितका मुद्दाहरुलाइ पूरा गर्नकाे लागि हामीलाइ विश्वास गर्नुहुनेछ भन्नेमा हामी पूर्ण अपेक्षारत छाैं ।
।
साेही बमाेजिम आगामी २०७८ वैशाख २४ गते हुन गइरहेको नेपाल ईन्जिनियर्स एशोसिएसन (NEA)को ३३ औं केन्द्रीय कार्यकारिणी समितिकाे निर्वाचनमा डा.ई. हरि बहादुर दर्लामीले नेतृत्त्व गर्नुभएको लाेकतान्त्रिक समूहलाइ अमूल्य मत दिइ दोश्रो प्रदेश कार्यकारिणी समिति र नेपाल ईन्जिनियरिङ् परिषद् (NEC)को निर्वाचनमा हामीलाइ विजयी गराउनुहुनेछ भन्नेमा हामी पूर्ण विश्वस्त छाैं । समस्त इन्जिनियरहरुकाे हक, हित र अधिकारकाे लागि हामी निरन्तर लागि नै रहनेछाैं ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij