राम सुवाल, संयोजक, नेपाल बोटल वाटर उद्योग संघ, (भक्तपुर कार्यसमिति)भक्तपुरमा पानी उद्योगको अवस्था
भक्तपुर जिल्लामा सञ्चालनमा रहेका पानी उद्योगहरु अधिकांश चाँगुनारायण नगरपालिकाको वडा नम्बर २ र ३ मा पानी सञ्चालनमा रहेका छन् । हाल सम्म भक्तपुरमा २२ ओटा उद्योगहरुले पिउने पानी प्रशोधन गर्दै आएका छन् । जस मध्ये ३ ओटा उद्योगले वोटलमा प्रशोधित पानी प्याकेजिङ गरेर बजारमा उपलब्ध गराउँदै आएका छन् भने अन्य उद्योगहरुले जारमा मात्र पानी उपलब्ध गराउँदै आएका छन् । भक्तपुरमा सञ्चालनमा रहेका उद्योगहरुले औसतमा करिब १२ जना व्यक्तिहरुलाई रोजगारी उपलब्ध गराउँदै आएका छन् ।
भक्तपुरबाट सञ्चालनमा रहेका ४–५ ओटा उद्योगहरुले तुलनात्मक रुपमा बढी क्षमतामा पानी प्रशोधन गर्ने सामथ्र्य राख्छन् । बढी क्षमतामा पानी प्रशोधन गर्ने उद्योगहरुमा एसियन टप, पाराडाइज, अक्वा कर्णाली, क्रिष्टल, लोटस लगायत रहेका छन् । भक्तपुरका सबैजसो उद्योगहरुले जमीन मुनिको पानीलाई आरओ प्रविधिबाट प्रशोधन गरी बजारमा पठाउने काम गर्दै आएका छन् ।
पानी उद्योगमा लगानी
हाल भक्तपुर क्षेत्रमा सञ्चालनमा रहेका उद्योगहरु १ देखि डेढ करोड रकम लगानीमा सञ्चालनमा रहेका छन् । जुन लगानी जग्गा बाहेकको लगानी हो । भक्तपुर क्षेत्रमा सञ्चालनमा रहेका उद्योगहरु कुनै आफ्नै जग्गामा सञ्चालनमा छन् त कतिपय भाडामा समेत सञ्चालन हुँदै आएका छन् ।
नयाँ उद्योगमा रोक
विगत २ बर्ष देखि भक्तपुर क्षेत्रमा पानी उद्योगहरु नयाँ खुल्ने क्रम रोकिएको छ । वर्तमान परिस्थितिमा बजारमा धेरै पानी उद्योगहरु स्थापनाको आवश्यकता नरहेको कुरालाई महसुस गरेर चाँगुनारायण नगरपालिकाबाटै पानी उद्योग सञ्चालनको लागि रोक लगाइएको राम सुवाल बताउँछन् । जसले गर्दा पानी उद्योगहरुबाट बजारमा अस्वस्थ रुपमा हुने गरेको प्रतिष्पर्धा केही रोकिएको छ ।
ब्राण्ड प्रतिको सचेतना न्यून
सबैजसो उपभोक्ताहरु अहिले सम्म आफूले प्रयोग गर्ने अन्य उपभोग्य सामानको ब्राण्ड प्रति जागरुक भइसकेका छन् । यद्यपि अहिले सम्म आफूले पिउने पानी भने कुन ब्राण्डको हो भन्ने सम्बन्धमा उपभोक्ता जागरुक बन्न सकेका छैनन् । अन्य वस्तु जस्तै दैनिक अपरिहार्य पानीका उपभोक्ताहरु गुणस्तर र ब्राण्ड प्रति सजग रहन नसक्नुमा पानी उद्योगीहरुले पनि आफ्नो ब्राण्डको राम्रोसँग प्रचारप्रसार गर्न नसक्नु एक हो । साथै उपभोक्ताले पनि बुझ्नुपर्छ कि जार वा बोतलमा पानी सिलबन्दी हुँदैमा त्यसले गुणस्तरता सुनिश्चित गर्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन । यसकारण उपभोक्ता समेत पानीको गुणस्तर र ब्राण्ड बारे सचेत रहनुपर्ने समय आएको छ ।
पानीमा लाग्दै आएको करः समस्यामा व्यवसायीहरु
चाँगुनारायण नगरपालिकाले प्रशोधित अत्यावश्यक पिउने पानीको आवतजावत गर्दा गाडीमा कर लगाउँदै आएको छ । जसले गर्दा पानी उत्पादकहरुको लागत बढेको छ । यस किसिमको कर प्रणालीले पानी उद्योगीहरुलाई उच्च प्रतिष्पर्धा बीच बजारमा धानिन गाह्रो परिस्थिति सृजना भएको छ । यसकारण त्यस्तो कर प्रणाली हटाउनुपर्छ भन्ने सम्बन्धमा व्यवसायीहरुले लामो समय देखि लविङ गर्दै आइरहेका छन् ।
उपभोक्ताले विचार गर्नुपर्ने कुरा
खाद्य प्रविधि तथा गुण नियन्त्कण
विभागले आधिकारिक रुपमा दर्ता भई मापदण्ड भित्र रहेर पानी उत्पादन गर्दै आएका कम्पनीहरुले डिएफटिक्युसी नम्बर उपलब्ध गराएको छ । यद्यपि बजारमा अहिले पनि यदाकदा उक्त आधिकारिक नम्बर नभएका उद्योगहरुले समेत पानी प्रशोधन गरी बजारमा उपलब्ध गराउँदै आएका छन् । अवैधानिक रुपमा बजारमा उपलब्ध उक्त पानी पिउन योग्य छ कि छैन भन्ने आँकलन उपभोक्ताहरुले सजिलै गर्न सक्दैनन् । यसकारण बजारबाट पानी खरिद गर्दा पानी उद्योगको अनुज्ञापत्रसँगै उल्लेख गरिएको डिएफटिक्युसि नम्बर अनिवार्य रुपमा हेर्नुपर्ने जरुरी रहन्छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij