२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

देशभर प्रदूषण उच्च विन्दूमा : मानव सिर्जित डढेलोले वायुप्रदूषण !

देशभर प्रदूषण उच्च विन्दूमा : मानव सिर्जित डढेलोले वायुप्रदूषण !

काठमाडौं । देशभरि फेरि वायु प्रदुषणको मात्रा फेरी ह्वात्तै बढेको छ। बुुधबार साँझ पूर्वी तथा मध्य नेपालमा भएको वर्षाले प्रदूषण केही घटे पनि आइतबारदेखि फेरि बढेको हो । प्रदूषण बढ्नुको मुख्य कारण प्राकृतिक केही भएपनि मानव सिर्जित अवस्था रहेको विज्ञहरुले बताएका छन् । स्विट्जरल्याण्डको एक्युएआइआरका अनुसार सोमबार काठमाडौंको एयर क्वालिटी इन्डेक्स ३३१ भन्दा माथी पुगेको थियो । जसका कारण काठमाडौं संसारकै धेरै वायु प्रदुषण भएको सहरको सूचीमा पहिलो नम्बरमा उक्लियो । वातावरण विभागको तथ्यांकअनुसार सोमबार बिहान सबैभन्दा धेरै वायु प्रदुषण धनगढीमा थियो । धनगढी एयर क्वालिटी इन्डेक्स (एक्युआई) ४२९ पुग्यो । चितवनको भरतपुर, ललितपुरको भैंसेपाटीमा पनि एक्युआई उच्च छ । वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स (एक्वुआई)मा मापन गरिन्छ ।

वायु प्रदूषण बढ्नुको मुख्य कारण नेपालका वनमा लागेको डढेलो हो । यो मौषम सुख्खा हुने र झार पतिङगरमा डढेलो लगाउदा नयाँ पलाउने आशले आगो लगाउने गरिएको छ । सोही आगो अनियन्त्रित भई वनभरी आगो लाग्ने गरेको देखिएको छ । जसले गर्दा वायु प्रदूषण बढि हुने गरेको विज्ञहरुको भनाई छ । पहाडी भेगमा बुधबार पानी परेपछि करिब तीन दिन मत्थर भएको डढेलो र आगलागी पुनः बढेकाका कारण वायुप्रदूषण बढेको हो । वन मन्त्रालयअन्तर्गत रहेको वन तथा भू–संरक्षण विभागको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीका अनुसार विगत देशका करिब आठ सय बढि स्थानमा डढेलो र आगलागी भएका छन ।

डढेलोबाट ७७ जिल्लामध्ये ६० जिल्ला प्रभावित बनेको जनाइएको छ । एउटै जिल्लामा पनि धेरै स्थानमा डढेलो लाग्दा कतिपय गाउँ नै खतरामा परेका छन । जसअनुसार सबैभन्दा बढी सुर्खेतमा ६५ स्थानमा डढेलो लागेको छ । चितवनमा ४८, डडेल्धुरामा ४७, दाङमा ४६, सल्यानमा ४१, प्युठानमा ३२, डोटीमा २८, कैलालीमा २७ र बाँकेमा २६ स्थानमा डढेलो र आगलागी भएका छन । त्यस्तै कञ्चनपुर, मकवानपुर, पर्सा, जाजरकोट, अर्घाखाँची, खोटाङ, अछाम, दैलेख, कपिलवस्तु, नवलपुर र सिन्धुलीमा डढेलो लागेको छ ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका डढेलोविज्ञ सुन्दर शर्माका अनुसार अबको डेढ महिना नेपाल डढेलोको उच्च जोखिममा छ । अहिले देशभर देखिएको डढेलोभन्दा अझ उच्च रूपमा फैलन सक्ने अनुमान उनले गरे । लामो समय पानी नपरेर सुक्खा लागेको स्थानमा लागेको डढेलो सहजै अन्यत्र सर्ने क्रम बढेको प्राधिकरणका प्रवक्ता उद्धवप्रसाद रिजालले बताए ।
कोरोना महामारीका कारण गाउँघरमा मानिसको चाप बढेको छ । जो कोहीले वन छेउछाउ चुरोट र सलाई सल्काएर फाल्ने गरेकाले डढेलो बढेको उनले उल्लेख गरे । उनका अनुसार चरनका लागि जाने गोठाला र स्थानीयवासीले घाँस पलाउँछ भन्ने आशमा पतकर र खेतबारीका छेउछाउमा आगो लगाउने गर्दा पनि त्यो बढेर वन क्षेत्रमा पुगेको हो ।

वायु प्रदूषण तथा तुवाँलोका कारण सोमबार दिनभर राम्रोसँग घाम लाग्न सकेन । यसले गर्दा रुघाखोकीका बिरामी बढिरहेका छन् । काठमाडौं उपत्यकालगायत देशभरको वायु प्रदूषण उच्च बिन्दुमा पुगेको छ । अहिले उपत्यकालगायत देशभर मर्निङ वाक नगर्न डाक्टरहरूले सुझाएका छन् । वातावरण विभागले १० दिन अघिदेखि देशका विभिन्न ठाउँमा वायु प्रदूषणको स्तर अत्यधिक बढेकाले सकेसम्म घरबाहिर ननिस्कन आग्रह गरेको छ ।

विभागले प्रेस विज्ञप्ति जारी गर्दै बालबालिका, जेष्ठ नागरिक, दमजस्ता स्वाशप्रश्वाससम्बन्धी समस्याका बिरामीहरूलाई त झन घर बाहिर ननिस्कन आग्रह गरेको छ । काठमाडौं, पोखरा, धनगढीलगायतका ठाउँमा वायु प्रदूषण उच्च बिन्दुमा पुगेको वातावरण विभागले जनाएको छ । साथै आउँदो दूई दिन अझै प्रदूषण कम नहुने भएकाले सजग रहन अपिल गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij