
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तरगत सञ्चालन हुँदै आएको कृषि उद्यम केन्द्र कृषि उद्यम तथा अनुसन्धान केन्द्रमा परिणत हुने भएको छ ।
नयाँ संरचनामा बदलिन लागेको उक्त संस्थाले आफ्ना गतिविधिहरु देशैभर सञ्चालन गरी कृषिको प्रवद्र्धन गर्ने उद्देश्यले उद्यमशिलता जागरण, तालिम एवं अनुसन्धानात्मक क्रियाकलापहरु सञ्चालन गर्नेछ ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय कार्यसमिति सदस्य अरुणराज सुमार्गीको नेतृत्वमा रहेको उक्त समितिले कृषि उद्यम केन्द्रलाई अनुसन्धान केन्द्र समेत बनाउने योजना बमोजिम हाल थुप्रै महत्वपूर्ण पहलहरु आफ्नो नेतृत्वमा भइरहेको सुमार्गी बताउँछन् ।
कृषि उद्यम केन्द्रले कृषि सम्बन्धी अध्ययन एवं अनुसन्धान कार्यमा संलग्न अनुसन्धाता, विद्यार्थी, जागरुक उद्यमी, कृषि क्षेत्रमा काम गर्ने संघसंस्था, स्थानीय निकाय एवं सरोकारवाला निकायहरुसँग सहकार्य गरी साझा मञ्चको रुपमा यस संस्थालाई अघी बढाई कृषि क्षेत्रलाई प्रभावकारी बनाउनको लागि पहल भइरहेको समेत उनले बताए ।
शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघमा केन्द्रका सभापति अरुणराज सुमार्गीले आफ्नो कार्यकक्षमा कृषि उद्यम तथा अनुसन्धान केन्द्रका सरोकारवाला व्यक्तिहरुसँग यस संस्था मार्फत हाल अघी बढाइएका गतिविधिको समिक्षा वैठक आयोजना गरे । साथै समिक्षा बैठकमा थुप्रै कार्यक्रमहरु तयार भइसकेको र व्यावहारिक रुपमा अब छिट्टै सार्वजनिक रुपमा ती कार्यक्रमहरु बाहिर आउने र सरोकारवाला पक्षहरुको आपसी सहकार्यमा ती कार्यक्रमहरु सम्पन्न हुने एक अधिकृतले बताए ।
वैठकमा आफूले मञ्चको नेतृत्व लिइसकेपछि मञ्चलाई अनुसन्धान केन्द्रको रुपमा समेत अघी बढाउने निर्णय गरेसँगै आफ्नो नेतृत्वको उक्त कृषि उद्यम तथा अनुसन्धान मञ्च प्रति विभिन्न सरोकारवाला निकायहरुको ध्यान आकर्षित भएको बताउँदै सुमार्गी विश्व बैंक, कृषि विकास बैंक, स्थानीय निकाय एवं अनुसन्धान कार्यमा संलग्न व्यक्तिहरुलाई आपसमा आवद्ध बनाउने कार्यमा आफूहरु व्यस्त रहेको र देशभर सञ्जाल विस्तार समेत भइरहेको बताउँदै छिट्टै ती कार्यक्रमहरुले सार्थकता पाउने समेत बताएका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij