राजेन्द्र पराजुली, संस्थापक उपाध्यक्ष, वस्तु तथा सेवा उपभोक्ता महासंघविषादीको असर र यसको न्यूनीकरण सम्बन्धमा पराजुली आफ्नो धारणा यसरी राख्छन्ः
किसानलाई विषादी प्रयोग सम्बन्धमा सही जानकारी हुनु जरुरी छ
विषादीयुक्त खाद्यान्नको उपयोगले मानिसलाई शारीरिक एवं बौद्धिक रुपमा कमजोर बनाउँदै लैजान्छ । कृषि फार्महरुमा विषादी प्रयोग पश्चात् निश्चित अवधि नपुग्दै त्यसलाई टिपेर बजारमा बिक्री गर्दा त्यसको मारमा मुख्यतः उपभोक्ताहरु नै पर्ने गर्छन् । कतिपय अवस्थामा यस सम्बन्धमा कृषकलाई विषादीको सही प्रयोग, यसको प्रयोग सम्बन्धमा अपनाउनुपर्ने सावधानी र नकारात्मक असर बारे जानकारी नहुन पनि सक्छ । यस्तो अवस्थामा उनीहरुलाई सही जानकारी उपलब्ध गराई प्रभावलाई न्यूनीकरण गर्न सकिन्छ ।
बाध्यता सृजना नगरी स्वयंलाई जागरुक बनाउनु जरुरी छ
अहिले मुनाफाको मुख्य उद्धेश्यले कृषि कार्यमा संलग्न कृषकहरुलाई आयआर्जन बढाउनको लागि विषादी प्रयोग अनिवार्य जस्तै बनेको छ । लाग्छ, अहिले असरदार रासायनिक पदार्थ र विषादी पनि मानवीय जीवनशैलीको एक अङ्ग नै बनिसकेको छ । यस्तो अवस्थामा सही जानकारी पाउँदैमा विषादी नियन्त्रणमा आउन सक्ने वा उपयोग घट्ने अवस्था नरहन पनि सक्छ । त्यस्तो अवस्थामा किसानहरुलाई उत्पादकत्व नघट्ने गरी जैविक मल तथा वैकल्पिक कीटनाशक औषधीको प्रयोग वा अन्य प्राकृतिक विकल्प बारे आवश्यक प्रशिक्षण दिनुपर्ने जरुरी रहन्छ ।
लामो समय देखि विषादीको प्रयोग गरिरहेका किसानहरु स्वयंलाई त्यसको असर बारे बुझाउँदै उनीहरु आफैंले विषादीको मात्रा घटाउन प्रोत्साहित हुने वातावरण बनाउन सकेको खण्डमा हामीले चाहेको उपलब्धि सजिलै हासिल गर्न सकिन्छ ।
खाद्यान्नमा विषादी उच्च प्रयोगका असरहरु
विगत २–३ दशक पहिले र अहिलेको अवस्थामा मानिसको जीवनशैली बदलिएको छ । सुखभोगी बन्ने आकाङ्क्षाले ग्रामीण भूभागमा आफ्नै खेतबारीमा कृषि कार्यमा संलग्न व्यक्ति शहरमा भाडा तिरेर जेनतेन जिवीकोपार्जन गर्ने अवस्था सृजना भएको छ । सहज जीवन जिउने मनसाय एवं विज्ञान र प्रविधिको विकास सँगै सृजना भएका मोबाइल, ल्याप्टप जस्ता विद्युतीय सामाग्री, धुलो, धुवाँ तथा अन्य विषाक्त पदार्थयुक्त खाद्य वस्तु लगायतको कारण अहिले मानवीय शरीरमा नयाँ–नयाँ घातक रोगहरु सृजना हुँदै गएका छन् ।
७५–८० बर्षको उमेरमा पनि स्वस्थ रहने अघिल्लो पुस्ताका बुबा एवं हजुरबुबामा भन्दा बढी समस्या (सुगर, प्रेसर लगायत) ४५–५० बर्षको छोरा नातीमा देखिन थालेका छन् । यसको असर नयाँ जन्मिने बालबालिकाहरुमा समेत देखिन थालेको छ । जन्मिँदै सुस्तमनस्थिति वा बौद्धिक रुपमा कमजोर हुनुका अलावा हातपाखुराहरु वा कुनै अङ्गको कार्यक्षमता कमजोर बन्ने दर तुलनात्मक रुपमा वृद्धि हुँदै गएको छ । जुन विषादीको उच्च प्रयोगको परिणाम भएको स्वास्थ्यकर्मीहरुले बताउँदै आएका छन् । यसर्थ आगामी विषादी न्यूनीकरण एवं जीवनशैलीमा परिवर्तन ल्याउनुपर्ने आवश्यकता निकै महत्वपूर्ण बनेको छ । यसको लागि सबैभन्दा प्रभावकारी माध्यम नै उपभोक्ता जागरण भएको देखिन्छ ।
विषादीयुक्त खाद्यान्नको उपयोगले मानिसलाई शारीरिक एवं बौद्धिक रुपमा कमजोर बनाउँदै लैजान्छ । कृषि फार्महरुमा विषादी प्रयोग पश्चात् निश्चित अवधि नपुग्दै त्यसलाई टिपेर बजारमा बिक्री गर्दा त्यसको मारमा मुख्यतः उपभोक्ताहरु नै पर्ने गर्छन् । कतिपय अवस्थामा यस सम्बन्धमा कृषकलाई विषादीको सही प्रयोग, यसको प्रयोग सम्बन्धमा अपनाउनुपर्ने सावधानी र नकारात्मक असर बारे जानकारी नहुन पनि सक्छ । यस्तो अवस्थामा उनीहरुलाई सही जानकारी उपलब्ध गराई प्रभावलाई न्यूनीकरण गर्न सकिन्छ ।
अहिलेको अवस्था
बढी आर्थिक लाभको उद्धेश्यले व्यवसायमा होमिएका कृषकहरुले विषादी प्रयोग गरेपछि कति समय पछि त्यो वस्तु खान मिल्ने हो भन्ने कुरालाई विचार नै नगरी विषादी हालेको केही दिनमा नै आफ्नो खेतबारीमा उत्पादन भएका वस्तु बजारमा उपलब्ध गराउने परिस्थिति अहिले रहँदै आएको छ । यसलाई कसरी न्यूनीकरण गर्न कुनै एउटा पक्षले मात्र पहल गरेर सम्भव देखिँदैन । यसकारण सबै सरोकारवाला निकायहरुको सहकार्यमा यसलाई न्यूनीकरणको लागि पहल अघी बढाएको खण्डमा विस्तारै प्रभावकारी बन्न सक्छ ।
अबको विकल्प
मानवीय शरीरमा उत्पन्न रोग वा समस्या न्यूनीकरणको लागि विषादीयुक्त खाद्यान्नको प्रयोग घटाउनसके यसले स्वस्थ समाज निर्माणमा प्रभावकारी भूमिका निर्वाह गर्न सक्छ । विषादी न्यूनीकरणका अन्य विधिहरु पनि अवलम्बन गर्दै विषादीरहित खाद्यान्नको उपयोगलाई प्रोत्साहित गर्ने कार्य निकै नै प्रभावकारी समेत हुने देखिन्छ । यसको लागि उत्पादक र उपभोक्ता दुवै सचेत बन्नुपर्ने जरुरी छ ।
उपभोक्ता पनि तुलनात्मक रुपमा थोरै महँगो नै भएपनि विषादीरहित जैविक खाद्यान्नलाई नै आफ्नो रोजाई बनाउँदै लैजानुपर्ने जरुरी छ । साथै नेपाल सरकारले पनि प्राकृतिक तवरले नै खाद्यान्न उत्पादनको लागि उत्पादक कृषकहरुलाई प्रोत्साहित गर्नु जरुरी छ । साथै बजार एवं उत्पादन अवस्था बारे कृषकलाई जागरुक बनाउन र जैविक उत्पादनको लागि प्रोत्साहन गर्न समेत राज्यबाट विशेष पहल हुनुपर्ने जरुरी छ । कृषकलाई समेत प्रतिफलमा असर नपर्ने गरी विषादीरहित खाद्यान्न उत्पादन र बजारीकरणको लागि पहल गर्न सकेको खण्डमा विस्तारै स्वस्थ र सुसंस्कृत समाज निर्माणमा सहयोग पुग्न सक्छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij