२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

भुटानमा १ सय १५ फिटको मुर्ति बनाएका राज कुमार शाक्य

भुटानमा १ सय १५ फिटको मुर्ति बनाएका राज कुमार शाक्य

राज क्मार शाक्य (कलाकार), प्रबन्ध निर्देशक, अन मेटल आर्ट एण्ड क्राफ्ट प्रा.लि (ललितपुर)

राज कुमार शाक्य नेपाली मुर्तिकला क्षेत्रमा चर्चित नाम हो । नेपाली मौलिक कलासंस्कृतिको संरक्षण र प्रवर्द्धनमा उहाँको महत्वपूर्ण योगदान छ । आफ्ना बाजे, बुबा हुँदै पुख्र्यौंली सीप हस्तान्तरणको माध्यमबाट अहिले आफू सम्म आइपुगेको सीपको दायरालाई व्यापक बनाउने कार्यमा उहाँको महत्वपूर्ण योगदान रहेको छ । नेपाली मौलिक कलामा बनेको १ सय १५ फिट अग्लो मुर्ति भुटानमा स्थापना गर्न सफल शाक्यको कला, सीप र व्यवस्थापन क्षमताको विश्वभर नै हुने गरेको छ ।
४ बर्षको अन्तरालमा आफ्नो टीमले भुटानमा उक्त मुर्ति स्थापना गर्न सफल भएपश्चात् त्यसबाट नेपाली कलालाई विश्व बजारमा प्रवर्द्धन गर्न समेत ठूलो सहयोग मिल्यो । उक्त मुर्ति स्थापना गर्न नेपालका २० जना सहित ६० जना व्यक्तिहरुको अनवरत योगदान रहेको छ । उक्त मुर्ति भुटानका एक जना धर्मगुरुको व्यक्तिगत योजना बमोजिम अघी बढाइएको थियो ।

पुस्तौं देखि मुर्तिकला क्षेत्रमा संलग्न रहँदै आएको परिवारमा जन्मनुभएका राज कुमार शाक्यका बाजे कुवेरसिंह शाक्य तिब्बतमा नेपाली मुर्तिहरु विस्तार गर्ने कार्यमा निकै नै सक्रियतापूर्वक संलग्न हुनुभएको थियो । पछि तिब्बत नै चीनको नियन्त्रणमा परेसँगै मुर्तिहरु निर्माण कार्यमा पनि केही कमी हुँदै गयो । यद्यपि नेपालमा आवश्यक सानातिना मुर्तिहरु निर्माण कार्यमा भने उहाँको परिवार निरन्तर संलग्न रहँदै आयो । आफ्नो बुबा रुद्रराज शाक्यको पालामा पनि यस व्यवसायले निरन्तरता पायो । उहाँको पालामा त्यस्तो उल्लेख्य काम हुन नसकेपनि आफ्नो पालामा भने विगतमा पुर्खाहरुले बनाएको ऐतिहासिक कार्यअनुभवलाई आफ्नो उद्यमशिल मानसिकताले टाढाको क्षितिज सम्म विस्तार गर्न राज कुमार शाक्य सफल हुनुहुन्छ ।

शाक्य हाल ललितपुरको हात्तिवन क्षेत्रमा आफ्नो वर्कशप सञ्चालन गरी धातुमा आधारित मुर्तिहरु निर्माण कार्यमा संलग्न रहँदै आउनुभएको छ । नेपाली कलाकौशल र संस्कृतिहरु नै हाम्रा सम्पत्ति हुन्, यी सम्पत्तिको जगेर्ना गर्नुपर्छ भन्नेमा प्रतिवद्ध रही अनवरत रुपमा आफ्ना कदमहरु अघी बढाइरहनुभएका शाक्यले थुप्रै नेपाली युवाहरुलाई स्वरोजगार र उद्यमशिल बन्नको लागि प्रोत्साहित गर्नुभएको छ ।

सफल व्यावसायिक योजनामा शाक्य
निरन्तर अथक रुपमा आफ्नो यात्रालाई अघी बढाइरहनुभएका शाक्य नेपाललाई कलाकौशलताको क्षेत्रमा नयाँ उचाईमा पुर्याउने पृथक योजना बमोजिम आफ्ना क्रियाकलापहरु अघी बढिरहनुभएको छ । सामाजिक उद्यमशिलता प्रवद्र्धन अभियानमा निरन्तर सक्रिय रुपमा संलग्न रहँदै आउनुभएका शाक्य परिवारका ३ दाजुभाइले नै अहिले हस्तकला सम्बन्धी अलग–अलग उद्योगहरु सञ्चालन गरिरहनुभएको छ । युवाहरुलाई सदैव उद्यमशिल बन्न प्रोत्साहित गर्नुहुने राज कुमार शाक्य आफ्नो व्यवसायलाई भावी दिनमा मुर्तिकला क्षेत्रको एउटा ठूलो र सफल उद्योगको रुपमा स्थापित गर्न चाहनुहुन्छ । सोही बमोजिम आफ्ना २ जना छोराहरुलाई पनि यसै क्षेत्रमा संलग्न गराउनुभएको छ ।

मुर्तिकला क्षेत्रका समस्याहरु
हस्तकला क्षेत्र अन्तरगत पर्ने मुर्तिकला क्षेत्रमा काम गर्नको लागि उपयुक्त ठाउँको अभावको कारण आफूहरुले बस्ती बीच जग्गा भाडामा लिएर काम गर्नुपर्ने बाध्यता रहेको र यसरी काम गर्दा थुप्रै समस्याहरु व्यहोर्नुपर्ने अवस्था रहेको शाक्य बताउनुहुन्छ । सोहीकारण हस्तकला क्षेत्रको प्रवद्र्धनको लागि नेपाल सरकारले अलग्गै औद्योगिक क्षेत्र (हस्तकला ग्राम) निर्माण गरिदिनुपर्ने आवश्यकता उहाँलाई बोध भएको छ ।

लुम्बिनीमा ५० फिटको मुर्ति निर्माण हुँदै
उद्यमी शाक्य यतिबेला गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा ५० फिट अग्लो मुर्ति स्थापना गर्ने कार्यमा व्यस्त हुनुहुन्छ । मुर्तिकलामा पोख्त हुनुको अलावा ठूला मुर्तिहरु निर्माणको लागि त्यस सम्बन्धी प्राविधिक एवं इन्जिनियरिङ ज्ञान समेत आवश्यक पर्छ । आफूले जिम्मेवारी लिएको काम समयमा नै पूरा गर्नुपर्नेमा प्रतिबद्ध रहँदै आफ्ना गतिविधिहरु अघी बढाइरहनुभएका शाक्यले आफू मातहतको एउटा टोली लुम्बिनीमा निर्माणाधिन मुर्ति निर्माण कार्यमा पठाउनुभएको छ । आफ्नो उद्योगबाट सानो साइजका (१६ फिट सम्मका) मुर्तिहरु सिधै कारखानामा नै निर्माण गरेर सम्बन्धित ठाउँमा जडान गर्न सकिने भएपनि ठूला मुर्तिहरु निर्माणको लागि भने मुर्ति स्थापना गर्ने ठाउँमा नै गएर काम गर्नुपर्ने हुन्छ । यस्ता ठूलो साइजका मुर्तिहरुको जडान सफल पार्न निरन्तरको साधना, व्यवस्थित योजना र विशेष रणनीति बमोजिम आफ्ना गतिविधिहरु सञ्चालन गर्नुपर्ने जरुरी रहन्छ ।

नेपालमा ठूला मुर्ति निर्माणमा आकर्षण बढ्दोः
पछिल्लो समय नेपालमा पनि ठूला मुर्तिहरु स्थापनाको लागि नेपाल सरकारले विशेष चासो लिइरहेको छ । धरानको भेँडेटार हाइटमा एउटा १ सय ५० फिट अग्लो मुर्ति निर्माणको लागि काम अघी बढेको छ । यसैगरी पोखरा, बुटबल, पाल्पा, जिरी, सोलुखुम्बु लगायतमा पनि १ सय फिट भन्दा माथिका मुर्तिहरु निर्माणको लागि योजना बनिरहेका छन् । यसलाई हेर्दा नेपालमा पनि ठूलो साइजका मुर्तिहरु निर्माण कार्यमा राज्य पक्ष तथा सामाजिक अभियन्ताहरुको ध्यान आकर्षित भएको बुझ्न सकिन्छ । भौगोलिक अवस्थितिको हिसाबले विविधिकरण रहेको नेपालमा आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धनको लागि यस किसिमका मुर्ति एवं मन्दिरहरुको स्थापनाले ठूलो सहयोग पुर्याउने अपेक्षा गर्न सकिन्छ ।

जन्म र शिक्षाः
वि.सं २०२३ साल भाद्र ११ मा काठमाडौंमा जन्मिनुभएका शाक्यले वि.सं २०४० मा एसएलसी तह पूरा गर्नुभएको हो । आफ्नो काम इन्जिनियरिङसँग समेत सम्बन्धित रहेको कारण आफूमा इन्जिनियर बन्ने चाहना भएपनि आफ्नो कामको व्यस्तताले गर्दा आफ्नो रहरको इन्जिनियरिङ शिक्षा हुन त सकेन । यद्यपि आफ्नो कार्यसँग सम्बन्धित आर्किटेक्ट सम्बन्धी लिएको छोटो अवधिको तालिमले उहाँलाई निकै ठूलो सहयोग पुर्याएको छ । अहिले लाग्छ, लामो समयको औपचारिक शिक्षाबाट भन्दा पनि छोटो समयको सीपमूलक तालिम र कार्यअनुभवले नै मानिसलाई आफ्नो क्षेत्रमा दक्ष बनाउनमा निकै ठूलो सहयोग पुर्याउँदो रहेछ ।

व्यावसायिक शुरुवातका बर्ष
आफू यस क्षेत्रमा प्रवेश गर्ने समयमा नेपालका बौद्ध, स्वयम्भू लगायतका क्षेत्रहरुमा गुम्बाहरु निर्माण हुने कार्य भर्खर शुरु भएको थियो । सोहीकारण ती दिनहरुमा मानेहरुको राम्रो माग थियो । बजार मागलाई लक्षित गरेर नै शाक्य परिवार बढी मात्रामा माने उत्पादनमा नै सक्रिय रहन्थ्यो । त्यस समयमा आफुहरुले निर्माण गरेका माने र मुर्तिहरु काठमाडौंको अलावा पोखरा, मनाङ, मुस्ताङ लगायतमा समेत त्यति नै माग हुने गर्थे । यसैगरी व्यावसायिक दौरानमा शाक्य आफूलाई मन्दिरका मुर्ति, गजुर, छाना लगायतका वस्तुहरु निर्माणमा पनि त्यत्तिकै पोख्त बनाउनुभयो । काठमाडौंका चर्चित मन्दिरहरु बौद्ध, स्वयम्भु, पशुपति, गुह्येश्वरी लगायतमा उहाँले निर्माण गरेका मुर्तिहरु जडान गरिएका छन् ।

संघसंस्थामा आवद्धताः
नेपाल हस्तकला महासंघका सदस्य रहनुको अलावा उहाँ सुमेरो कला ग्रामका अध्यक्ष समेत हुनुहुन्छ । हाल यस संस्थामा १ सय जना भन्दा बढी कलाकर्मी व्यवसायीहरु संलग्न हुनुहुन्छ । यस संस्थामा ६ विधाका कलाकर्मीहरु आवद्ध हुनुहुन्छ । जसअन्तरगत २ किसिमका धातुकला छन् । एउटा पाता उठाएर मुर्ति बनाउने कला हो भने अर्को ढालेर मुर्ति बनाउने कला । यसको अलावा काष्ठकला, पेन्टिङ (चित्रकला), मुल्यवान धातु सम्बन्धी जराउकला र प्रस्तर कलामा आवद्ध व्यवसायीहरु संलग्न हुनुहुन्छ ।

आवश्यकता बनेको छ आर्ट भिलेज
नेपाल परम्परागत काल देखि नै कलाकृतिमा राम्र्रो सम्भावना बोकेको मुलुकको रुपमा स्थापित भएपनि अहिले सम्म यहाँका कलाकृतिलाई संरक्षण र प्रवद्र्धनको लागि राज्य पक्षबाट कुनै विशेष सम्बोधन हुन सकेको छैन । पाटन औद्योगिक क्षेत्र हस्तकला उत्पादन र प्रवद्र्धनकै उद्देश्यले स्थापना गरिएको भएपनि त्यहाँ अहिले अधिकांश अन्य किसिमका उद्योगहरु नै बढी मात्रामा सञ्चालनमा छन् । नेपालमा हस्तकला क्षेत्र राम्रोसँग विकास नभइसकेको कारण अन्य उद्योगहरु त्यहाँ स्थापित हुन पुगे । तैपनि अब अलग्गै हस्तकला ग्राम स्थापनाको लागि राज्यले उपयुक्त व्यवस्था गर्नु जरुरी छ ।

बस्ती बीच उद्योग चलाउनुपर्दा
छोटो समयको लागि जग्गा भाडामा लिएर काम गर्नुपर्दा र बस्ती बीच उद्योग सञ्चालन गर्दा उद्योगबाट निस्कने आवाजले वरपरका स्थानीयहरुलाई असर पुर्याउन सक्छ । यसको आवाजले स्थानीयहरुलाई असर पारेको भनी गुनासो बढेसँगै शाक्यले आफ्नो उद्योगको सबै बाह्य भागमा साउण्डपु्रफ सिस्टम जडान गर्नुभएको छ । यो सिष्टम जडान कार्य आफैंमा अत्यन्तै महँगो समेत छ । सबै मुर्तिकला व्यवसायीहरु यसरी साउण्ड प्रुफ सिष्टम जडान कार्यमा सक्षम छैनन् । यसकारण यो समस्या सम्बोधन गर्न राज्य पक्षले विशेष भूमिका निर्वाह गर्नु जरुरी छ ।

आफ्नो सफलता बारे यसो भन्नुहुन्छ शाक्य
निजी क्षेत्रको प्रतिनिधित्व गर्दै सफल व्यवसायीको रुपमा पहिचान बनाउनुभएका शाक्य आफ्नो सफलताको पछाडि दृढ आत्मविश्वास र स्पष्ट योजना नै दीर्घकाल सम्म कर्मशिल बनाउनको लागि आन्तरिक रुपमा प्रेरित गर्ने तत्वहरु भएको स्पष्ट पार्नुहुन्छ । यसको अलावा सफल हुनको लागि बाह्य रुपमा आवश्यक पर्ने तत्वहरुलाई पनि शाक्यले यसरी व्यक्त गर्नुहुन्छ ।

यी हुन् सफल हुन आवश्यक ४ तत्वहरु
हरेक व्यक्ति सफल बन्न चाहन्छ । तर सबैको सफलता एकै किसिमको हुँदैन । मुर्तिकलामा सफल बन्नको लागि निम्न गुण अत्यन्तै आवश्यक रहन्छन् ।
क) कलामा निपुर्णता
ख) इन्जिनियरिङ ज्ञान
ग) व्यवस्थापन कला
घ) प्राविधिक पक्षमा दक्षता

एउटा कलाकारले यी सबै पक्षहरुलाई आफैंले राम्रोसँग व्यवस्थित गर्न सकेको खण्डमा मात्र उसले चाहेको सफलता हासिल गर्न सक्छ । कतिपय अवस्थामा तत्काल उचित निर्णय लिनुपर्ने आवश्यकता पनि हुन्छ । सही निर्णय लिन नसकेमा वा तत्काल निर्णय लिन आलटाल गरेमा त्यसले ठूलो नोक्सानी हुनुको अलावा दूरगामी असर समेत पार्न सक्छ । हरेक सफल व्यक्ति समयवद्ध हुनुपर्छ । इमान्दार हुनुपर्छ । आफूसँग सम्बन्धित सबै कुराहरुलाई सन्तुलनमा राख्न सकिएन भने पनि त्यसले प्रत्येक क्षण समस्याहरु निम्त्याउन सक्छ । यस्तो परिस्थितिबाट बच्न समयमा नै सतर्कता अपनाउनुपर्छ ।

आफूले भोग्नुपरेको एक समस्या कसरी समाधान गर्न सक्यौं भन्ने सम्बन्धमा शाक्य भन्नुहुन्छ, ‘भुटानमा मुर्ति स्थापना गर्दा हामीले फिटिङ गर्ने क्रममा निकै समस्या भोग्नुपर्यो । मेसिन भएर पनि त्यसको सही प्रयोग गर्न नजान्दा र जङ्गल एवं भौेगोलिक अवस्थितिको कारण सहज रुपमा मुर्ति स्थापना गर्न नसक्दा वैकल्पिक उपायको रुपमा विजुलीका पोल गाड्ने तरिका अपनाएर हामीले त्यो काम सफल पार्न सकेका थियौं । सबै अवस्थामा प्राविधिक ज्ञानले मात्रै समस्या समाधान नहुन सक्छन् । त्यस्तो अवस्थामा उपयुक्त वैकल्पिक उपाय बारे सोच्न सक्नुपर्छ । जुन व्यावसायिक सफलताको लागि निकै महत्वपूर्ण हुने गर्छ ।’

अन्त्यमा,
अहिलेको समयमा सफलता प्राप्त गर्न चाहने व्यक्तिले आफूलाई हरेक क्षण अपडेट गराउन सक्नुपर्छ । विश्वमा आफू संलग्न क्षेत्रमा के–कस्ता प्रविधिहरु विकास भएका छन् भन्ने कुरालाई विचार गर्दै सोही बमोजिम आफ्ना गतिविधिहरु अघी बढाउनुपर्छ ।

नेपाली कला र सीपलाई विश्व बजारमा थप विस्तारको लागि आफूहरु निरन्तर लागिरहनुभएका शाक्य आगामी दिनमा कला, सीप, संस्कृति र पर्यटन लगायतका आपसी अन्तरनिर्भर पक्षहरुलाई एकीकृत रुपमा सहज तवरले अघी बढाउन सकेमात्र हामीले चाहेको समृद्धिको लक्ष्य हासिल गर्न सकिनेमा शाक्य विश्वस्त हुनुहुन्छ । हामीले चाहेको समृद्धि हासिल गर्नको लागि निर्यातमा आधारित हस्तकला क्षेत्रले पनि महत्वपूर्ण योगदान दिन सक्नेमा समेत शाक्य विश्वस्त हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij