
काठमाडौं । भक्तपुरकी सुमित्रा थापा सामाजिक काममा संलग्न रहँदै आएकी महिला हुन् । नेपाली महिलाहरुको आवाज नामक संस्थाको नेतृत्व गर्दै आएकी सुमित्रा मूलतः महिला एवं बालबालिकाहरुको लागि काम गर्दै आएकी छिन् ।
अघिल्लो बर्ष मात्रै उनले यही शहरको एउटा बस्तीमा आमावुवा गुमाएका क्रमशः ५ बर्ष र ११ बर्षका दुई छोरीहरुलाई आफ्ना ६८ बर्षका हजुरबुबासँग (एकल पुरुष) सार्वजनिक स्थलमा फेला पारिन् । सहाराविहीन उनीहरु बेवारिसे अवस्थामा भेटिएका थिए ।
हजुरबुबा सहित भेटिएका सहाराविहीन ती २ बालिकाहरुलाई देखेर उनलाई करुणा जाग्यो । अप्ठ्यारो अवस्थामा भेटिएका उनीहरुको कल्याण र लालनपालनलाई आफ्नो मानवीय दायित्व सम्झिएर उनी आफैंले हुर्काउने प्रण गरिन् ।
अहिले पनि ती दुई नाबालिकाहरुलाई सुमित्राले आफ्नै छोरी सरह पालनपोषण गर्दै आएकी छिन् । ती छोरीहरु पनि अहिले सुमित्रासँग रहन पाएकोमा अत्यन्तै खुसी छन् ।
सामाजिक गतिविधिहरुमा चासो राख्ने सुमित्राले आफ्नो आश्रयमा रहेका नाबालक महिलाहरुलाई व्यावहारिक ज्ञान समेत प्रदान गर्दै आएकी छिन् । आफ्नै पौरखमा बाँच्न सक्ने अवस्था सृजना नहुँदा सम्म ती नाबालक महिलाहरुका सबै आधारभूत आवश्यकता पुर्ति हुने गरी आफैंले हुर्काउने बताउँछिन् सुमित्रा ।
समाजसेवामा रमाउने सुमित्रा सामाजिक उत्तरदायित्व निर्वाह गर्ने कार्यमा स्वतःस्फूर्त संलग्न हुनुपर्ने मान्यता राख्छिन् ।
समाजमा सबैको अवस्था, योग्यता, आर्थिक हैसियत र सफलता एकै किसिमको नहुने भएकोले आफू भन्दा कमजोर अवस्थामा रहेका व्यक्तिहरुको भलाई हुने काममा लाग्नुपर्ने उनको मान्यता छ । उनी भन्छिन्, ‘मेरो सानो सहयोगबाट यदि कसैको ठूलो उपकार हुन्छ भने म त्यसलाई आफ्नो सम्झन्छु ।’

सबैले आफ्नो क्षमता बमोजिमको दायित्व पूरा गर्ने हो भने समाजका अशक्त र सहाराविहीनहरुको उद्धार हुन सक्छ । उनीहरुलाई कुनै सीपमूलक काममा संलग्न गराउन सके उद्यमशिलता प्रवद्र्धनमा समेत सहयोग पुग्छ । समाज आपसी सद्भाव र प्रेमबाट नै सभ्य र सुसंस्कृत बन्न सक्छ भन्ने कुरा सबैले बुझ्नुपर्ने थापाको धारणा छ ।
सुमित्रा आफ्नो गाउँ, टोल र छिमेक वा सेरोफेरोमा भेटिने व्यक्तिहरुको लागि आफ्नो तर्फबाट जे सकिन्छ त्यो सहयोग गर्नुपर्छ भन्नेमा अन्य व्यक्तिहरुलाई पनि उत्प्रेरित गर्छिन् । आफैंले पूर्ण व्यवस्थापन गर्न नसकिने अवस्थामा अन्य संघसंस्थाहरुको सहकार्यमा समेत उनीहरुको संरक्षण गरेर आफ्नो मानवीय दायित्व पूरा गर्नसकिने उनको बुझाई छ ।
विभिन्न सामाजिक क्रियाकलापमा संलग्न रहिरहँदा आफूबाट केही अन्य व्यक्तिहरु पनि सामाजिक कार्यमा उत्प्रेरित भएको बताउँछिन् सुमित्रा ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij