
गिरिजा खत्री, काठमाडौं । तारकेश्वर नगरपालिका वडा नं. ८ शान्तिटोल स्थित चिल्ड्रेन हेराल्ड एकेडेमीका विद्यार्थीहरुले हालै सोही नगरपालिकाका नगर प्रमुख रामेश्वर बोहोरासँग समसामयिक विषय “योजनाबद्ध शहरीकरणः देश विकासको परिकल्पना” शीर्षकमा अन्तरक्रिया गरेका छन् ।
विद्यालयको सभाहलमा उपस्थित भई नगरप्रमुख बोहोराले विद्यार्थीहरुले उठाएका प्रश्नहरुको सहज ढंगबाट जवाफ दिँदै विद्यार्थीहरुको जिज्ञासा र प्रश्नहरुको स्तरीयतालाई खुलेर प्रशंसा गर्नुभएको थियो ।
विद्यार्थीहरुले बढ्दै गरेको शहरीकरणको परिवेशमा तारकेश्वर नगरपालिकाको भावी योजना, चालेका कदमहरु, आइपरेका र आइपर्न सक्ने समस्याहरु, ट्राफिक व्यवस्थापन, खोलानाला÷नदीको सरसफाई, ढल व्यवस्थापन, नगरबासीलाई आवश्यक पर्ने सुविधाहरु, विकासका योजना लगायत विभिन्न समसामयिक विषयमा जिज्ञासाहरु नगर प्रमुख बोहोरा समक्ष राखेका थिए। करिब २५० जना विद्यालयको सभा हलमा उपस्थित विद्यार्थीहरुको स्वतःस्फूर्त जिज्ञासाहरुलाई नगर प्रमुख बोहोराले करिब २ घण्टा भन्दा बढी समय दिएर विद्यार्थीहरुले बुझ्ने गरी सरल भाषामा खुलेर जवाफ दिएका थिए ।
यो अन्तक्र्रिया कार्यक्रम चिल्ड्रेन हेराल्ड एकेडेमीले ब्रिटिस काउन्सिलबाट संचालित अन्तर्राष्ट्रिय विद्यालय अवार्डको चौथो परियोजना कार्य अन्तर्गत प्राइभेट पब्लिक विद्यालयको साझेदारी कार्यक्रमलाई समेत समेट्ने गरी सञ्चालन गरिएको हो । जसअन्तरगत सोही नगरपालिकामा संचालित सामुदायिक विद्यालय पृथ्वीनारायण स्कुलका विद्यार्थीहरुलाई समेत सहभागी गराइएको थियो ।
नगर प्रमुख उपस्थित उक्त कार्यक्रममा चिल्ड्रेन हेराल्ड एकेडेमीका प्रिन्सिपल कमल प्रसाद ज्ञवाली, विद्यालय संचालक अध्यक्ष विनोद चापागाइ, कार्यकारी प्रमुख दिपक खड्का, दुवै विद्यालयका शिक्षक, शिक्षिकाहरु लगायत व्यक्तित्वहरुको उपस्थिति थियो ।
अमाइटी युनिभर्सिटीले प्रदान गरेको अन्तर्राष्ट्रिय विद्यालय अवार्डमा उत्कृष्ट विद्यालय व्यवस्थापन अवार्ड–२०१९’ बाट पुरस्कृत उक्त विद्यालयले हरेक वर्ष विद्यार्थीहरुलाई विभिन्न नयाँ–नयाँ सिर्जनशील कार्यक्रममा सहभागी गराइरहन्छ ।
कोभिड – १९ को असरको कारण लामो समय सम्म भौतिक रुपमा बन्द रहेको विद्यालयले अनलाइन कक्षा मार्फत पनि विभिन्न गतिविधिहरुमा विद्यार्थीहरुलाई सहभागी गराउँदै अहिले भौतिक रुपमा विद्यालय संचालन भइसकेपछि विद्यार्थीहरुलाई दैनिक पठनपाठनका साथमा अन्य गतिविधिहरुमा समेत सरिक गराउँदै आएको कुरा विद्यालयका प्रिन्सिपल कमल प्रसाद ज्ञवालीले बताउनुभयो । विद्यार्थीहरुको चौतर्फी विकासमा विद्यालयले विशेष जोड दिँदै आएको समेत उहाँले बताउनुभएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij