काठमाडौं । ग्यास बिक्रेता महासंघ नेपालको शनिवार काठमाडौंमा सम्पन्न सातौं बार्षिक साधारणसभा तथा चौथो महाधिवेसनबाट ज्ञानेश्वर अर्यालको नेतृत्वमा २९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । महासंघका पूर्वअध्यक्ष समेत रहेका अर्याल नेतृत्वको यस कार्यसमिति प्रति व्यावसायिक हकहितको लागि व्यापक पहल हुनेमा ग्यास व्यवसायीहरु निकै नै आशावादी छन् ।
माननीय उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टको प्रमुख आतिथ्यता एवं महासंघका तत्कालिन अध्यक्ष महेश्वर श्रेष्ठको सभापतित्वमा सम्पन्न महाधिवेसनसँगै गठन भएको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा चन्द्र थापा दोहोरिएका छन् । यसैगरी उपाध्यक्षमा अर्जुन खत्री, राम प्रसाद ज्ञवाली, गणेश झा, विष्णु दुलाल र तेजराज श्रेष्ठ चयन भएका छन् ।
महासचिव र कोषाध्यक्षमा क्रमशः विनोद काफ्ले र राजेश दाहाल दोहोरिएका छन् । सचिवमा लाल बहादुर केसी र सहकोषाध्यक्षमा कृष्णराज खतिवडा चयन भएका छन् ।
ग्यास व्यवसायमा संलग्न व्यवसायीहरु समेटिएको महासंघले विद्यमान कमिसनले आफूहरुको खर्च धानिन गाह्रो पर्दै आएको र लगानी बमोजिम व्यवसायबाट आत्मनिर्भर हुन सक्ने अवस्था नरहेको भन्दै कमिसन वृद्धिको माग गर्दै आएका छन् । लगानीको कम्तीमा ६ प्रतिशत कमिसनको माग आफूहरुले गर्दै आएको वरिष्ठ उपाध्यक्ष चन्द्र थापाले बताए |
यसको अलावा महासंघले ग्यास प्रयोग गर्दा हुनसक्ने सम्भावित जोखिम र दुर्घटना न्यूनीकरणको योजना सहित देशैभर जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको उपाध्यक्ष विष्णु दुलाल बताउँछन् |
अहिले निर्वाचित महासंघ कार्यसमितिले देशभर संगठन विस्तार गर्नुपर्ने ग्यास उपलब्ध गराउन नसक्ने कम्पनीका सिलिण्डर फिर्ताको व्यवस्था गर्न पहल गर्नुपर्ने, नयाँ डिलर विस्तार गर्दा महासंघकोे अनिवार्य उपस्थिति रहने गरी व्यवस्था मिलाउनुपर्ने लगायतका दायित्व रहेको महासंघका अर्का उपाध्यक्ष अर्जुन खत्री बताउँछन् । महासंघले उपभोक्ता एवं व्यावसायिक हकहितको लागि गर्नुपर्ने कामहरु प्रशस्तै रहेको बताउँदै उनले गुणस्तरीय ग्यासजन्य सामानहरुको बिक्रीवितरणलाई देशैभर अभियानको रुपमा अघी बढाउनुपर्ने, ग्यास व्यवसायमा संलग्न व्यवसायी र कर्मचारीको जीवन वीमाको लागि आवश्यक पहल गर्नुपर्ने, हाल ग्यास व्यवसायमा रहँदै आएको ५० लाखको थ्रेसहोल्डलाई बढाएर १ करोड पुर्याउन पहलकदमी लिनुपर्ने लगायतका थुप्रै जिम्मेवारी समेत रहेको बताए । साथै प्राथमिकताको आधारमा ती गतिविधिहरुलाई सम्पन्न गर्न महासंघ निरन्तर अघी बढ्नुपर्ने समेत समेत उनले बताए।
लामो समय देखि महासंघ नेतृत्वमा रहँदै आएका जागरुक व्यक्तिहरु समेटिएको यस कार्यसमितिले यी योजनाहरु सफल पार्नेमा व्यवसायीहरु आशावादी छन् । नवनिर्वाचित कार्यसमितिलाई सेतोघर डट कम परिवार पनि हार्दिक स्वागत एवं सफल कार्यकालको लागि शुभकामना समेत प्रकट गर्दछ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij