सविता महर्जन, कार्यसमिति सदस्य, नेपाल हस्तकला महासंघकुनै दिन सविता शिक्षिका थिइन् । व्यावसायिक क्षेत्र उनको पृष्ठभूमि थिएन । सोहीकारण उद्यमशिल गतिविधिमा संलग्न हुने क्रममा उनले थुप्रै आरोहअवरोहहरु व्यहोर्नुपर्याे । सानै उमेरमा विवाह गरेर आएकी उनले माइतीमा रहँदा घरव्यवहार केही जानेकी थिइनन् । आफ्नो घरको वातावरण उद्यममैत्री नभइ चुल्होचौकामा मात्रै अल्मलिनुपरेको भए सविता आफू यो अवस्थामा आउन नसक्ने बताउँछिन् । सोहीकारण प्रोत्साहन र वातावरण सफलताको लागि निकै महत्वपूर्ण हुने उनको बुझाई छ । जो जुन ठाउँमा भएपनि आफूसँग भएको सीपको आधारमा त्यहीँबाट माथि उठ्नको लागि उनले महिला दिदीबहिनीहरुलाई आग्रह गर्छिन् ।
सविताको व्यावसायिक यात्रा
आफ्ना छोराछोरी हुर्कँदै गएसँगै सविता आफ्नो कामलाई व्यावसायिक तवरले सञ्चालन गर्नुपर्ने मान्यतामा पुगिन् । सोहीबमोजिम उनी निरन्तर उद्यमशिलता प्रति समर्पित हुँदै गइन् । अहिलेको उनको व्यावसायिक स्थिति त्यसैको परिणाम हो ।
शुरुका दिनमा जतिबेला सविता कपडा उत्पादन कार्यलाई व्यावसायिक बनाउनुपर्ने निर्णय सहित पाइला अघी बढाइन्, त्यति बेलासम्म उनलाई आफूले उत्पादन गर्ने सामानहरुको गुणस्तर बारे जानकारी थिएन । आफूले उत्पादन गरेका कपडा धुँदा ४–५ इन्च सम्म घट्थे । त्यसबेला उनलाई २ सय पिस कपडाको अर्डर पनि आयो तर उनले गुणस्तरीयता कायम गर्न भने सकिनन् । जसले गर्दा आफूले ठूलो घाटा व्यहोर्नुपरेको सविता स्मरण गर्छिन् ।
केही समय कपडा उत्पादन कार्य स्थगन गरेतापनि सोही कार्यलाइ पुनः निरन्तरता दिइन् । बिस्तारै सामानको गुणस्तरीयता बारे जानकारी हुँदै गयो । अहिले सवितालाई लाग्छ, हरेक काम गर्दै जाँदा सिक्न सकिँदो रहेछ । सफलताको लागि पारिवारिक वातावरणले महत्वपूर्ण भूमिका खेल्दो रहेछ । अहिले उनले अन्तर्राष्ट्रिय बजारको आवश्यकता महसुस गरेर सोहीबमोजिम उच्च गुणस्तरीय कपडाहरु उत्पादन गर्ने क्षमता राख्छिन् । 
स्वदेशमा पनि माग बढ्दो
आफूले उत्पादन गरेका कपडा बाह्य बजारमा मात्र नभई नेपालमा समेत खपत हुने गर्छन् । आफूले पूर्ण रुपमा कटनबाट निर्माण गरेका कपडाहरु कतिपय मन्त्रीहरुको रोजाईमा समेत पर्ने गरेका छन् । यसरी उच्चपदस्थ व्यक्तिहरुले आफ्ना उत्पादन प्रयोग गरेको र स्वदेशमा समेत माग बढ्दो क्रममा रहेकोमा सविता खुसी महसुस गर्छिन् । अहिले सम्म आइपुग्दा कपडा किन्न चाहने कतिपय व्यक्तिहरु आफ्नो उद्योगको ट्याग नै हेरेर समेत आउनेहरु पनि थुप्रै छन् । कुनै दिन लगनशिलतापूर्वक अघी बढाएको व्यावसायिक पाइलाले अहिले यो अवस्थामा प्रतिफल दिन सक्छ भन्ने नसोची निरन्तर सङ्घर्ष गर्दाको उचित पुरस्कार सम्झेर सवितालाई यसले औधी खुसी मिल्छ । साथै अझ अघी बढ्नको लागि प्रोत्साहन समेत प्राप्त हुन्छ । अहिले सविताले आफ्नो उद्योगबाट १५–१६ जना व्यक्तिलाई निरन्तर रोजगारी उपलब्ध गराउन सफल छिन् ।
व्यावसायिक क्षेत्र उनको पृष्ठभूमि थिएन । सोहीकारण उद्यमशिल गतिविधिमा संलग्न हुने क्रममा उनले थुप्रै आरोहअवरोहहरु व्यहोर्नुपर्याे । सानै उमेरमा विवाह गरेर आएकी उनले माइतीमा रहँदा घरव्यवहार केही जानेकी थिइनन् । आफ्नो घरको वातावरण उद्यममैत्री नभइ चुल्होचौकामा मात्रै अल्मलिनुपरेको भए सविता आफू यो अवस्थामा आउन नसक्ने बताउँछिन् ।
आगामी योजना
नेपाली महिलाहरुलाई कसरी उद्यमी बनाउन सकिन्छ ? भन्ने सम्बन्धमा सविता चिन्तारत रहन्छिन् । कुनै व्यावसायिक गतिविधिमा संलग्न हुनको लागि बैंकबाट कर्जा लिनुलाई स्वभाविक रुपमा नै लिइन्छ । तर अहिलेको कोरोना महामारीले गर्दा कर्जा लिएको रकमको व्याज समेत आफ्नो व्यवसायबाट तिर्न नसक्ने अवस्था छ । यस्तो अवस्थामा सम्पूर्ण महिलाहरुको आर्थिक अवस्था माथि उठाउनको लागि के–कसरी काम गर्न सकिन्छ भन्ने सम्बन्धमा उचित निष्कर्ष सहित अघी बढ्नुपर्ने सविताको धारणा छ ।
नेपाल हस्तकला महासंघकी कार्यसमिति सदस्य समेत रहेकी सविताले महासंघमा महिला लिगको नेतृत्व गरेकी छिन् । सोहीकारण उनले फागुन ७, ८ र ९ गते महिलाहरुका उत्पादनहरुको प्रदर्शनी आयोजना गर्दैछिन् । उक्त मेला लगनखेल बसपार्कमा सञ्चालन हुनेछ ।
महिलाहरुको लागि जोड
नेपाल हस्तकला महासंघले आफ्ना गतिविधिहरु मुख्यतः काठमाडौं उपत्यकालाई नै केन्द्रित गरेर सञ्चालन गर्दै आएको छ । तर नेपालमा उत्पादन हुने हस्तकलाजन्य सामानहरु काठमाडौंमा मात्र उत्पादन हुँदैनन् । महिलाहरुले विभिन्न ठाउँमा अलग पहिचान भएका परम्परागत सामानहरु पनि उत्पादन गर्दै आएका छन् । तर ती सामानहरुको राम्रो पहिचान भने बन्न सकेको छैन । साथै केही गर्न चाहने जाँगर र चाहना भएका तर हातमा सीप र योजना नभएका वा आर्थिक एवं अन्य प्राविधिक कारणले उद्यमशिलतामा नजोडिएका महिलाहरु पनि ठूलो मात्रामा छन् । उनीहरुलाई प्रोत्साहन वा अन्य सहयोग उपलब्ध गराउन सकेको खण्डमा उनीहरुको जीवनले नयाँ मोड पाउन सक्छ भन्ने कुरामा सविता दृढनिश्चयी छिन् । सोहीकारण उपत्यका बाहिरका थुप्रै जिल्लाहरुमा सविता विभिन्न कार्यक्रमहरुमा सक्रिय हुन्छिन् ।
नेपाल सरकारले स्वदेशी उत्पादन तुलनात्मक रुपमा १५ प्रतिशत महँगो नै भएपनि स्वदेशी नै प्रयोग गर्नुपर्ने नीति लिएको छ । भर्खरमात्रै यसको शुरुवात केही मन्त्रीहरुबाट भएको छ ।
महिलालाई उद्यमशिल बनाउने पहल
नेपालका विभिन्न जिल्लाका ग्रामीण भेगमा सविता आफैं पुगेर त्यहाँका स्थानीय महिलाहरुलाई उद्यमशिलताको महत्व बुझाउँछिन् । आफ्नो उद्यमशिल यात्रा र जीवनमा भोग्नुपरेका उतारचढावहरुको माध्यमबाट महिलाहरुलाई जागरुक गराउँछिन् । महिला आत्मनिर्भर हुनुपर्ने आवश्यकता बोध गराउँछिन् । ठाउँ र परिवेश बमोजिम त्यहाँ सञ्चालन गर्न सकिने उद्यमशिल गतिविधिहरु बारे जानकारी गराउँछिन् । उद्यमशिलताको दिशामा कसरी पाइला अघी बढाउने भन्ने पाठ सिकाउँछिन् । स्रोतसाधन र लगानी व्यवस्थापनबारे पनि जागरुक गराउँछिन् । अहिले आफूले सिकेको सीप र हासिल गरेको ज्ञान एवं अनुभव साट्न पाउँदा उनलाई औधी रमाइलो लाग्छ । अन्य विभिन्न ठाउँहरुमा समेत महिलाहरुलाई तालिम प्रदान गर्नको लागि विभिन्न संस्थाहरुको सहकार्यमा यस किसिमका तालिमहरु सञ्चालन गर्ने कार्यमा सविता नेतृत्वको टीमले कार्य गर्दै आएको छ ।
स्वदेशी उत्पादनमा जोड
नेपाल सरकारले स्वदेशी उत्पादन तुलनात्मक रुपमा १५ प्रतिशत महँगो नै भएपनि स्वदेशी नै प्रयोग गर्नुपर्ने नीति लिएको छ । भर्खरमात्रै यसको शुरुवात केही मन्त्रीहरुबाट भएको छ । जुन सकारात्मक पक्ष रहेको सविताको बुझाई छ । आफ्नो उद्योगबाट उत्पादन हुने कटनका कपडाले शरीरको तापक्रमलाई सन्तुलनमा राख्ने भएकोले नेपालीहरुले समेत कपडा कपडा मन पराइरहेको सविता तर्क गर्छिन् । आगामी दिनमा कटनबाट बनेका कपडाको बजार नेपालमा समेत बढ्ने क्रममा नै रहेको देखिन्छ ।
कपडा उत्पादनको प्रक्रिया
विगतमा नेपालकै बुटवल धागो उद्योगबाट उत्पादन हुने धागो प्रयोग गर्ने प्रचलन थियो । अहिले उक्त उद्योग बन्द रहेकोले धागो भारतबाट ल्याउनुपर्ने अवस्था छ । सविताले धागो बेर्नको लागि २ ओटा मेसिन प्रयोगमा ल्याएकी छिन् । विगतमा भने चर्खाबाट धागो बेर्नुपर्ने अवस्था थियो । हातले बुन्ने तान पनि उनले राखेकी छिन् । ६ आना क्षेत्रफलमा फैलिएको छ उनको उद्योग । कपडा उद्योगको लागि ठूलो ठाउँको आवश्यकता नपर्ने उनी बताउँछिन् । आगामी दिनमा भने आफ्नो उद्योगको क्षमता विस्तार गर्दै लैजाने योजनामा सविता छिन् ।
राज्यको सकारात्मक पहल
भर्खरमात्रै महिलाहरुले सञ्चालन गर्ने उद्योगको लागि ३ प्रतिशत र ५ प्र्रतिशत व्याजदरमा कर्जा उपलब्ध गराउने नीति राज्यले लिएको छ । उक्त नीति कार्यान्वयनमा आउन सकेको खण्डमा त्यसले महिलाहरुको अवस्था सुधार्नको लागि राम्रो सहयोग पुग्नेमा सविता आशावादी छिन् । हाल ललितपुरको महालक्ष्मी नगरपालिकामा उद्योग सञ्चालन गर्दै आएकी सविता उक्त नगरपालिकाले ३ लाख रकम सम्म बिना व्याजमा रकम लगानी गर्ने योजना ल्याएकोले आफूहरुलाई खुसी लागेको बताउँछिन् ।
आफूलाई जानकारी नभएको काममा लाग्दा कहिलेकाहीँ आरोहअवरोह पनि व्यहोर्नुपर्दोरहेछ । पुँजी डुबेपनि आत्मविश्वास बलियो हुने हो भने पुनः माथि उठ्न सकिन्छ भन्ने कुरा महिला दिदीबहिनीहरुले बुझ्नुपर्छ । पुँजी भन्दा महत्वपूर्ण कुरा ज्ञान, सीप र अनुभव हो । उद्यमशिलताको दिशामा अघी बढ्न चाहने सबै व्यक्तिले यसलाई मूल मन्त्रको रुपमा आत्मसात् गर्नुपर्छ ।
सविताको व्यावसायिक शुरुवाती अवस्था
पहिलो चरणमा राम्रो गुणस्तरमा सामानहरु उत्पादन गर्न नसकेको कारण घाटा व्यहोरेकी सविता आफ्नो कामलाई पुन गति दिने क्रममा आफूसँग भएका गरगहना बेचेर आएको करिब ५० हजार रकम लगानी गरेर आफनो व्यवसाय अघी बढाएकी हुन् । कपडा बेचेर मात्र हुँदैन, उत्पादनमा नै जानुपर्छ भन्ने मान्यताले उद्योगमा लाग्दा नोक्सानी समेत व्यहोर्नुपरेको कारण सविता बजार अध्ययन गर्ने उद्देश्यले केही बर्ष रोकिनुपर्याे । त्यस अध्ययनले गर्दा सवितालाई पुनः दोस्रो पटक असफलता झेल्नु परेन । शुरुकै चरणमा उद्योग चलाउने समयमा दैनिक थोेरै–थोरै रकम सहकारीमा संकलन समेत गर्थिन् सविता । त्यही बचतको आधारमा सहकारीबाट लिएको २० हजार कर्जा रकमले व्यवसायलाई गति दिन ठूलै सहयोग पुर्यायो ।
सविताले आफ्नो जीवनयात्राबाट सिकेको पाठ
आफूलाई जानकारी नभएको काममा लाग्दा कहिलेकाहीँ आरोहअवरोह पनि व्यहोर्नुपर्दोरहेछ । पुँजी डुबेपनि आत्मविश्वास बलियो हुने हो भने पुनः माथि उठ्न सकिन्छ भन्ने कुरा महिला दिदीबहिनीहरुले बुझ्नुपर्छ । पुँजी भन्दा महत्वपूर्ण कुरा ज्ञान, सीप र अनुभव हो । उद्यमशिलताको दिशामा अघी बढ्न चाहने सबै व्यक्तिले यसलाई मूल मन्त्रको रुपमा आत्मसात् गर्नुपर्छ । जुन सविताको जीवनभोगाईमा आधारित शिक्षा हो ।
नोक्सान हुने वस्तुलाई सम्भावनामा बदल्न सकिन्छ
केरा, अल्लो, काँस, बाँस, पराल, घाँस, लोक्ता लगायत जहाँ जे छ, त्यसलाई नै प्रयोग गर्दै कसरी दैनिक उपयोग्य वस्तु उत्पादन गर्न सकिन्छ भन्नेमा सविताले राम्रो ज्ञान हासिल गरेकी छिन् । आफूसँग भएको कच्चा पदार्थलाई प्रयोगमा ल्याएको खण्डमा कसैसँग पनि हात फैलाउनुपर्दैन भन्ने मान्यता राख्छिन् सविता महर्जन । प्राकृतिक रेसालाई उपयोगमा ल्याई उनले विभिन्न किसिमका कपडाहरु उनले उत्पादन गर्दै आएकी छिन् ।
अन्त्यमा
नेपाल सरकारले स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने किसिमका राम्रा नीतिगत व्यवस्था गरेको छ । महिलाहरु एवं समग्र उद्यमशिलतालाई माथि उठाउन अझ प्रभावकारी रुपमा ती नीतिहरु कार्यान्वयन गर्नुपर्ने जरुरी छ । माथिल्लो निकायसँग सिधा सम्पर्क भएका व्यक्तिले मात्र सुविधा उपभोग गर्न सक्ने स्थितिले समग्र मुलुकको हित हुन सक्दैन । यसकारण सबैले समान सुविधा उपयोग गर्ने नीति अङ्गिकार गर्नु जरुरी रहन्छ । यसबाट नै समग्र रुपमा हाम्रो अवस्था माथि उठ्न सक्ने र मुलुक साँच्ची उद्यमशिल दिशामा अघी बढ्न सक्ने सविताको ठहर छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij