२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

वरिष्ठ सङ्गीतकार शक्ति बल्लभलाई विशेष सम्मान

वरिष्ठ सङ्गीतकार शक्ति बल्लभलाई विशेष सम्मान

काठमाडौं । गायक नवीन कार्कीको नयाँ एवं पुराना गीत समेटिएको श्रव्य सङ्ग्र्रह ‘नवीन’को शनिवार एक समारोह बीच सार्वजनिक गरिएको छ ।

नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले सो एल्बम सार्वजनिक गर्नुभएको हो ।

लोक तथा आधुनिक गरी ८ वटा गीतहरू रहेको ‘नवीन’ सङ्ग्रहमा स्वर्गीय रत्न सम्शेर थापा, ज्ञानुवाकर पौडेल, डाक्टर राजुबाबु श्रेष्ठ, देवेन्द्र केसी ‘देबु’, रमेश दाहाल र पुष्करराज बुढाथोकीको रचना रहेका छन् । विमोचित सङ्ग्रहमा वरिष्ठ संगीतकार शक्तिवल्लभ, गुरूदेव कामत साथै चर्चित गायक एवं संगीतकार राजनराज सिवाकोटीको सङ्गित छ ।

तारा कार्कीको सभाध्यक्षतामा सम्पन्न सार्वजनिकीकरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले समाज र व्यवस्था परिवर्तन गर्न गीत सङ्गीतको भूमिका प्रभावकारी रहने बताउनुभयो ।

कार्यक्रममा बोल्दै उहाँले सरकारले अघि सारेको ‘समृद्ध नेपाल ः सुखी नेपाली’ अभियानलाई कसैले अलमल्याउन नसक्ने समेत बताउनुभयो । उहाँले यो राष्ट्रिय आकाङ्क्षाको लक्ष्यमा पुग्न सरकार सक्रिय रहेको र यो अभियानमा सबै नेपाली एकजुट हुनुपर्नेमा समेत जोड दिनुभयो । साथै हरेस नखाई अघि बढ्नुपर्ने धारणा समेत व्यक्त गर्नुभयो ।

उहाँले कार्कीको गायन यात्राको निरन्तरताको कामना गर्दै कार्कीको यात्राले नेपाली सांगीतिक दुनियामा छुट्टै छाप छोड्न सफल होस् भन्ने कामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा वरिष्ठ सङ्गीतकार शक्ति बल्लभले भाषा सङ्गीत बाँचेसम्म गायक कार्कीको गला र कला बाँच्ने बताउँदै भौतिक सम्पत्ति क्षणिक भए पनि सङ्गीत कलाको आयु अनन्त रहेको बताउनुभयो । उहाँले कार्कीको गायन कला गहन र मन छुने रहेको बताउनुभयो ।

गीतकार संघका पूर्व अध्यक्ष चूडामणि देवकोटाले गायक कार्की अमरताको यात्रामा लाग्नुभएको भन्दै स्रष्टा कहिल्यै भूतपूर्व नहुने बताउनुभयो । कार्यक्रममा लोकप्रिय सङ्गीतकार तथा गायक राजनराज सिवाकोटी, गीतकार देवेन्द्र केसी देबु, बिज्ञापन बोर्डका सदस्य एवं अग्रज पत्रकार बलराम थापा, राष्ट्रिय ज्येष्ठ नागरिक कोषका अध्यक्ष वसन्तराज कार्की, अग्रज पत्रकार बालकृष्ण बस्नेत, नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष समेत रहनु भएका गीतकार पुष्करराज बुढाथोकी, सञ्चारकर्मी अमर ध्वज लामा, मनुका कुँवर, एल्बमका प्रस्तोता तथा गायक कार्कीका धर्मपत्नी तारा कार्की लगायतले गायक कार्कीको गायन यात्राको सफलताको कामना गर्नुभयो ।

विमोचन कार्यक्रममा गायक कार्कीले गायन यात्राको बारेमा चर्चा गर्दै प्रेरणा, सहयोग र ऊर्जा प्रदान गर्ने सबैप्रति आभार प्रकट गर्नुभयो । सो अवसरमा नेपाली सङ्गीतका शक्ति वरिष्ठ सङ्गीतकार शक्ति बल्लभलाई विशेष सम्मान गरिएको थियो ।

कार्यक्रममा आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष डण्ड गुरुङ, सञ्चार मन्त्रालयका विज्ञ राजेन्द्र मानन्धर, कान्तिपुर एफएमका समाचार प्रमुख पवन आचार्य, राष्ट्रिय सञ्चार केन्द्रका अध्यक्ष पेशल आचार्य, पत्रकार टेकराज थामी लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा सङ्गीतकार, गीतकार र एल्बम तयार पार्न सहयोग गर्ने व्यक्तिहरूलाई मायाको चिनो र सम्मान प्रदान गरिएको थियो ।

दोलखाको जफे र्यालेमा जन्मेका नविन कार्की स्कुले जीवनदेखि नै कलाकारितामा लागेका हुन् । कार्कीले भारतको गान्धर्व सङ्गीत विद्यालयबाट सङ्गीतमा बिम्युज हासिल गरेका छन् ।

गायक कार्कीले पहिलो पटक २०५६ सालमा स्वर्गीय रत्न बानियाँको सङ्कलनमा ‘लाउ माया चुनेर’ बोलको लोक गीत रेकर्ड गराएका थिए । त्यसैगरी, विक्रम संवत २०५६ सालमा तुलसी बस्नेतको रचना र सुशील विश्वकर्माको सङ्गीतमा रेडियो नेपालमा आधुनिक गीत रेकर्ड गराएका थिए ।

नवीनले गीत सङ्गीतको उन्नतीको लागि निरन्तर साधना गर्दै र गायनलाई निरन्तरता दिँदै जाने प्रतिवद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा बोल्दै ‘नवीन’ सङ्ग्रहलाई अब आफ्नो निजी नभई राष्ट्रको सम्पतिका रूपमा स्वीकार्न समेत सबैमा आग्रह गरे ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij