
ललितपुर । ललितपुर सुनचाँदी व्यवसायी संघको आठाैं बार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।
ललितपुरको कुमारीपाटी स्थित अग्नि पार्टी प्यालेसमा सम्पन्न भएको उक्त साधारणसभा नेपाल सुनचाँदी व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष माणिकरत्न शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य सहित महासंघका सल्लाहकार, कार्यसमितिका प्रतिनिधिहरु, ललितपुर चेम्बर अफ कमर्सका महासचिव सुविन बज्राचार्य, सुनचाँदी व्यवसायी महासंघ बाग्मती प्रदेशका अध्यक्ष ज्योतिरत्न बज्राचार्य लगायत उक्त कार्यक्रममा उपस्थित थिए ।
ललितपुर संघका अध्यक्ष रमेश बहादुर शाक्यको स्वागत मञ्तव्यमा शुरु भएको उक्त कार्यक्रममा महासंघका वर्तमान अध्यक्ष माणिकरत्न शाक्य, पूर्वअध्यक्ष तेजरत्न शाक्य, बाग्मती प्रदेश अध्यक्ष ज्योतिरत्न बज्राचार्य लगायतले मञ्तव्य राखेका थिए । संघका महासचिव विपिन शाक्यले आर्थिक प्रतिवेदन र कोषाध्यक्ष हिराकाजी शाक्यले लेखाप्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बोल्ने क्रममा प्रमुख अतिथि एवं महासंघका अध्यक्ष माणिकरत्न शाक्यले निश्चित र स्पष्ट नीतिगत व्यवस्था अभावको कारण सुनचाँदी व्यवसायीहरुले थुप्रै अन्यौलता र समस्या बीच काम गरिरहनुपरेको बताए । उनले आफूहरु विभिन्न आरोहअवरोहहरु पार गर्दै अहिलेको अवस्थामा आउन सफल रहेको तर जुनसुकै प्रतिकुल परिस्थितिमा पनि जिम्मेवारीबाट नपन्छिएको समेत बताए ।
राजस्व संकलन, रोजगारी सृजना, अर्थतन्त्र चलायमान एवं आर्थिक क्रियाकलापमा वृद्धि ल्याउनुको अलावा सामाजिक उत्तरदायित्व अन्तरगत समेत आफूहरुले निकै प्रभावकारी तवरले काम गरेपनि राज्य पक्षले सु्नचाँदी क्षेत्रका व्यवसायीहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन र सहकार्यको लागि तयार नहुनु दुखद रहेको उनले बताए ।
साथै अहिले सुनको प्रयाप्त आपुर्ति एउटा ठूलो समस्या रहेको बताउँदै उनले यसलाई व्यवस्थित गर्न वैज्ञानिक एवं पारदर्शी वितरण प्रणाली आवश्यक रहेको समेत बताएका छन् ।
उनले बाई व्याक पोलिसीमा एकरुपता ल्याउनुपर्ने, कोटा प्रणालीको प्रभावकारिता पुनरावलोकन गर्नुपर्ने, बैंक र व्यवसायी दुवैले सुन आयात गर्न सक्ने व्यवस्था लागु गर्नुपर्ने लगायतका विविध पक्षहरुमा केन्द्रित रहेर उनले आफ्नो धारणा राखेका थिए ।
यसैगरी कार्यक्रममा मञ्तव्य राख्ने अन्य व्यक्तिहरुले संघ र महासंघले व्यावसायिक हकहितको लागि प्रभावकारी रुपमा काम गर्नुपर्ने, समयानुकुल नीतिगत परिमार्जन हुनुपर्ने, मूल्यमा स्थिरता हुनुपर्ने, ग्राहकबाट आउने सुनको वैधता सम्बन्धी स्पष्ट व्यवस्था हुनुपर्ने, चाँदीमा जस्तो ओजिएम प्रणाली लागु गरी खुल्ला तवरले सुन आयात गर्ने व्यवस्था गर्नुपर्ने लगायतमा केन्द्रित रही धारणा राखेका थिए । 
कार्यक्रममा ललितपुर सुनचाँदी व्यवसायी संघबाट महासंघमा हालै निर्वाचित ललितपुर संघका निवर्तमान अध्यक्ष किरणभाई बज्राचार्य, निवर्तमान महासचिव सुविन बज्राचार्य, बाग्मती प्रदेशको कोषाध्यक्षमा निर्वाचित रमेशबाबु शाक्य, एसोसिएट सदस्य सुजित शाक्य लगायतलाई बधाईं तथा शुभकामना समेत प्रकट गरिएको थियो ।
विगतमा दैनिक २५ किलो आयात हुँदै आएको सुन लकडाउन पछि भने दैनिक १० किलो मात्र आयात गरिँदै आइएको छ । जसले गर्दा आवश्यक पर्दा बजारमा प्र्रयाप्त सुन उपलब्ध हुन सक्ने अवस्था छैन ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij