२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

आन्दोलनरत त्रिवि आंशिक प्राध्यापक संघका मागहरु सम्बाेधन हुने क्रममा

आन्दोलनरत त्रिवि आंशिक प्राध्यापक संघका मागहरु सम्बाेधन हुने क्रममा

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयमा पौष २ गतेदेखि आन्दोलनरत त्रिवि आंशिक प्राध्यापक संघको समस्या समाधान सम्बन्धमा वार्ता गर्न त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालयले एक वार्ता समिति गठन गरेको थियो ।

उक्त वार्ता समितिमा अनुगमन विभागका निर्देशक सहप्राध्यापक विष्णु खनालको संयोजकत्वमा प्राध्यापक तारा भुषाल र सहप्राध्यापक डा. शङ्कर प्रसाद भण्डारीलाई सदस्य नियुक्त गरेको थियो ।

त्यसैगरी उक्त समितिमा त्रिवि आंशिक प्राध्यापक संघको तर्फबाट संयोजक तथा प्रवक्ता मोहन घिमिरेको संयोजकत्वमा ५ सदस्यीय वार्ता समिति गठन गरिएको थियो ।

त्रिवि आंशिक प्राध्यापक संघ वार्ता समितिका प्रतिनिधि र त्रिवि वार्ता समितिका प्रतिनिधिका बीच आंशिक प्राध्यापक संघले उठाएका माग सम्बन्धमा छलफल हुँदा त्रिविमा कार्यरत कम्तीमा १ शैक्षिक सत्र पूरा गरेका आंशिक शिक्षकहरुलाई क्याम्पसको आवश्यकता, औचित्यता, ज्येष्ठता, निरन्तरता, अनुभव र तोकिएको कक्षाभारको आधारमा नियमानुसार प्रक्रिया पु¥याई त्रिवि केन्द्रीय कार्यालयको स्वीकृति र समर्थनमा क्याम्पसको आन्तरिक स्रोतबाट खर्च व्यहोर्ने गरी शिक्षण सहायक सरहको पारिश्रमिक पाउने गरी व्यवस्थापन गर्ने सहमति भएको छ ।

माेहन घिमिरे

यसैगरी कोर्ष करार र प्रतिकक्षा भारको पारिश्रमिकमा करको भार व्यहोर्नु नपर्ने गरी ‘अतिरिक्त कक्षा निर्देशिका–२०७७’ परिमार्जन गर्ने, त्रिवि सेवा आयोगले नियमित विज्ञापन गर्नुपर्ने, विज्ञापन गरिएको विषयमा विषयगत विशिष्टलाई आधार बनाई परीक्षा सञ्चालन गर्ने, प्राज्ञिक उन्नयन, अध्ययन अनुसन्धान र शैक्षिक क्रियाकलापमा सहभागि हुन पाउने र सहमतिका बुँदाहरु तत्काल देखि नै कार्यान्वयन हुने कुरा उल्लेख छ ।

सहमतिका क्रममा त्रिवि प्राध्यापक आंशिक संघ वार्ता समितिका संयोजक मोहन घिमिरेले त्रिविले पटक–पटक सम्झौता गरेको र कार्यान्वयन नभएको कुरा स्मरण गर्दै उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाको कार्यकालमा यो सहमति कार्यान्वयनमा आउने विश्वास व्यक्त गर्नुभयो ।

त्यसैगरी सहमतिमा उपस्थित त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाले आफूले सम्झौता गर्ने मात्र नभई कार्यान्वयन गरेरै छोड्ने कुरामा विश्वस्त पार्नुभएको छ ।

यदि उपकुलपतिको यो भनाई लागु भएमा विगत १५ बर्ष देखि त्रिविमा रहँदै आएको एउटा ठूलो समस्या समाधान हुनेमा आंशिक प्राध्यापकहरु आशावादी छन् ।

फाेटाेः नरेश श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij