अनुप मानन्धर, अध्यक्ष, कम्फोर्ट फेल्ट एण्ड क्राफ्टकम्फोर्ट फेल्ट एण्ड क्राफ्ट उद्यमशिल मानसिकताका ४ जना व्यक्तिहरुको सामुहिक लगानीमा सन् २०१४ मा स्थापना भएको कम्पनी हो । कीर्तिपुरको ढल्पाबाट फेल्ट अन्तरगत उच्च गुणस्तरीय जुत्ताहरु उत्पादन गर्दै आएको यस कम्पनीले आफ्ना उत्पादनहरु युरोपियन बजारमा निर्यात गर्दै आएको छ । यस कम्पनीका सञ्चालकहरुमा अनुप मानन्धर, कृष्ण महर्जन, दीवेशलाल नकर्मी र नरेश महर्जन रहनुभएको छ ।
शुरुका दिनमा साधारण लगानीमा बाँसको टहरामा उद्योग स्थापना गरेर शुरु भएको व्यावसायिक यात्रा यति छोटो अवधिमा यसरी तीव्र गतिमा अगाडि बढ्न सक्ला भन्नेमा कम्पनीका सञ्चालकहरु आफैं पनि निश्चित थिएनन् । आफ्नो व्यवसाय यसरी छोटो अवधिमा नै आफूले सोचे भन्दा राम्रो गतिमा अघी बढ्न सकेकोमा अहिले सञ्चालकहरु दङ्ग छन् ।
पब्लिक युथ क्याम्पसबाट एमबिएस तहको अध्ययन पूरा गर्नुभएका अनुप मानन्धरको मुख्य योजनामा व्यावसायिक दिशामा अघी बढेको यो कम्पनी स्थापनाको छोटो अवधिमा नै अलग पहिचान कायम गर्न सफल भएको छ । करिब १४ बर्ष अनुपले फेल्टजन्य सामान उत्पादन गर्ने एउटा कम्पनीमा काम गर्दा सिकेको सीपले उनी आफ्नै उद्योग खोल्न प्रोत्साहित भएका हुन् ।
उद्यमी मानन्धरले भने, ‘म पहिले करिब १४ बर्ष अर्को निर्यात सम्बन्धी कार्यमा संलग्न कम्पनीमा काम गरेको थिएँ, त्यहाँ सिकेको सीप र अनुभवको प्रतिफल नै अहिलेको कम्फोर्ट फेल्ट एण्ड क्राफ्टको सफलता हो । मैले त्यहाँ रहँदा सिकेको सीप र हासिल गरेको अनुभवले नै हामीलाई यो अवस्थामा ल्याइपुर्याएको हो । पछिल्ला बर्षहरुमा हाम्रो कम्पनीबाट बार्षिक करिब साढे ३ करोड रकम बराबरको कारोबार हुँदै आएको छ ।’
आगामी दिनमा पुँजी र कम्पनीको उत्पादन क्षमता समेत बढाउने योजनामा आफूहरु रहेको अनुप बताउँछन् । यसको लागि नयाँ जग्गा समेत खोजी गर्ने काम भइरहेको छ । त्यस बाहेक आफूहरुले दक्षिणकाली नगरपालिकाको सहकार्यमा स्थापना हुन लागेको ‘दक्षिणकाली फुटवेयर जोन’मा ३ रोपनी क्षेत्रफलको जग्गा लिएर त्यहाँबाट समेत उद्योग स्थापना गर्ने योजनामा आफूहरु रहेको अनुप बताउँछन् । दक्षिणकाली क्षेत्रमा फुटवेयर तथा अन्य उद्योगीहरु रहने गरी ६ सय रोपनी भन्दा बढी क्षेत्रफलको जग्गा नगरपालिकाले उपलब्ध गराएको छ ।
अहिलेको अवस्थाः
शुरुका दिनमा निकै गाह्रो तवरले यो कम्पनी सञ्चालनमा आएको हो । अहिले छोटो अवधिमा नै यस कम्पनीले निकै राम्रो तवरले फड्को मार्न सफल भएको छ । कम्पनीलाई माथि उठाउनमा सञ्चालकहरुको अलावा प्रडक्डन म्यानेजर भवानी खड्काको समेत महत्वपूर्ण भुमिका रहँदै आएको छ । कम्पनी स्थापनाको ५औं बर्षमा नै कर्मचारीलाई समेत बोनस वितरण गर्न यो कम्पनी सफल भएको छ ।
सफलता चाहनेले विचार गर्नुपर्ने कुराहरु
क) व्यवसायमा सफलता चाहने हरेक व्यक्तिले आफ्ना ग्राहकहरु प्रति विशेष ध्यान केन्द्रित गर्न सक्नुपर्छ ।
ख) आफ्ना सामानको गुणस्तरीयता कायम राख्नुपर्छ ।
ग) समयमा नै आफ्नो जिम्मेवारीको काम सम्पन्न गर्नुपर्छ ।
घ) आफूले उत्पादन गरेको सामानमा कुनै कमजोरी देखिए ग्राहकलाई त्यसको बदलामा अर्को उपलब्ध गराएर ग्राहकलाई विश्वासमा राख्न सक्नुपर्छ ।
ङ) बजारको माग र उपभोक्ताको आवश्यकतालाई विचार गर्दै सामान उत्पादन गर्ने हो भने त्यसले बजार मागको सन्तुलन र दिगोपना कायम राख्न सक्छ ।

गुणस्तरीयतामा जोड
कम्फोर्ट फेल्ट एण्ड क्राफ्टले आफ्ना उत्पादनहरु उच्च गुणस्तरीय हुनुपर्छ भन्ने कुरामा विशेष जोड दिँदै आएको छ । व्यवसाय गतिशिल नबनेको अवस्थामा समेत सेवाग्राहीलाई आफ्नो कम्पनीबाट उच्चगुणस्तरीय सामानहरु मात्र उत्पादन हुन्छन् भन्ने विश्वास दिलाउन सकेको कारण सेवाग्राही आफूहरु प्रति आकर्षित भएको अनुप बताउँछन् ।
शुरुका दिनमा साधारण लगानीमा बाँसको टहरामा उद्योग स्थापना गरेर शुरु भएको व्यावसायिक यात्रा यति छोटो अवधिमा यसरी तीव्र गतिमा अगाडि बढ्न सक्ला भन्नेमा कम्पनीका सञ्चालकहरु आफैं पनि निश्चित थिएनन् । आफ्नो व्यवसाय यसरी छोटो अवधिमा नै आफूले सोचे भन्दा राम्रो गतिमा अघी बढ्न सकेकोमा अहिले सञ्चालकहरु दङ्ग छन् । अनुपले भने, ‘हामी सदैव हाम्रो तर्फबाट कामलाई बढी गुणस्तरीय बनाउनमा जोड दिइरह्यौं । त्यसैको प्रतिफल स्वरुप हामीले केही बर्षमा नै सफलताको नयाँ उचाई हासिल गर्न सफल भएका हौं जस्तो मलाई लाग्छ ।’
आफू अर्को संस्थामा काम गर्ने समय देखि नै आफ्ना पहिलेका धेरैजसो कर्मचारीहरु कीर्तिपुरमा नै रहेको कारण आफूले कीर्तिपुर क्षेत्रलाई नै उद्योग सञ्चालनको लागि उपयुक्त ठानेको समेत मानन्धरले बताए ।
आत्मविश्वास र दिगो योजना सहित धैर्यतापूर्वक अघी बढाएको कामबाट ढिलो छिटो सफलता प्राप्त हुन सक्दो रहेछ । साथै सफल यात्रा तय गर्न चाहने हरेकले आफ्नो उत्पादनलाई अरु भन्दा केही पृथक बनाउने प्रयाश गर्नु जरुरी रहन्छ । यसो हुन सकेको खण्डमा आफ्ना सामानले प्रतिष्पर्धी बजारमा फरक पहिचान स्थापना गर्न सक्छ । जुन व्यावसायिक सफलताको लागि निकै महत्वपूर्ण हुने गर्छ । क्षणिक लाभको प्रलोभनमा परेर कुनै ग्राहकले आफ्नो निश्चित गुणस्तर भन्दा मुनिको सामान माग गरेपनि त्यस तर्फ लाग्नुहुँदैन रहेछ । मलाई लाग्छ, आफ्नो निश्चित मापदण्ड कायम गर्न सक्नु पनि व्यावसायिक सफलता र दिगोपनाको लागि निकै महत्वपूर्ण कार्य हुँदो रहेछ ।
सफलताका चरणहरु
हरेक कम्पनीको सफलता चरणबद्ध हुने गर्छ । एकैपटकमा उच्च सफलता हासिल गर्न सकिँदैन । यस कम्पनीले पनि चरणबद्ध रुपमा नै आफूलाई अघी बढाउँदै आएको छ । मानन्धरले भने, ‘हामीले कम्पनी स्थापना गर्दाको समयमा यस कम्पनीमा ४ जना कर्मचारीहरु मात्र काममा खटिएका थियौं । हामीले लिएको जग्गाको धेरैजसो भाग खाली नै हुन्थ्यो । लाग्थ्यो, हामीले धेरै जग्गा भाडामा लिएर लागत मात्रै बढाएका छौं । तर त्यसो होइन रहेछ, विस्तारै हामीले कर्मचारी र कामको दायरा बढाउँदै जाँदा हामीलाई उक्त जग्गा र हाम्रो उत्पादन क्षमता बीच अहिले सन्तुलन कायम भएको महसुस हुन्छ ।’ कतिपय अवस्थामा तत्काललाई मात्र नभई दीर्घकाललाई समेत विचार गरेर व्यावसायिक निर्णय लिनुपर्दोरहेछ भन्ने अनुपले अनुभव गरेका छन् ।
अर्को संस्थामा काम गर्दाको अनुभवले आफ्नो कार्यदक्षतालाई विकास गरेपनि आफ्नै काम शुरु नगरेसम्म सम्पूर्ण पक्षहरुलाई बुझ्न सकिँदोरहेनछ । प्राविधिक पक्ष र बजार व्यवस्थापन सम्बन्धी जागिरमा रहँदा प्रयाप्त अनुभव हासिल गर्न सम्भव रहेपनि समग्र व्यावसायिक अनुभव र निर्णय क्षमताको दायरा आफ्नै व्यवसायबाट मात्रै फराकिलो बन्न सक्दो रहेछ । अहिले अनुपलाई यस्तै महसुस हुन्छ ।
धैर्यताको प्रतिफल मिठो हुन्छ
जतिबेला कम्फोर्ट फेल्ट स्थापना गरियो, त्यति बेलासम्म यस कम्पनीका सञ्चालकहरु कसैलाई पनि आफ्नै कम्पनी सञ्चालन गरेको पूर्वअनुभव थिएन । त्यतिबेला सम्म सबैजना विभिन्न क्षेत्रका जागिरे नै भएकाले र तत्कालै आफूहरुको अवस्था माथि उठ्न र व्यावसायिक सफलता प्राप्तिको लागि कुनै सम्भावना समेत नदेखिएकोले अबको यात्रा कता जाने हो भन्ने सुनिश्चितता समेत थिएन । त्यस समयको दृढ मनस्थिति र भावी सफलताको परिकल्पनासँगै कार्यगत रुपमा अघी बढाएका दरिला पाइलाहरु नै अहिले सफलताका आधारस्तम्भ बन्न सकेका छन् । जुन सामुहिक प्रतिबद्धताको प्रतिफल समेत हो ।
निर्यातमा वृद्धि क्रम
सन् २०१५ मा थोरै परिमाणमा आफूले उत्पादन गरेका सामानहरु युरोप निर्यात बारे यस कम्पनीको सम्झौता भयो । जुन सफलताको पहिलो खुड्किलो थियो । सन् २०१६ मा डेनमार्कको एक स्थापित कम्पनीसँग सहकार्य भई सामान निर्यात गर्न थालेसँगै यस कम्पनीले आफ्नो व्यावसायिक यात्रालाई द्रुत गतिमा अघी बढायो । उक्त कम्पनीसँग सहकार्य गर्दा यस कम्पनीले धेरै मात्रामा सामानहरु आफैंले उत्पादन गर्न सक्ने अवस्था थिएन । कम्पनीको लाभ न्यून रहेको र निर्यात गरिने सामान समेत अन्य कम्पनीहरुको सहकार्यमा उपलब्ध गराउनुपर्ने त्यस समयमा कसरी कर्मचारीलाई तलब खुवाउने र संस्थालाई बचाउने भन्ने कुरामा नै सञ्चालकहरुको ध्यान आकर्षित भइरहेको थियो । 
उत्पादन क्षमता र मेसिन
हाल उत्पादन र निर्यात दुवै काम आफैंले गर्दै आएको यस कम्पनीले मासिक ३÷४ हजार जोर जुत्ता उत्पादन गर्ने क्षमता राख्छ । ठूलो क्षमताका सिलाई मेसिन र जुत्ता प्रेस मेसिनमा यस कम्पनीले लगानी गरेको छ । छाला काट्ने र छाला टाँस्ने काम भने हातले नै गरिन्छ । एउटा मेसिन ल्याउँदा ५ देखि ७ लाख सम्मको लगानी आवश्यक पर्ने अनुप बताउँछन् । आगामी दिनमा अटोमेसन प्लान्ट जडान गरी उत्पादन क्षमता अभिवृद्धि गर्ने योजनामा आफूहरु रहेको समेत मानन्धरले बताए ।
सन् २०१५ मा थोरै परिमाणमा आफूले उत्पादन गरेका सामानहरु युरोप निर्यात बारे यस कम्पनीको सम्झौता भयो । जुन सफलताको पहिलो खुड्किलो थियो । सन् २०१६ मा डेनमार्कको एक स्थापित कम्पनीसँग सहकार्य भई सामान निर्यात गर्न थालेसँगै यस कम्पनीले आफ्नो व्यावसायिक यात्रालाई द्रुत गतिमा अघी बढायो । उक्त कम्पनीसँग सहकार्य गर्दा यस कम्पनीले धेरै मात्रामा सामानहरु आफैंले उत्पादन गर्न सक्ने अवस्था थिएन । कम्पनीको लाभ न्यून रहेको र निर्यात गरिने सामान समेत अन्य कम्पनीहरुको सहकार्यमा उपलब्ध गराउनुपर्ने त्यस समयमा कसरी कर्मचारीलाई तलब खुवाउने र संस्थालाई बचाउने भन्ने कुरामा नै सञ्चालकहरुको ध्यान आकर्षित भइरहेको थियो ।
सफलताका आधार
आत्मविश्वास र दिगो योजना सहित धैर्यतापूर्वक अघी बढाएको कामबाट ढिलो छिटो सफलता प्राप्त हुन सक्दो रहेछ । साथै सफल यात्रा तय गर्न चाहने हरेकले आफ्नो उत्पादनलाई अरु भन्दा केही पृथक बनाउने प्रयाश गर्नु जरुरी रहन्छ । यसो हुन सकेको खण्डमा आफ्ना सामानले प्रतिष्पर्धी बजारमा फरक पहिचान स्थापना गर्न सक्छ । जुन व्यावसायिक सफलताको लागि निकै महत्वपूर्ण हुने गर्छ । क्षणिक लाभको प्रलोभनमा परेर कुनै ग्राहकले आफ्नो निश्चित गुणस्तर भन्दा मुनिको सामान माग गरेपनि त्यस तर्फ लाग्नुहुँदैन रहेछ । मलाई लाग्छ, आफ्नो निश्चित मापदण्ड कायम गर्न सक्नु पनि व्यावसायिक सफलता र दिगोपनाको लागि निकै महत्वपूर्ण कार्य हुँदो रहेछ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij