२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

सीप र कलामा आधारित थाङ्का व्यवसायकाे राम्राे सम्भावना

सीप र कलामा आधारित थाङ्का व्यवसायकाे राम्राे सम्भावना

आर्थिक उपलब्धिको लागि राम्रो माध्यम बन्न सक्छ

काभ्रे जिल्लाको कोशीपारी (हाल चौंरीदेउराली)मा जन्मिनुभएका कमल भुजेल विगत झण्डै २ दशक देखि थाङ्का व्यवसायमा संलग्न हुनुहुन्छ । विश्व सम्पदा सूचीमा सुचिकृत भक्तपुरको चाँगुनारायण क्षेत्रबाट १५ बर्ष देखि आफ्नै व्यवसाय सञ्चालन गर्दै आउनुभएका भुजेल नेपाली थाङ्काको माग विश्वबजारमा राम्रो रहेको बताउनुहुन्छ ।

कमल भुजेल, थाङ्का प्रशिक्षक, सुनापति थाङ्का पेन्टिङ स्कुल (चाँगुनारायण)

औपचारिक रुपमा एसएलसी शिक्षा पूरा गरेपश्चात् आफ्नो नियमित आर्थिक उपार्जनको लागि आफैंले केही गर्नुपर्ने अवस्था थियो । त्यसै सिलसिलामा साथीहरुको सम्पर्कबाट भुजेल थाङ्का पेन्टिङ क्षेत्रमा जोडिन पुग्नुभएको हो । त्यसै समय देखि शुरु भएको उहाँको यो यात्रा अहिले जीवनको अभिन्न अङ्ग बन्न पुगेको छ । अहिले भुजेललाई लाग्छ, औपचारिक शिक्षा भन्दा अनुभवमा आधारित ज्ञान निकै महत्वपूर्ण हुँदो रहेछ । आफ्नो स्वरोजगारमूलक व्यवसायबाट थुप्रै नेपाली युवाहरुले रोजगारी पाएका छन् । प्रशस्तै कलाप्रेमीहरु भुजेलबाट प्रशिक्षण लिइ आफैं उद्यमशिल बनेका छन् ।

शुरुका दिनहरु
काठमाडौं आउँदा भुजेलसँग केही थिएन । खालि हात नै काठमाडौं प्रवेश गर्नुभएको हो भन्दा पनि फरक पर्दैन । न सीप थियो, न साथमा पैसा नत चिनजानेका कोही व्यक्तिहरु नै । आपसमा कुराकानी र सहयोग आदानप्रदानको संस्कार भएजस्तो नदेखिने शहरमा एउटा थाङ्का पेन्टिङ कम्पनीसँगको सम्पर्क स्थापनाले उहाँको जीवन बदलिदियो । निरन्तरको कठोर परिश्रम र इमान्दारितापूर्वक सिकेको सीपले कर्मशिल यात्राको गोरेटो तय गरिदियो । सामान्य कमाई र उच्च मनोबल सहित आफ्नै पुरुषार्थमा शुरु गरेको सुनापति थाङ्का पेन्टिङ स्कुल नै भुजेलको अहिलेको पहिचान बनेको छ ।

हिन्दू परिवारमा जन्मिएर पनि बौद्ध संस्कार र चालचलनबारे अहिले ज्ञात हुनुहुन्छ भुजेल । त्यही बौद्ध संस्कार बमोजिमको आचरणले आफूलाई सही दिशानिर्देश मिलेको हुनसक्ने उहाँको ठम्याई छ । कष्टपूर्ण रुपमा शुरु भएको उहाँको यात्रा कुनै दिन यसरी प्रतिष्ठामा बदलिएला भन्ने उहाँलाई कहिल्यै लागेकै थिएन । बल्ल अहिले पो थाहा भयो, व्यक्तिको वास्तविक र महत्वपूर्ण सम्पत्ति भनेको त उसले कमाएको भौतिक सम्पत्ति (पैसा) भन्दा पनि आर्जन गरेको ज्ञान, सीप, अनुभव र सामाजिक प्रतिष्ठा पो महत्वपूर्ण हुँदो रहेछ ।

कुनै दिन उचित सल्लाहको अभावमा सडकमा भौँतारिनुपर्ने भुजेल अहिले ठूलो समुदायको लागि मार्गदर्शक बन्नुभएको छ । आफ्नो बाटो स्पष्ट नभएका थुप्रै युवाहरु उहाँसँग परामर्श लिन पनि आउने गर्छन् । आफूले हासिल गरेका अनुभवहरुबाट कोही कसैले सही मार्ग अवलम्बन गर्न अवलम्बन गर्न सहयोग पुग्छ भने आफू किन त्यस कार्यमा संलग्न नहुने भन्ने उहाँलाई लाग्छ ।

कस्तो क्षेत्र हो थाङ्का ?
थाङ्का एक परम्परागत चित्रकला हो । यो मूलतः बौद्ध सम्प्रदायसँग सम्बन्धित छ । यो कला प्रस्फुटनको लागि सम्बन्धित कलाकारमा बौद्ध दर्शनबारे ज्ञान हुनु आवश्यक रहन्छ । यो मुख्यतः सीपमा आधारित व्यवसाय हो । पछिल्ला बर्षहरुमा यी थाङ्काहरु बौद्धिक धर्माबलम्बीहरु बढी रहेका देशहरुमा माग हुने गरेका छन् ।

पछिल्ला दिनहरुमा यस क्षेत्रमा संलग्न हुन चाहने युवाहरुको सङ्ख्यामा कमी आएको छ । यस क्षेत्रमा प्रवेश गर्नको लागि दृढ इच्छाशक्ति आवश्यक रहन्छ । इच्छुक प्रशिक्षार्थी एक पछि अर्को गर्दै ७ चरण पूरा गरेपछि मात्र पूर्ण सक्षम बन्न सकिन्छ । शुरुका २ तहहरु पार गरिसकेपछि यसै क्षेत्रलाई आर्थिक उपार्जनको क्षेत्र समेत बनाउन सकिन्छ । विगतमा पुस्ता हस्तान्तरण हुँदै अहिलेको अवस्था सम्म आइपुगेको थाङ्काले नेपाली मौलिक संस्कार बोकेको छ । हेर्दा आकर्षक हुनुको अलावा हस्तनिर्मित यी सामानहरुले नेपाली पहिचानलाई विश्वबजारमा विस्तार गर्नमा समेत ठूलो सहयोग पु¥याउँछन् । ठूलो सङ्ख्यामा यस क्षेत्रमा युवा वर्गलाई आकर्षित गर्न सकेको खण्डमा ठूलो सङ्ख्यामा स्वरोजगारी सृजना गर्ने व्यवसायको रुपमा समेत यस व्यवसायलाई विस्तार गर्न सकिन्छ । यसको लागि नयाँ पुस्ताका युवा जनशक्तिलाई यस क्षेत्रको महत्व र सम्भावना बारे जानकारी गराई सीप हासिल गर्नुको आवश्यकता बुझाएर कला संरक्षण र सीप विकास बारे रुचि जगाउन सक्नुपर्छ ।

चित्र उपलब्ध भएकाेले डिजाइनमा सहज

नेपालमा निर्माण भएका पेन्टिङ चित्रहरुलाई त्यसमा भएको मेहनत र आकर्षक डिजाइन बमोजिम आर्थिक लाभ हासिल गर्न सकिन्छ ।  विगतमा आफैंले मष्तिष्कले नै सोचेर आफूले सोहीबमोजिम थाङ्का चित्र तयार पार्नुपर्ने अवस्था भएपनि अहिले फोटो हेरेर सोहीबमोजिम चित्र कोर्न सक्ने क्षमता कलाकारमा हुनु जरुरी छ । विगतमा भने सबै अध्ययन गरेर मात्र ती चित्र तयार गर्न सक्ने अवस्था थियो । घरमा बसेर नै काम गर्न सकिने कार्य भएको कारण आफ्नै ग्रामीण बस्तीमा बसेर पनि घरायसी काम गर्दै यी  भावी दिनमा यस व्यवसायलाई कसरी थप प्रतिष्ठित र व्यावसायिक बनाउँदै लैजाने भन्नेमा नै निरन्तर लागिरहनुभएका भुजेल समाज रुपान्तरणको लागि आफू संलग्न भएकै क्षेत्रबाट अघी बढ्नुपर्छ भन्ने मान्यता राख्नुहुन्छ ।

आगामी सम्भावनाः

नेपालमा उत्पादन हुने कलासंस्कृतिसँग सम्बन्धित वस्तुहरुको बजार सम्भावना निकै राम्रो छ । यसको प्रवर्धन अहिले सम्म व्यवसायीहरुको पहलमा मात्र हुने गरेको छ । थाङ्का चित्र निर्माण गरेपश्चात् त्यसको सही व्यवस्थापन निकै नै महत्वपूर्ण हुने गर्छ । आफैं उद्यमशिल बन्न चाहने हरेक व्यक्तिमा यस किसिमको ज्ञान पनि आवश्यक रहन्छ ।

शुरुवाती लगानी
सामान्य तवरले यो काम शुरु गर्दा अहिलेकै अवस्थामा पनि २ देखि ५ लाख रकमबाट नै यो काम शुरु गर्न सकिन्छ । २-३ जना कलाकारहरुलाई साथमा लिएर शुरु गर्न सकिने यो काम शुरु गर्नको लागि आवश्यक पर्ने सबैजसो कच्चा पदार्थहरु स्थानीय बजारमा नै उपलब्ध हुन्छन् ।

सीपमूलक व्यवसाय भएको कारण आफुसँग निहित ज्ञान र सीपको उपयोग हुने गरी साधारण लगानीबाट पनि यस व्यवसायमा प्रवेश गर्न सकिन्छ । राम्रो थाङ्का चित्र बनाउने जागरुक उद्यमीले बजारको चिन्ता गर्नुपर्दैन । नेपालका बौद्ध, दरबार स्क्वाएयर, पोखरा, लुम्बिनी, ठमेल लगायतका मुख्य–मुख्य पर्यटकीय क्षेत्रहरुबाट आफ्ना उत्पादनहरु प्रदर्शनी गर्न सक्ने व्यवस्था गर्ने हो भने ती क्षेत्रबाट नै पर्यटकहरुको माध्यमबाट यी सामानहरु विक्री गर्न सकिन्छ । ठूलो मात्रामा नेपालमा निर्मित थाङ्का चित्रहरु निर्यातकर्ताको माध्यमबाट समेत बाह्य बजारमा निर्यात गर्न सकिन्छ ।

आर्थिक उपार्जन
५ बर्षको निरन्तर कार्यअनुभवबाट खारिएपश्चात् आफैंले थाङ्का स्कुल सञ्चालन गर्नुभएका भुजेलले यस क्षेत्रबाट पर्यटकहरुको आगमन अनुसार आर्थिक उपार्जन तल माथि हुन सक्ने बताउनुहुन्छ ।

सफलताका आधारहरुः
भित्रै देखिको चाहना, आत्मविश्वास, जनसम्पर्क, नेतृत्वदायी क्षमता हुने हो भने यस क्षेत्रबाट पनि राम्रो प्रगति गर्न सकिन्छ । आफू संलग्न क्षेत्रलाई राम्रो तवरले व्यवस्थित गरेर लैजान सक्ने व्यक्तिले नै ढिलोछिटो सफलता हासिल गर्न सक्छ ।

न्यूनतम योग्यताः
कलामा आधारित जुनसुकै काममा पनि सफल हुनको लागि प्यासन विशेष महत्वपूर्ण रहन्छ । औपचारिक ज्ञानको आवश्यक नपर्ने यस क्षेत्रमा ज्ञान भएका व्यक्तिहरुले यस क्षेत्रबाट लाभ हासिल गर्न सक्छन् ।

अन्त्यमा,
अहिले सम्म नेपालमा निर्माण भएका थाङ्का चित्रहरुको मूल्य निर्धारण हुन सकेको छैन । जसले गर्दा यी चित्रहरुको शुल्कमा एकरुपता समेत हुन सकेको छैन ।  आगामी दिनमा यस सम्बन्धी निकै राम्रो सम्भावना छ । अहिले पनि बजार त प्रतिष्पर्धी नै छ । तैपनि बजारमा राम्रो विश्वास पाउन सकियो भने त्यसबाट राम्रो आथिक लाभ लिन सकिन्छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij