
जागरुक युवा उद्यमी मिलन शाक्य एक सफल व्यवसायी हुन् । आफ्ना हरेक व्यवसायलाई सामुहिक लगानी अवधारणा बमोजिम अघी बढाएका उनी सामुहिक एकता र आपसी सहकार्यबाट नै उल्लेख्य उपलब्धि हासिल गर्न सकिन्छ भन्ने मान्यता राख्छन् ।
मैनबत्ती उद्योग, होटल लगायत विभिन्न क्षेत्रमा संलग्न रहेका उनी वि.सं २०५१ देखि आफ्नो पारिवारिक व्यवसायलाई परिमार्जन गर्दै लैजानुपर्छ भन्ने मान्यताले नयाँ व्यवसायहरुमा संलग्न भएका हुन् ।
पारम्पारिक व्यवसायको रुपमा रहेको हस्तकला क्षेत्रबाट आफ्नो चाहना बमोजिमको ठूलो उपलब्धि हासिल गर्न सकिँदैन भन्ने भन्ने मान्यताले हार्डवेयर हुँदै अन्य क्षेत्रतर्फ अघी बढेको व्यावसायिक यात्रा अहिले सही सावित हुन सकेको छ ।
उनले औपचारिक रुपमा स्नातकोत्तर तह सम्मको शिक्षा हासिल गरेका छन् । जसले नयाँ रणनीति तय गर्न र नयाँ सम्भावना खोजी गर्न ठूलो सहयोग पुर्याएको छ ।
हस्तकलाबाट हार्डवेडर, खाद्यान्न, मैनबत्ती हुँदै अघी बढेको उनको व्यावसायिक यात्रा हाल होटल तथा रेष्टुरेन्ट व्यवसायमा केन्द्रित छ ।
झम्सिखेलको ह्याण्डमेड वर्गर रेष्टुरेन्ट उनैले सञ्चालन गरेका हुन् । उनले लुम्बिनीमा पनि होटल सञ्चालन गरेका छन् । यसै माघ देखि लगनखेलबाट अर्को एउटा होटल समेत सञ्चालनमा ल्याउने तयारीमा छन् । शाक्य वि.सं २०६८ देखि होटल तथा रेष्टुरेन्ट व्यवसायमा मोडिएका हुन् ।
अबका दिनमा कृषि क्षेत्रमा लगानी विस्तार गर्ने उनको योजना छ ।
नयाँ काम गर्नको लागि दृढ आत्मविश्वास सहित नयाँ क्षेत्रको खोजी गर्नमा विशेष विचार पुर्याउनुपर्छ भन्ने मान्यताले निरन्तर अघी बढ्ने क्रममा उनको अहिलेको सफलता निर्धारित हुन पुगेको हो । नयाँ तवरले आधुनिक विकसित प्रविधिलाई समेत उपयोग गर्दै अघी बढ्न सकेको खण्डमा त्यसले राम्रो लाभ पुर्याउन सक्छ भन्नेमा उनी विश्वस्त छन् । सफलता प्राप्तिको लागि प्रक्रियागत रुपमा अघी बढ्नुपर्छ । तर यो कुरा अहिलेका युवाहरुले बुझ्न नसक्दा छिट्टै निराश र हतोत्साहित हुने गर्छन्, शाक्यले बताए ।
एक्लै काम गर्दा त्यसबाट ठूलो पहिचान बनाउन सकिँदैन भन्ने मान्यता सहित शुरु देखि नै सामुहिक भावले आफ्नो व्यवसाय अघी बढाएका उनी एकै किसिमको सोचका युवाहरु संगठित हुन सकेको खण्डमा ठूलो लाभ लिन सकिँदोरहेछ भन्ने कुरालाई उनको सफलता यात्राले प्रमाणित गर्छ ।
विगतका दिनमा काम गर्नको लागि औपचारिक शिक्षा आवश्यक पर्दैन भन्ने समुदायमा हुर्किएका शाक्य अहिलेको आफ्नो सफलताको पछाडि औपचारिक उच्च शिक्षाले महत्वपूर्ण योगदान पुर्याएको ठान्छन् ।
आगामी दिनमा प्रविधिमा आधारित रही नयाँ उद्यमशिल गतिविधिहरु सञ्चालन गर्न र सञ्चालनमा रहेका व्यवसायमा समेत प्रविधिको उपयोगबाट सहज रुपमा प्रतिफल लिन ललितपुरका व्यवसायीहरुलाई प्रशिक्षित गर्नुपर्ने मान्यता समेत राख्छन् उनी ।
आफू वर्तमान कार्यसमितिमा रहँदा उद्योग वाणिज्य संघबाट विभिन्न किसिमका गतिविधिहरुमा संलग्न रही व्यवसायीलाई सचेत बनाउने काममा आफ्नो महत्वपूर्ण भूमिका रहेको समेत शाक्य बताउँछन् ।
कर, उपभोक्ता हकहित र बिलविजकमा व्यवसायी सचेत रहनुपर्ने उनको धारणा छ । निश्चित योजना सहित व्यावसायिक प्रवद्र्धनमूलक गतिविधिहरुमा अबको संघ कार्यसमिति विशेष सचेत रहनुपर्ने समेत शाक्य बताउँछन् ।
अहिलेको मनोज न्याछ्योंको प्यानलले युवाहरुलाई नै बढी महत्व सहित कार्यसमितिमा स्थान दिनुले अबको निर्वाचन पश्चात् संघ अझ जागरुक तवरले आफ्ना गतिविधि सञ्चालनमा क्रियाशिल हुनेमा आफूहरु विश्वस्त रहेको समेत शाक्यले बताए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij