
वि.सं २०३५ मा विद्यालय तहको अध्ययन सकिने बित्तिकै एकजना मुर्तिकलामा संलग्न व्यक्तिको घरमा बसेर मुर्तिकला सम्बन्धी सीप हासिल गरेका श्याम तण्डुकार हस्तकला क्षेत्रका एक सङ्घर्षशिल व्यक्ति हुन् । करिब २ बर्ष जागिरेको रुपमा काम सिकेसँगै उनी आफैंले आफ्नै घरबाट मुर्तिकला सम्बन्धी सामानहरु उत्पादन कार्य शुरु गरे । उनले मुर्तिहरु त बनाए तर आफूले उत्पादन गरेका सामानहरुको बजार भने भेट्टाउन सकेनन् । आफूले बनाएका सामानहरु बोकेर बजार चहार्न थाले । निकै नै सङ्घर्षपूर्ण थिए उनका ती दिनहरु । उनको सङ्घर्षपूर्ण अवस्थालाई देखेर एकजना व्यक्तिले पाटन औद्योगिक क्षेत्रको एउटा उद्योगमा रहेर काम गर्न अनुरोध गरे । अनि श्यामले औद्योगिक क्षेत्रको उक्त कम्पनीमा आवद्ध भएर काम शुरु गरे । त्यहाँ रहँदा उनले धेरै कुराहरु सिक्ने मौका पाए । त्यस उद्योगमा रहँदा उनले उनले उत्पादन गर्ने सामानको माग उच्च थियो । उत्पादन गर्ने बित्तिकै ती सामानहरु हातहातै बिक्री हुन्थे । जसले गर्दा उनको सीपको प्रशंसा हुन थाल्यो । हुनतः श्याम त्यतिबेला कालिगढको रुपमा त्यहाँ संलग्न थिए । तैपनि अब उनलाई आफैंले मुर्तिकला सम्बन्धी ठूलै काम गर्न सक्छु भन्ने विश्वास पलाइसकेको थियो ।
आफ्नै व्यवसायः
उनलाई सधैं कालिगढ मात्र भएर हुँदैन, आफैं उद्यमी बन्न सक्नुपर्छ भन्ने लाग्यो । श्याम आफैंले हस्तकला सम्बन्धी प्रयाप्त सीप हासिल गरिसकेका पनि थिए । उनलाई अब बजार व्यवस्थापन सम्बन्धी ज्ञानको खाँचो थियो । आफैंले आँट गरेर नयाँ काम शुरु गर्नुपर्ने जरुरी थियो । उनले आफूले उत्पादन गरेको एउटा नमुना मुर्ति लिएर एकजना सम्भावित ग्राहकलाई उनले भेटे, त्यहाँबाट उनले राम्रो प्रतिक्रिया पाए । त्यस प्रशंसाले अब आफै काम शुरु गनुपर्छ भन्ने हिम्मत दिलायो । त्यससँगै अब उनी आफैंले घरमा ५ जना कालिगढहरु राखेर मुर्तिकला सम्बन्धी काम शुरु गरे ।
व्यावसायिक उतारचढाव
व्यवसाय राम्रै चलिरहेको थियो तर एक्कासी निर्यात बन्द हुन पुग्यो । त्यसपछि उनलाई पुनः समस्या सृजना भयो । आफ्ना कालिगढलाई कामबाट निकाल्नुपर्यो । श्याम आफैं समेत बेरोजगार भए । अब के गर्ने त ? उनी अन्योलग्रस्त भए । तैपनि अर्को निर्णय लिए, जुन अझ जोखिमपूर्ण हुन सक्थ्यो । मासिक १ हजार भाडा तिर्ने गरी पसल चलाउने त्यो निर्णय विस्तारै सही सावित हुँदै गयो । उनलाई पसलबाट राम्रै लाभ हुँदै गयो । अब उनी आफ्ना सामान बोकेर कतै चहार्नु नपर्ने भयो । पसलबाट नै आफ्ना सामानहरु बिक्री समेत हुन थाले । साथै यसबाट बिक्रेतालाई विश्वास दिलाउन समेत सहज भयो ।

संस्थागत प्रवेश
हस्तकला व्यवसायमा सफल यात्रा तय गरिरहेका श्याम अब संस्थागत हिसाबले पनि अघी बढ्नेमा जागरुक भए । यसैकारण नेपाल हस्तकला महासंघको सदस्यता लिए । महासंघको निर्वाचनमा उम्मेदवारी दिए र जिते पनि । ३ कार्यकाल लगातार उनी कार्यसमिति सदस्यमा निर्वाचित भइरहे ।
ललितपुरमा हस्तकता संघ
ललितपुर जिल्ला हस्तकला व्यवसायीहरुको ठूलो क्षेत्र हो । यसकारण ललितपुरका व्यवसायीहरुलाई एकीकृत गर्नुपर्छ भन्ने उनलाई लाग्यो । यसैकारण केही साथीहरु मिलेर उनी सहित ललितपुर हस्तकला संघ स्थापना गरियो । तदर्थ समिति हुँदै संघलाई अघी लैजाने क्रममा तण्डुकारले संस्थापक कोषाध्यक्ष हुँदै अर्को यात्रा शुरु गरे । अहिले उनी ललितपुर हस्तकला संघको निवर्तमान अध्यक्ष बनिसकेका छन् ।
ललितपुर संघमा रहँदा भएका महत्वपूर्ण प्रयाश
हस्तकला महासंघले उनलाई उत्कृष्ट पुरस्कार समेत प्रदान गरिसकेको छ । ५० हजार नगद राशि सहितको उक्त पुरस्कार प्राप्त गर्न पाउँदा उनी आफूमा गर्वको महसुस गर्छन् । साथै त्यस पुरस्कारले आफूलाई निरन्तर अघी बढिरहन थप प्रोत्साहन मिलेको समेत स्वीकार्छन् । त्यस पुरस्कारबाट उत्साहित भएपश्चात् उनले ललितपुर क्षेत्रका कालिगढहरुलाई विभिन्न तालिमहरु प्रदान गरी सीप विकासमा योगदान पुर्याएका छन् । ललितपुरको मंगलबजारमा प्रदर्शनी मेला आयोजना गर्ने कार्य उनकै पहलमा शुरु भएको हो ।
कार्यकालमा सामना गरेको ठूलो समस्या
जोरपाटी स्थित चिनियाँहरुको लगानीमा एउटा ठूलो हस्तकला सम्बन्धी आधुनिक प्रविधि (विद्युतीय डाई काष्टिङ)मा आधारित उद्योग सञ्चालन हुन लागेको भित्री कुरा तण्डुकारले थाहा पाए । उक्त उद्योग स्थापना हुन सकेको खण्डमा नेपालका सानो क्षमतामा काम गरिरहेका हस्तकला उद्योग, व्यवसाय र कालिगढहरु विस्थापित र वेरोजगार हुनुपर्ने स्थिति आउन सक्छ भन्ने तण्डुकारलाई लाग्यो । डाइ सिष्टमबाट दैनिक हजारौं पिस मुर्तिहरु निर्माण गर्ने क्षमता राख्ने उक्त उद्योग सफल हुन सकेको खण्डमा हस्तनिर्मित मुर्तिकारहरुको अवस्था कमजोर हुने कुरालाई विचार गरी त्यस उद्योग स्थापनाको विरुद्धमा उनले आन्दोलन चलाए ।
स्मरण रहोस्, नेपाली मौलिक मुर्तिकला तथा हस्तकलाजन्य सामानहरुको माग विश्वव्यापी रुपमा राम्रो छ । त्यो विश्वव्यापी बजारलाई बिग्रिन नदिन आफ्नो अध्यक्ष कार्यकालमा चलाएको आन्दोलन र त्यस उद्योग स्थापनालाई असफल बनाउन गरेको प्रयाश नै उनको कार्यकालको सबैभन्दा सफल प्रयाश बन्न पुग्यो । अन्य व्यवसायीहरु र महासंघलाई समेत साथमा लिई उद्योग स्थापना रोक्न मन्त्रालय सम्म गरेको पहलको कारण स्थापना हुन लागेको उक्त उद्योग बन्द हुन पुग्यो ।
हस्तकलामा लकडाउनको प्रभाव
अहिले लकडाउनको कारण नेपालका हस्तकला व्यवसायीहरुलाई निकै नै असर परेको छ । नेपाली बजारमा विदेशी मुद्रा आर्जन गर्ने क्षेत्र नेपाली हस्तकला नै भएपनि लकडाउनको कारण अझै बजार सुधार हुन सकेको छैन ।
अन्त्यमा
अबका दिनमा हस्तकला सम्बन्धी सपिङ कम्प्लेक्स स्थापना गरी सबै हस्तकलाजन्य सामानहरु त्यहीँबाट प्रदर्शनी गर्न सकिने व्यवस्था गर्ने योजनामा तण्डुकार छन् । जसबाट कालिगढ र कलाकारहरुको पृथक पहिचान स्थापना हुन सकोस् भन्ने उनी चाहन्छन् । यसको लागि सांसद शोभा शाक्यसँग उनले एक÷दुई चरण छलफल समेत चलाइसकेका छन् । यसबाट हस्तकला व्यवसायीहरुको सामुहिक लाभ हुन सक्नेमा उनी आशावादी छन् ।
तण्डुकार ललितपुर हस्तकला व्यवसायी संघका निवर्तमान अध्यक्ष हुन्
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij