
मोरङ – विराटनगर महानगरपालिका–१४ को एक घरमा आगलागी हुँदा बालकको मृत्यु भएको छ । अरु दुईजना घाइते भएका छन्।
ईलाका प्रहरी कार्यालय रानी, विराटनगरका प्रहरी निरीक्षक दीपक थापाका अनुसार महानगरपालिका–१४ झटियायीमा शुक्रबार मध्य रातमा स्थानीय राजेश दासको घरमा आगलागी भएको हो ।
बाँस र जस्तापाताको छानो भएको घरमा आगलागी हुँदा दासका १४ वर्षीय छोरा रविन दासको जलेर मृत्यु भएको हो। घर नजिक बालिएको घुरबाट आगलागी भएको हुनसक्ने प्रहरी निरीक्षक थापाले बताएका छन् ।
आगलागीबाट राजेशकी ३२ वर्षीया श्रीमती इन्दुमति दास र सात वर्षीय छोरा किसन दास घाइते भएका छन् । उनीहरुको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ ।
उनीहरुको अवस्था सामान्य रहेको निरीक्षक थापाले बताए । आगलागीबाट करिब ४ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान छ ।
प्रहरी, वारुणयन्त्र र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij