काठमाडौं । बजारमा तोरी, सोयाबिन र सूर्यमुखी तेलको मूल्य मनपरी ढंगले वृद्धि भएको छ । एक महिनाको अवधिमा दुई प्रकारका तेलको भाउ प्रतिलिटर ४० देखि ५० रुपैयाँसम्मले वृद्धि भएको हो ।
तिहारसम्म १३० देखि १४० रुपैयाँ प्रतिलिटरमा कारोबार भएको सोयाबिन तेल १७० देखि ८० रुपैयाँ पुर्याइएको छ । यस्तै १६० रुपैयाँमा कारोबार भएको सनफ्लावर तेलको भाउ दुई सय रुपैयाँ भन्दा माथि पुर्याइएको हो ।
तोरीको तेलको मूल्य पनि कम्पनीअनुसार लिटरमा २० रुपैयाँभन्दा बढीले बढेको खुद्रा ब्यापारीहरुले बताएका छन् । होलसेलबाट बढेको मूल्यमा तेल आएको भनेर खुद्रा ब्यापारीलाई जानकारी गराइएको नेपाल खुद्रा ब्यापार संघका महासचिव अमुलकाजी तुलाधरले बताए ।
‘मूल्य बढेको छ भनेर नयाँ मूल्य होलसेलले पठाएका छन् तर हामीलाई कारण थाहा छैन’ महासचिव तुलाधरले भने ।
उपभोक्तालाई एक महिनाको बीचमै तेलको भाउ लिटरमै ५० रुपैयाँसम्मले बढेको भन्नै नसक्ने अवस्था सृजना भएको तुलाधरले बताए । महिनौंअघि उद्योगमा प्याकिङ अवस्थामा रहेका तेलको भाउ पनि ब्यापारीहरुले एक्कासी बढाएर बजारमा पठाएको तुलाधरको आरोप छ ।
तेलको अधिकतम् खुद्रा बिक्री मूल्य बढेको नदेखिने गरी होलसेलले तेलको भाउ बढाएको खुद्रा व्यापारीहरुले बताएका छन् । प्याकेटमा पुरानै मितिमा लेखिएको एमआरपी भएपनि होलसेलले भने नयाँ मूल्य लगाउँदा ग्राहकलाई तेल बेच्न नसक्ने अवस्था सिर्जना भएको खुद्रा व्यवसायी ध्रुब अधिकारीले बताए ।
‘एमआरपीमा कुनै एक तेलको प्रतिलिटर मूल्य १६० छ, होलसेलले नयाँ पठाएको तेल हामीले १८५ मा बिक्री गर्दा पनि नाफा छैन, उपभेाक्तालाई के भन्ने हामीले कसरी तेल बिक्री गर्ने ?’ अधिकारीले प्रश्न गरे ।
दुगड धारा र धारा सनफ्लावरमा खुद्रालाई दिने भन्दा पनि बढीमा अधिकतम खुद्रा मूल्य तोकिएको महासचिव आमुलकाजी तुलाधरले बताए ।
बजारमा उपभोक्तालाई खुद्रामा बिक्री गर्ने मूल्यभन्दा २० रुपैयाँसम्म बढी एमआरपी तेलमा बढेको तुलाधरले बताए । बजारमा तेलेको भाउ अचाक्ली बढेपनि सरकारी अनुगमन भने शून्यप्रायः छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij