२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

एकैदिन गरियाेे ३०९ अस्पतालकाे शिलान्यास

एकैदिन गरियाेे ३०९ अस्पतालकाे शिलान्यास

काठमाडौं । देशभरका ३०९ वटा पालिकामा सोमबार ५ देखि १५ शैय्याका आधारभूत अस्पतालको एकसाथ शिलान्यास गरिएको छ । स्थानीय तहसम्म आधारभूत स्वास्थ्य सेवा पुर्‍याउन सरकारले ३९६ स्थानीय तहमा अस्पताल बनाउनका लागि ५७ अर्ब ९७ करोड बजेटको स्रोत सुनिश्चित गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार जग्गा प्राप्ति भइसकेका स्थानहरुमा अस्पतालको शिलान्यास गरिएको हो । बाँकी स्थानीइ तहमा मंसिरभित्र शिलान्यास गरिनेछ ।

देशभर एकसाथ यति ठूलो संख्यामा अस्पताल शिलान्यास गर्नु स्वास्थ्य पूर्वाधार निर्माणमा ठूलो फड्को हो । सरकारले यसलाई स्वास्थ्य क्षेत्रमा ‘क्रान्ति’ भनेको छ । ‘स्वास्थ्य क्रान्ति नै हो कि होइन, त्यो त भन्न सक्दिनँ, तर जनस्वास्थ्यको हिसाबले यो ठूलो उपलब्धी हो’ जनस्वास्थ्यका जानकार डा. बाबुराम मरासिनी भन्छन्, ‘अस्पताल टाढा भएर बिरामी छटपटिने अवस्थाको अन्त्य गर्नुपर्दछ ।’

अर्थ मन्त्रालय स्रोतका अनुसार स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०७५/७६ मै प्रत्येक गाउँपालिकामा १५ शैया सम्मको एउटा अस्पताल बनाउन माग गर्दै बजेट मागेको थियो । २६ बैशाख २०७५ मा तत्कालीन स्वास्थ्य राज्यमन्त्री पद्माकुमारी अर्यालले ‘एक पालिका एक अस्पताल’को योजना अघि बढाएको बताएकी थिइन् । आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा एक स्थानीय तहमा एक चिकित्सक पुर्‍याउने घोषणा समेत भएको थियो ।

कोभिडकालमा एकमुष्ट बजेट

आर्थिक वर्ष २०७६/७७ को बजेटमा नै प्रत्येक स्थानीय तहमा अस्पताल बनाउने घोषणा गरिएको थियो ।अर्थसचिव शिशिरकुमार ढुंगानाका अनुसार यसपटक कोभिड-१९को महामारीका कारणले यो योजना कार्यान्वयनमा ठूलो बल प्रदान गर्‍यो । ‘हामीले यो वर्षको नीति तथा कार्यक्रम बनाउने क्रममै यसबारे छलफल गर्‍यौं र घोषणा पनि गर्‍यौं,’ उनी भन्छन्, ‘त्यसैअनुसार बजेटमा पनि ६ अर्ब विनियोजन भयो ।’

स्वास्थ्यले अघिल्लो आर्थिक वर्षमा भन्दा २१ अर्ब ९१ करोड रुपैयाँ बढी बजेट पाएको थियो र, यसरी आएको रकमको धेरै ठूलो हिस्सा पूर्वाधार विकासमा छुट्याइयो ।

स्थानीय तहमा ५ देखि १५ शैय्याका आधारभूत अस्पताल स्थापना र स्तरोन्नति गर्नुका साथै साबिकको जिल्ला र अञ्चल अस्पताल स्तरोन्नति गर्न १४ अर्ब २७ करोड बजेट विनियोजन गरिएको थियो । काठमाडौंमा ३०० शैय्याको सरुवा रोग अस्पताल, प्रदेश राजधानीमा थप २५० आईसीयू र सबै प्रदेशमा सरुवा रोग अस्पतालको पूर्वाधार बनाउन १२ अर्ब ४६ करोड बजेट छुट्याइएको थियो ।

अस्पताल बनाउन जग्गा अभाव हुन सक्ने देखेर मन्त्रिपरिषदले स्थानीय तहले जग्गा भाडामा लिएर पनि बनाउन सक्ने निर्णय गरिदियो भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि जग्गा प्राप्तिमा समन्वय गरिदिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij