
सुदीप बस्नेत, उपाध्यक्ष, दक्षिण भेगीय उद्योग समिति, नेपाल वोटल वाटर उद्योग संघ
अहिले सम्म नेपालमा पानी व्यवसायीहरुको विशेष पहिचान स्थापना हुन सकेको छैन । यस क्षेत्रमा रहेर काम गरिरहेका व्यवसायीहरुलाई राज्यले अलि फरक नजरले हेर्दै आइरहेको छ । उपभोक्ताहरुको पनि पानी उद्योगीहरु प्रति त्यति सकारात्मक दृष्टिकोण रहेको पाईंदैन । यस क्षेत्रका व्यवसायीहरु एकजुट हुन नसक्दा यस्तो अवस्था सृजना भएको हामीले महसुस गरेका छौं । व्यवसायमा केही समस्याहरु छन् । यस क्षेत्रका समस्या एवं कमजोरीहरु हामी व्यवसायीहरुले नै सुधार गर्दै जाने हो । यस क्षेत्रका व्यवसायीहरुलाई एकत्रित गर्दै लैजाने र व्यवसायमा रहेका समस्याहरु सुधार गर्दै जाने योजना बमोजिम नै नेपाल बोटल वाटर उद्योग संघ स्थापना भएको हो ।
यस संस्थाले हाल नेपालमा पानी व्यवसायीहरुको हक, हित र अधिकारको लागि काम गर्दै आएको छ । निकै लामो समय देखि काम गर्दै आएको यस संस्थाको एकल प्रयाशमा सबै क्षेत्रका व्यवसायीहरुलाई समेट्न समस्या भएको कारण अहिले संघ अन्तरगत काठमाडौंका विभिन्न क्षेत्रमा क्षेत्रीय समितिहरु गठन कार्य शुरु भएको छ । सोही बमोजिम नै हामीले भर्खर मात्रै दक्षिण भेगी समिति गठन गरेका हौं ।
हाल दक्षिणी भेगका ८ ओटा पानी उद्योगीहरु समेटिएका छन् । यो समिति अन्तरगतका उद्योगहरुले हाल कलंकी, कोटेश्वर, कीर्तिपुर, त्रिपुरेश्वर, सितापाइला लगायतको क्षेत्रमा पानी उपलब्ध गराइरहेका छौं ।
विभिन्न क्षेत्रमा अनुभव समेटेका बस्नेत ?
काठमाडौं चोभारका स्थानीय बासिन्दा रहेका सुदीप बस्नेत पानी उद्योग क्षेत्रमा विगत ७ बर्ष देखि संलग्न रहँदै आएका छन् । पानी उद्योगमा संलग्न हुनुपूर्व उनी करिब ९ बर्ष वैदेशिक रोजगार अन्तरगत दुवईमा बसेका थिए । हाल उनले भगवती वेभरेज उद्योग प्रा.लि. अन्तरगत ‘सुगम जल’ ब्राण्डमा पानी उत्पादन गर्दै आइरहेका छन् । हाल बस्नेत पानी उद्योगको अलावा जापानमा अध्ययनको लागि विद्यार्थीहरु पठाउने एजुकेशनल कन्सल्टेन्सी समेत सञ्चालन गर्दै आएका छन् ।
व्यावसायिक हकहितको लागि काम गर्दै आएको संस्था नेपाल बोटल वाटर उद्योग संघ अन्तरगत भर्खर गठन भएको दक्षिण क्षेत्रीय समितिमा आवद्ध भएर काम गर्न पाएकोमा खुसी छन् उनी । नेपालमा रहेर काम गर्दा पनि राम्रो सम्भावना रहेको महसुस गरेका छन् उनले ।
वैदेशिक रोजगारी अन्तरगत रहँदा दुवईमा मार्केटिङ सम्बन्धी काम गरेका उनले नेपालमा आएर समेत यहाँको विकासको लागि यहीँ केही उद्यमशिल गतिविधि सञ्चालन गर्नुपर्छ भन्ने मान्यताले पानी उद्योग सञ्चालन गरेका हुन् । दुवईको अनुभवले उनलाई नेपालमा समेत उद्योग सञ्चालन गर्दा त्यत्ति कठिनाई महसुस गर्नुपरेन ।
स्वदेशमै अवसर खोज्नुपर्नेमा बस्नेतको जोडः
नेपालमा रहेर आफूले काम गर्ने क्रममा यहाँ कामको लागि राम्रो सम्भावना भएको महसुस गरेका छन् । सानो लगानीका सीपमूलक कामलाई समेत व्यावसायिकरण गर्न सकिने उनको बुझाई छ । नेपालमा राज्यको समेत साथसहयोग उपलब्ध हुने हो भने नेपाली युवाहरुलाई ठूलो सङ्ख्यामा नेपालमा नै उद्यमशिल गतिविधिहरुमा संलग्न गराउन सकिने बस्नेतको धारणा छ ।
पानी उद्योगमा संलग्न हुँदा शुरुका दिनमा करिब ५० लाख रकम लगानी गरेका बस्नेतले हाल आफ्नो उद्योगबाट प्रत्यक्ष रुपमा १३ जना व्यक्तिहरुलाई रोजगारी उपलब्ध गराउँदै आएका छन् । पानी क्षेत्रलाई थप व्यवस्थित बनाउनको लागि उत्पादक मात्र नभई व्यवसायी र उपभोक्ता सबै सचेत रहनुपर्ने बताउने बस्नेत अहिलेको मूल्य समायोजनले बजार केही व्यवस्थित हुनेमा आशावादी छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij