काठमाडौं । सरकारले कोभिड–१९ को सङ्क्रमण समुदायस्तरमा फैलिएको भन्नेबारेमा अध्ययन गर्ने भएको छ । कोभिड–१९ को सङ्क्रमण सबै समूहका मानिसमा देखिरहेको र ट्राभल हिस्ट्रीमा नदेखिएका व्यक्तिमा पनि सङ्क्रमण देखिन थालेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले समुदायमा फैलिएको हो वा होइन भन्ने अध्ययन गर्न थालेको हो ।
“सङ्क्रमणको सूचक हेर्दा अहिले समुदायस्तरमा नै हो कि भन्ने देखाउँछ”, उनले भने, “अब अध्ययन गरेपछि मात्र समुदायमा सङ्क्रमण छ वा छैनन् भन्ने पुष्टि गर्दछ ।” महाशाखाले विश्व स्वास्थ्य सङ्गठनको प्राविधिक सहयोगमा अध्ययन गर्न थालेको हो । अध्ययनका लागि महाशाखाले शुक्रबारसम्म कर्मचारी छनोट गर्ने र ती कर्मचारीलाई तालिम दिएर सातवटै प्रदेशमा रगत सङ्कलनका लागि पठाउने महाशाखा निर्देशक डा.पाण्डेले बताए ।
सातवटै प्रदेशमा सङ्क्रमण बढी फैलिएका ठाउँमा गई छ हप्तादेखि कतै नगएका व्यक्तिको रगत सङ्कलन गरिने छ । महिला, पुरुष, बालबालिका र वृद्धा सबैको एन्टिबडी परीक्षण गरिनेछ । एलाइजा विधिबाट एन्टिबडीको परीक्षण गरी नेपालमा समुदायस्तरमा फैलिएको छ वा छैन भन्ने पत्ता लाग्नेछ । सातवटै प्रदेशबाट सङ्कलन भएको रगतको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गरिनेछ ।
महाशाखाका निर्देशक डा.पाण्डेले अबको एक हप्तामा सातवटै प्रदेशमा रगतको नमूना सङ्कलन गर्नका लागि टोली जाने बताए । उनका अनुसार करिब एक महिनाभित्र समुदायस्तरमा फैलिएको हो वा होइन भनेर अध्ययन पूरा गरिनेछ । “पहिले ट्राभल हिस्ट्री भएका मानिसमा मात्र सङ्क्रमण देखिएको थियो”, उनले भने, “तर अहिले ट्राभल हिस्ट्री नभएका र समुदायमा रहेका व्यक्तिमा पनि सङ्क्रमण देखिएको छ । काठमाडौँमा नै ट्राभल हिस्ट्री नभएका मानिसमा सङ्क्रमण देखिएको छ ।”
विगतमा विदेशमा आएका १५ वर्षदेखि ४५ वर्ष उमेर समूहका व्यक्तिमा सङ्क्रमण देखिए पनि अहिले नेपालभित्रकै जो कोहीलाई पनि सङ्क्रमण देखिन थालेको उनको भनाइ रहेको छ । गत माघ ९ गते नेपालमा पहिलोपटक सङ्क्रमण देखिएको थियो । अहिलेसम्म ४६ वटा प्रयोगशालामा सात लाख पाँच हजार ५६० जनामा गरिएको पिसिआर परीक्षणमा ४० हजार ५२९ जना कोभिड– १९ को सङ्क्रमण देखिएको छ ।
पिसिआर परीक्षण गरिएकामध्ये सङ्क्रमण दर ५.७ प्रतिशत रहेको छ । तीमध्ये सक्रिय सङ्क्रमित १८ हजार ११२ जनामा रहेको छ । यस्तै २३९ जनामा सङ्क्रमणका कारणले निधन भइसकेको छ । नेपालमा प्रति १० लाख ७.८ प्रतिशत मृत्युदर, सङ्क्रमितमध्ये मृत्युदर ०.६ प्रतिशत रहेको छ । मोरङ, सुनसरी, बारा, महोत्तरी, धनुषा, रौतहट, सर्लाही, पर्सा, चितवन, काठमाडौँ, ललितपुर र रुपन्दहीलगायतका १२ जिल्लामा ५०० भन्दा बढी सङ्क्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले समुदायस्तरमा सङ्क्रमण फैलिएकाबारे अध्ययन गर्ने तयारीमा रहेको जानकारी दिए । उनले १२ जिल्लामा खासखास ठाउँमा (कलस्टर)मा सङ्क्रमण देखिएको बताए । “यहाँ समुदायमा सङ्क्रमण अझै फैलिएको छैन”, उनले भने, “बाह्र जिल्लामा क्लस्टरमा सङ्क्रमण फैलिएको छ । त्यसलाई नियन्त्रण गर्न सकेनौं भने समुदायमा फैलिने डर छ ।”
अहिलेसम्म २२ हजार १७८ जना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् । अहिलेसम्म ५५ प्रतिशत डिस्चार्ज रहेका छन् । अहिले संस्थागत आइसोलेशनमा १० हजार ८३२ जना, होम आइसोलेशनमा सात हजार २८० जना र क्वारेन्टिनमा सात हजार ३९० जना रहेका छन् । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले समुदायमा सङ्क्रमण अझै गई नसकेको बताए । उनले सङ्क्रमणको सूचक हेर्दा नेपाल तेस्रो चरण प्रवेशका क्रममा रहेको बताए । रासस
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij