
काठमाडौं । आजबाट विदेशमा रहेका नेपालीको उद्धारको काम पुनः शुरु हुने भएको छ । यसअघि भदौ १ गतेदेखि चार्टर्ड उडान गर्ने घोषणा गरिए पनि होटेल क्वारेन्टिनको व्यवस्थापन हुन नसकेको भन्दै उडान स्थगन गरिएको थियो ।
कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्देशनमा उद्धार उडान रोकिएपछि सर्वत्र आलोचना भएको थियो ।
मंगलबार यूएईको सारजहाबाट एयर अरेबियाको जहाज नेपाल आउने भएको छ । बुधबार इत्तिहाद एयर आवुधाबी र फ्लाई दुबई दुबईबाट काठमाडौं आउने गरी तालिका तय भएको छ । बिहीबार नेपाल एयरलाइन्सले रियाद र हिमालय एयरलाइन्सले दमामबाट यात्रु बोकेर काठमाडौं आउने छ । सोही दिन टर्कीस एयरले यूरोप र अमेरिकामा रोकिएका नेपालीलाई घर ल्याउने छ ।
एयरलाइन्सले विदेशस्थित नेपाली कूटनीतिक नियोगसँगको समन्वय र सहकार्यमा मात्रै यात्रु नेपाल ल्याउन पाउनेछन् । नेपाल आउने सबै यात्रुको अनिवार्य पिसीआर रिपोर्ट हुनुपर्नेछ । सबै यात्रुले अनिवार्य सात दिन होटेल क्वारेन्टिनमा बस्नुपर्ने र खर्च उनीहरुले नै बेहोर्नुपर्नेछ ।
कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को विवरणअनुसार भदौ ७ गतेसम्म विदेशबाट फर्कने नेपालीको सङ्ख्या ५२ हजार २५१ रहेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij