– प्रशान्त घिमिरे
आज मेरो एघारौं जन्मोत्सव हो । हाल म पुष्पसदन आवासीय माध्यमिक विद्यालय कीर्तिपुरमा अध्यनरत छु । मेरो स्कुले पढाई मध्यम स्तरको छ । हुनत: मेरो पढाई राम्रो बनाउन घरमा कुनै काम गर्न लगाउनुहुन्न तथा बिद्यालयको शुल्क तिर्न र आवश्यक शैक्षिक सामाग्रीको लागि आफ्नो अन्य खर्च कटाएर पनि व्यवस्था गर्नुहुन्छ ।
मेरो बाबा जागिरको लागि गोर्खा जिल्लामा हुनुहुन्छ । अहिले घरमा मसँगै मामु, हजुरबा र बहिनी हुनुहुन्छ । हजुरबाले मलाई पुराना कथा, कविता तथा उहाँका पुराना दिनको स्मरण सुनाउनुहुन्छ ।
२०७६ सालमा नै कक्षा ४ को परिक्षा सकिएपछि हाम्रो देश कोरोना महामारीको कारण लकडाउनमा गयो । त्यसपछि हाम्रो औपचारिक कक्षा भएको छैन । म एक निजी विद्यालयको विद्यार्थी भएकोले दैनिक चार घन्टा अनलाइन कक्षा पढ्दै आएको छु । र हालै हाम्रो प्रथम एकाइ परिक्षा पनि सम्पन्न भयो ।
स्कुल जान नपरेको कारण पहिला त खुबै रमाइलो लाग्यो। धेरैजसो समय कार्टुन हेरेर बिताए । तर अहिले समाचार पनि हेर्ने गरेको छु । हाम्रोजस्तो निजी विद्यालयका शिक्षकले तलब खान नपाएको समाचार सुनेर नराम्रो लाग्यो ।
मैले बाबालाई भनेर विद्यालयले पठाएको शुल्क पनि तिरिसकेँ, मलाई आशा छ हाम्रो विद्यालयका शिक्षकहरु सबैले म जस्ता विद्यार्थीले पठाएकाे रकमबाट आफ्नाे तलब पाइसक्नुभयो होला । मलाई पठाएको बिल नियमित विद्यालय शुल्कको केही हिस्सा मात्र थियो ।
कोरोना संक्रमण बढ्दै गएर हाल काठमाडौंलाई पनि उच्च जोखिम क्षेत्रमा राखी कर्फ्यु आदेश जारी भएकोले म घरबाहिर निस्कने गरेको छैन । बिहान उठेर एक घन्टा जति योगा गर्ने, चार घन्टा अनलाइन कक्षामा सहभागी हुने, केही समय लुँडो खेल्ने, समाचार हेर्ने, बहिनीलाई अनलाइन कक्षामा सघाउने तथा गृहकार्य गराउने, मामुलाई घरको काममा सघाउने आदि कार्यमा दिन बिताउँदै गरेको छु । म अहिले खाना बनाउन सक्ने भएको छु ।
रोगको उच्च जोखिम भएकोले हामी घरबाहिर निस्कने गरेका छैनौं । ममी आवश्यक सामानको लागि सुरक्षाका उपाय सहित बाहिर जानुहुन्छ । यो समयमा अलिकति दुख सहेर भएपनि सजग रहनु नै राम्रो हुन्छ । त्यही भएर हामी आफैंले सजगता अपनाउँ । घर बाहिर ननिस्काैं । काेहीसँग सम्पर्कमा आउनुपरे भाैतिक दूरी कायम राखाैं ।