-ध्रुवराज घिमिरे
एक सानो अदृश्य जीवाणुको रूपमा जन्म भएपनि तँ कोराेना आज एक शक्तिशाली सिंहजस्तो रुप लिएर संसार जित्नकै लागि विश्व भ्रमणमा निस्केको छस् । न तैंले केही चोरी गरेको, न डकैती न कसैको कुभलो नै चिताएको जस्तो लाग्छ । तर आज यो संसारको सर्वज्ञानी वा सर्वेसर्वा भनाउँदो मानवरूपी प्राणीको विरुद्ध धावा बोलिरहेको छस् ।
आफैंले आफैंलाई ईश्वरको प्रतिरुप मानी यो संसारको एक्लो दमन गरेको विश्वविजेता मानवको वास्तविकता माथि चुनौती खडा गर्न सफल यो जीवाणुलाई अहिले मानव अस्तित्वकै खतरा संकेतको रूपमा हेर्न थालिएको छ ।

प्रकृतिको नियम नै उल्टो चलाउन सक्ने, आफैं नयाँ सुर्यको निर्माण गर्न सक्ने, अन्तरिक्षमा बस्ती बसाउन सक्ने मानिससँग पैंठेजोरि खेलेको देख्दा कहिलेकाहीँ त हाँस्न मन लाग्छ, पटक्कै नमिल्दो लडाइँमा पनि आफुलाई तैंले अब्बल सावित गरिसकेको छस् ।
यौटामात्र अणुबमबाट विश्व ध्वस्त गर्न सक्ने मानिससँग बिना हातहतियार प्रकट भएर लडिरहेको देख्दा लाग्छ महाभारत युद्धमा पाण्डवले श्रीकृष्ण सारथि पाएजस्तै तैंले पनि कसैको साथ त अवश्य पाएकै हुनुपर्छ ।
जुन क्षणमा तेरो यो धर्तीमा जन्म भयो, त्यसै क्षणपछि यो संसार ठप्प भयो । मानव निर्मित कृत्रिम संरचना बन्द भएको कारण सयौं मानिसले सम्पत्ति गुमाए, जागिर गुमाए, उद्योगधन्दा धराशायी भए वा आयआर्जनका बाटाहरु बन्द हुँदै गए । अन्ततः विश्व आर्थिक मन्दीको बाटोमा अगाडि बढ्दै गयो ।
बन्द भयो त केवल मानवनिर्मित संरचना तर प्रकृतिको नियम सदा झैं चलिरहयो । कुनै घमण्डरहित जीवन निर्वाह गरिरहेका चराचुरुङ्गीहरु आकाशमा उडिरहे, प्राणीहरु कुनै त्रासबिना जीवन अगाडि बढाइरहे, बोटहरुले पालुवा फेरिरहे, फुलहरु आफुलाई फुलाइरहे अथवा सबैले आ-आफ्नो कर्मलाई निरन्तरता दिइरहे । मानिसले खडा गरेका सामाजिक, धार्मिक, शैक्षिक, सांस्कृतिक, संरचनाको तहसनहस बनाइएको कारण मानिस अहिले भयभीत छ।
वास्तविक मृत्यु वा संक्रमणको तथ्यांकले जे देखाएपनि मानिस अहिले भागिरहेको छ, आफन्त तथा नाताकुटुम्बहरुलाई बिर्सने प्रयास गरिरहेको छ, आज उ आफैंले आफैंलाई बन्दी बनाइरहेको छ, केवल एउटा नाशवान शरीर बचाउनकै लागि उसले संसार त्यागिरहेको छ । तर यो नाशवान शरीरको माया मोह र बन्धनबाट बाहिर आइ उसले अझै प्रकृतिका अन्य प्राणीसरह आफुलाई स्थापित गरी शान्त जीबन जिउने आँट गर्न सकेको छैन । अझै खोक्रो र आधारहिन जीवनको कल्पना गरिरहेको छ । यो कति समयसम्म टिक्छ पक्कै समयले नै जवाफ दिनेछ । यसरी विश्लेषण गर्दा यो जीवाणुले मानव सभ्यतालाई नै उपहास गरे जस्तो लाग्छ, मानव विकास र अनियन्त्रित आविष्कारमाथि धावा बोलेजस्तो लाग्छ, मानव मस्तिष्कलाई नै चुनौती दिइरहे जस्तो लाग्छ । अथवा भनौं मानिस जातिले प्रकृतिमाथि गरेको अन्याय र अत्याचार वा अधिक दमनको बदला लिइरहे जस्तो लाग्छ ।