
काठमाडौं । आज रातीदेखि लागु हुने गरी काठमाडौं उपत्यकामा एक साताका लागि निषेधाज्ञा जारि गरिएको छ। सरकारले कोरोना संक्रमणको जोखिम बढेको निष्कर्ष निकाल्दै बुधबार राति १२ बजेदेखि भदौ १० गतेसम्म लागू हुने गरी निषेधाज्ञाजारी गरेको हो ।
काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले बुधबारबाट लागु हुने गरी एक साताका लागि निषेधाज्ञा लगाउने निर्णय गरेको हो । यस पटक आवागमन कडाई गरी सडकमा समेत मानिसहरुलाई आवतजावत गर्न नदिने निर्णय गरेको छ ।
बैठकले एक हप्तासम्म औषधि तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरीदको कामबाहेक कुनै पनि व्यक्ति घरबाट निस्किन नपाउने गरी १७ बुँदे निर्णय गरेको छ ।
यस अवधिमा मालबाहक ढुवानीका सवारी साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेकका गाडी काठमाडौं प्रवेशमा समेत निषेध गरिएको छ ।
फूटपाथ वा खुला ठाउँमा र ठेलागाडा वा साइकलमा सञ्चालन हुने व्यवसाय सञ्चालन गर्न पाइने छैन । होटल रेष्टुराँ सबै बन्द रहनेछन् । जिल्लाभित्र सबै प्रकारका यात्रुवाहक सवारी साधन सञ्चालन हुने छैनन् ।
निषेधाज्ञाको अवधिमाम औषधी, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु, इन्धन, खाना पकाउने ग्याँस, तरकारी, फलफुल, दुध, विधुत्, दुरसन्चार, सुचना तथा सन्चार, भन्सार, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, अस्पताल जाने आउने विरामी, मृत्यु संस्कारमा प्रयोग गरिने सवारी लगायत भने रोकिने छैनन् ।


© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij