२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

नेपालमा कहाँ र कति छ बेइरुतमा विस्फोटन भएको अमोनियम नाइट्रेट ?

नेपालमा कहाँ र कति छ बेइरुतमा विस्फोटन भएको अमोनियम नाइट्रेट ?

काठमाडौं । नेपाली सेनाले विकास- निर्माणका काममा प्रयोग गर्ने विस्फोटक पदार्थ उत्पादन गर्न अमोनियम नाइट्रेट प्रयोग गर्छ ।

नेपालमा आयात हुने र अहिले विद्यमान अधिकांश अमोनियम नाइट्रेट नेपाली सेनामातहत रहेको देखिन्छ।‍ सेनाले उक्त अमोनियम नाइट्रेटबाट विस्फोटक पदार्थ उत्पादन गर्दै आएको छ।

विकास(निर्माणका काममा प्रयोग हुने विस्फोटक पदार्थ राजधानीमा उत्पादन गरिरहेको नेपाली सेनालाई उसको १०० वर्ष पुरानो उद्योग सुरक्षित स्थानमा सार्न दबाव परिरहेको छ।

अहिले राजधानीको स्वयम्भू बारुदखाना र मकवानपुरमा रहेको सुनाखरी इमल्शन प्लान्टबाट नेपाली सेनाले ती विस्फोटक सामग्री उत्पादन गर्दै आएको छ।

सैनिक प्रवक्ताले स्वयम्भूको बारुदखाना स्थानान्तरणको विस्तृत खाका तयार पारेर रक्षा मन्त्रालयमा पेस गरिएको भए पनि सरकारले निर्णय गर्न बाँकी रहेको बताएका छन्।

तर रक्षा मन्त्रालयका अधिकारीले यसबारे टिप्पणी गर्न अस्वीकार गरेका छन्।

अमोनियम नाइट्रेट कति भित्रिन्छ ?

नेपालमा सडक र जलविद्युत् परियोजनाजस्ता पूर्वाधार निर्माणका लागि पहाड र चट्टान फोड्न प्रयोग गरिने विस्फोटक सामग्री बनाउन अमोनियम नाइट्रेट आवश्यक पर्छ।

व्यापार तथा निकासी प्रवर्धन केन्द्रका अनुसार गय आर्थिक वर्षमा १२ करोड ८० लाख रूपियाँ बराबरको १,२२६ मेट्रिक टन अमोनियम नाइट्रेट नेपाल भित्रिएको थियो। त्योभन्दा अघिल्लो साल दुईगुनाभन्दा बढी अमोनियम नाइट्रेट आयात भएको थियो जसका लागि झन्डै २७ करोड रुपैयाँ खर्च भएको केन्द्रको तथ्याङ्कले देखाउँछ।

सन् २०१९र२०२० मा ६५ लाख रुपैयाँभन्दा बढीको अमोनियम नाइट्रेट नेपाल भित्रिसकेको देखिन्छ।

मल बनाउन पनि प्रयोग गरिने अमोनियम नाइट्रेट अहिले नेपालमा सानो परिमाणमा कृषि प्रयोगशालाहरूमा प्रयोग गरिने र बाँकी सबै विस्फोटक पदार्थ बनाउन नेपाली सेनाले झिकाउने गरेको अधिकारीहरू बताउँछन्।

नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलका अनुसार भारत र चीन दुवै देशबाट अमोनियम नाइट्रेट भित्र्याउने गरिन्छ र देशको सीमाबाटै नै त्यसलाई सुरक्षित रूपमा राख्ने जिम्मेवारी सेनाले लिएको छ।

उनले भने, ‘हाम्रा दुईवटा कारखानाबाट विकास निर्माणका गतिविधिमा प्रयोग हुने निपोलाइट र इमल्शन भनिने विस्फोटक सामग्री बनाउन हामी यो रसायन मगाउँछौँ। हाम्रो राजधानीमा रहेको स्वयम्भू बारुदखानाको १२० मेट्रिक टन र मकवानपुरको सुनाखरी इमल्शन प्लान्टको वार्षिक क्षमता २,४०० मेट्रिक टन रहेको छ।’

उनका अनुसार स्वयम्भू बारुदखानामा लगभग एक पटकमा ४० देखि ५० मेट्रिक टन र सुनाखरी इमल्शन प्लान्टमा एक चोटिमा लगभग ३०० देखि ३५० मेट्रिक टन अमोनियम नाइट्रेट बङ्करहरूमा भण्डारण गर्ने गरिएको छ।बीबीसी

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij