काठमाडौं । अस्ट्रेलियामा होटल म्यानेजमेन्ट अध्ययनरत धनगढीका सुमित पडाल आफूले काम गर्ने कम्पनीले सामसङको नोट सेभेन उपहार दिँदा निकै उत्साहित थिए ।
तर, उनको खुसीमा फोन हात परेको केही दिनमै आगो लाग्यो, नोट सेभेनको ब्याट्रीमा आगो लागेसँगै । “चलाउँदा पनि मज्जा आउने, डिजाइन र पर्फर्मेन्स पनि गज्जब थियो ।
जिन्दगीमा यति मजाको फोन मैले पहिलो पटक चलाउन पाएको थिएँ,” उनी भन्छन्, “मैले नचाहँदा नचाहँदै पनि फिर्ता गर्नुपर्दा निकै नरमाइलो लाग्यो ।”
सामसङ नोट सेभेनको ब्याट्रीमा समस्या आएपछि कम्पनीले सबै नोट सेभेन फिर्ता लिने घोषणा गरेपछि राम्रै चल्दाचल्दैको फोन उनी र कम्पनीका अरु स्टाफले पनि फिर्ता गरे ।
ब्याट्री समस्याले हातमै आएको फोन फिर्ता गर्नुपरेका सुमितजस्ता सामसङका हजारौं फ्यानहरूको मनमात्र दुखेन, फोन किन्ने योजना बनाएकाहरू पनि निरास बन्नुप¥यो ।
किनकि सामसङको नोट सेभेन सार्वजनिक हुनुअघि नै निकै चर्चामा आइसकेको थियो भने स्मार्टफोनका पारखीहरूलाई प्रतीक्षाको विषय पनि थियो । फोन सार्वजनिक पनि भयो तर स्मार्टफोनको इतिहासमै नमिठो अनुभव गराएर गयो उत्पादक र उपभोक्ता दुवैमा ।
विश्वभरका एयरलाइन्सहरूले हवाई यात्रामा नोट सेभेन बोक्न रोकसमेत लगाए । नेपालमा पनि यति एयरलाइन्समा अझै पनि नोट सेभेन बोकेको भए स्वीच अफ गर्नु भनेर सन्देश दिएको सुनिन्छ । नेपालका अन्य एयरलाइन्समा पनि सार्वजनिक सूचना जारी गरी नोट सेभेनमा प्रतिबन्ध लगाइएको थियो ।
मोबाइल बिजनेसमा सामसङका लागि नोट सेभेन ठूलो भ¥याङ मानिएको थियो । तर, कम्पनीको यो सपना पूरा हुन नपाए पनि गत वर्ष २०१६ को बिक्रीमा पनि सामसङ स्मार्टफोन नै एक नम्बर ब्राण्ड बनेको छ ।
जुन कम्पनीको लागि नोट सेभेनको पीडामा मल्हम लगाउने खालको समाचार पनि हो । यस्तो समाचार सार्वजनिक गरेको हो अनुसन्धानमूलक संस्था ‘स्ट्राटेजी एनालाइटिक्स’ ले ।
हालै सार्वजनिक गरिएको विश्वभर मोबाइल बजारको हिस्सासम्बन्धी प्रतिवेदनमा पहिलो नम्बरमा सामसङ, दोस्रोमा एप्पल, तेस्रोमा हुवावे, चौथोमा ओप्पो र पाँचौँमा भिभो स्मार्टफोन छन् । बाँकी हिस्सा अन्य ब्राण्डको छ ।
पाँच कम्पनीको बजार हिस्सा ५५ प्रतिशत
प्रतिवेदनअनुसार गत वर्ष विश्वभर १ अर्ब ४८ करोड ८२ लाख थान स्मार्टफोन उत्पादन तथा खरिद–बिक्री भएका छन् । विश्वभर एक वर्षमा बिक्री हुने स्मार्टफोनमध्ये ५५ प्रतिशत हिस्सामात्र पाँच कम्पनीको छ ।
जसमा सामसङ बर्सेनि एक नम्बरमै आफ्नो नाम राख्दै आएको छ । ‘स्ट्राटेजी एनालाइटिक्स’ को प्रतिवेदनअनुसार विश्वभर कारोबार भएका कुल स्मार्टफोनमा सामसङको हिस्सा २०.८ प्रतिशत छ भने निकटतम प्रतिद्वन्दी एप्पलको १४.५ प्रतिशत हिस्सा छ ।
तेस्रो नम्बरको हुवावेको ९.३ प्रतिशत, ओप्पोको ५.७ प्रतिशत, भिभोको ४.८ प्रतिशत र बाँकीको ४४.९ प्रतिशत हिस्सा रहेको छ । पाँचमध्ये एप्पल अमेरिकन, सामसङ कोरियन कम्पनी हो भने बाँकी चाइनिज ब्राण्ड हुन् ।
५५ प्रतिशतमध्ये २० प्रतिशत हिस्सा चिनियाँ कम्पनीकै छ । यीबाहेक साओमी, वन प्लस, जियोनी, मेजु, जोप्पोलगायतका चिनियाँ मोबाइल ब्राण्डले पनि विश्व बजारमा बजार विस्तारलाई तिव्रता दिएको पाइन्छ ।
सन् २०१६ को स्मार्टफोन बजार अघिल्लो वर्षभन्दा ३.३ प्रतिशत बढी हो । सन् २०१५ मा १ अर्ब ४४ करोड थान सेट बिक्री भएको थियो । सन् २०१५ मा अघिल्लो वर्षको तुलनामा १२.२ प्रतिशले मोबाइल उत्पादन बढेको तुलनामा भने गत वर्षको उत्पादन दर भने कम हो ।
अघिल्ला वर्षहरूमा भन्दा गत वर्ष विभिन्न कम्पनीहरूले फ्ल्यागसीप र महँगो रेन्जका उत्पादनमा केन्द्रित भएको पाइन्छ ।
नोट सेभेनको असफलता, एप्पलको सफलता
गत वर्षको समग्र हिस्सामा सामसङले आफ्नो निरन्तरको पहिलो स्थान कायम राखेपछि सामसङको बहुचर्चित स्मार्टफोन नोट सेभेनको असफलताले भने एप्पललाई फाइदा भएको छ ।
नोट सेभेनको ब्याट्रीमा आएको समस्याका कारण कम्पनीले बजारमा पठाइएका लाखौं सेट फोन फिर्ता गर्नुपरेको थियो । यसका कारण आफ्ना अन्य उत्पादनमा पनि थोरै धक्का महसुस गरेको कम्पनीको २०१६ को अन्तिम चौमासको वृद्धिदरमा कमी आयो ।
सो चार महिनाको अवधिमा विश्वभर मोबाइल फोन बिक्रीमा एप्पल एक नम्बर बन्यो । ‘स्ट्राटेजी एनालाइटिक्स’को प्रतिवेदनमा अन्तिम चौमासमा एप्पल अगाडि भएको र वर्षभर सामसङ एक नम्बर भएको उल्लेख छ ।
विगत वर्षको चौमासमा पनि धेरैजसो समयमा अगाडि रहने सामसङ २०१६ को अन्तिम चौमासमा पछि परेको लाइनबाट विश्वका सञ्चारमाध्यममा समाचार तथा विश्लेषण आएका छन् ।
यसको प्रमुख कारण नोट सेभेनको असफलता नै मानिएको छ । यस अवधिमा एप्पलले आफ्नो पछिल्ला फ्ल्यागसीप स्मार्टफोन आइफोन सेभेन र सेभेन प्लसको कुल बिक्री ७ करोड ८३ लाख थान पुगेको छ ।
यो कुल बजार हिस्साको १७.८ प्रतिशत हो । यो अवधिमा एक कदम पछि परेको सामसङले ७ करोड ७५ लाख थान मोबाइल बिक्री गरेको छ । यो कुल बजार हिस्साको १७.७ प्रतिशत हिस्सा हो ।
कुल ३० लाख थान नोट सेभेन बजारबाट फिर्ता गरेको सामसङको यो हिस्सा जोडिन पाएको भए भने एप्पलको हिस्सा अन्तिम चौमासमा कम हुने देखिन्छ । हिस्सा तलमाथि भए पनि संख्याको हिसाबले भने एप्पल र सामसङ प्रमुख प्रतिस्पर्धी नै देखिन्छन् ।
३० लाख नोट सेभेन फिर्ता
बजारमा आउनुभन्दा एक वर्षभन्दा बढी समयदेखि चर्चामा थियो सामसङको नोट सेभेन । तर, ब्याट्रीमा आएको समस्याका कारण कम्पनीले ३० लाख थान नोट सेभेन फिर्ता गरेको जनाएको छ ।
उपभोक्ताको प्रतिक्षाको विषय बनेको तर नचाहेर पनि बजारबाट फिर्ता गर्दा गरेको सामसङले यसको असफलताको रहस्य खुलाएको छ । त्यसो त पहिले पनि ब्याट्री बनाउँदा भएको कमजोरीका कारण स्मार्टफोन फिर्ता गर्नुपरेको अनुमान त लगाइएको थियो ।
गत साता यो घटनालाई पुष्टि गर्दै सामसङले ब्याट्रीको डिजाइन र उत्पादनका देखिएको ‘डिफल्ट’ का कारण ब्याट्री तात्दा स्मार्टफोनलाई असर गरेको बताएको छ । कम्पनीले फोनको अन्य कुनै पनि भागमा कमजोरी नभएको तर ब्याट्रीकै कारण फोनमा समस्या देखिएको कम्पनीको दाबी छ ।
कम्पनीले समस्याको छानबिन गर्न समिति नै खडा गरेको थियो । सामसङले नोट सेभेनको समस्या पत्ता लगाउन मोटो रकम, जनशक्ति र समय खर्चेको छ ।
अनुसन्धानका लागि ७०० अनुसन्धानकर्ता तथा इन्जिनियर खटाएको थियो भने प्रतिवेदन सार्वजनिक गर्नुअघि २ लाख बढी नोट सेभेनका सेट र ३० हजार बढी फोनका ब्याट्री परीक्षण गरेको कम्पनीले जनाएको छ ।
९६ प्रतिशत स्मार्टफोन बजारमा पुगिसकेको र अनलक भइसकेको अवस्थामा फिर्ताको निर्णय गर्नुपरेको थियो । यही कारण कम्पनीको मोबाइलतर्फको व्यापारको हिस्सा गत वर्षभन्दा १५ प्रतिशतले घटेको थियो ।
चुनौती झेल्दै, चातुर्य देखाउँदै
मोबाइल फोन बजारमा सफलता र असफलता दुवैको पाठ सिक्नलाई नोकिया सम्झे पुग्छ । कुनै बेला फोन भनेकै नोकिया सम्झने विश्वका उपभोक्तालाई सामसङले आफ्नो चातुर्य प्रस्तुत गर्दै ग्राहकमाझ आफूलाई प्रिय बनायो ।
नोकियाले समय परिस्थितिलाई बुझ्न नसक्दा तत्कालीन आवश्यकता बन्दै गरेको एन्ड्रोइडमा आधारित स्मार्टफोन बनाउनुको साटो आफ्नै अपरेटिङ सिस्टममा जोड दियो र सेट पनि निकै महँगा रहे ।
जसरी नोकियाका फिचर फोन रुचाइएका थिए, त्यसैगरी स्मार्टफोन रुचाएनन् । नोकियाले सन्तुष्ट बनाउन नसकेका ग्राहकलाई आफूतिर तान्न सामसङको चातुर्य सफल भयो । आधा दशकअघिसम्म विश्वभर आफूलाई एकछत्र राज गराउन सफल पनि भएकै हो ।
तर, समय सबैको अनुकूलमा कहाँ हुन्छ र ? सामसङका पनि प्रतिस्पर्धी थपिँदैछन्, चुनौती बढ्दो छ । आफूलाई टक्कर दिने कम्पनीसँगको चर्को प्रतिस्पर्धाका बीच नोट सेभेनको असफलताले सामसङलाई ठूलो धक्का लागेको छ ।
यद्यपि कम्पनीले निकै कम मूल्यदेखि लाखमाथिका सेटसमेत गत वर्ष बजारमा ल्याएर आफ्नो एक नम्बरको हिस्सा कायम गर्न सफल भएको देखिन्छ ।
सामसङको सफलताको पछाडि मध्यमवर्गीय बाहुल्य रहेको एसिया तथा दक्षिण एसियाली मुलुकमा मध्यम रेन्जदेखि इन्ट्री लेभलको स्मार्टफोन दिन सक्नु, विकसित मुलुकमा नोट र ग्यालेक्सी सिरिजका फ्ल्यागसीप फोनहरू पु-याउन सक्नु र प्रतिस्पर्धी कम्पनीले बजारमा ल्याएका उत्पादनलाई अध्ययन गरी छिटै नै आफ्ना उत्पादनको पुनःउत्पादन गर्दै मूल्य र गुणस्तर दुवैमा ख्याल गर्नुलाई मान्न सकिन्छ ।
यद्यपि विश्व अर्थतन्त्रमा प्रतिस्पर्धी मानिएको चीनको स्मार्टफोन बजारमा देखिएको योजनाबद्ध बजार विस्तारको नीतिलाई सामना गर्न भने सामसङ र एप्पललाई पनि कम बल लगाएर पुग्नेवाला छैन । बाँकी विश्व बजारको भोलिको अवस्थाले निर्धारण गर्ने कुरा हो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij