अर्जुन खत्री
अध्यक्ष, ग्यास बिक्रेता महासंघ नेपाल (बाग्मती प्रदेश)
नेपालमा पछिल्लो करिब ५ महिना देखि कोरोना भाइरसलाई लक्षित गरी आह्वान गरिएको लकडाउन अहिले खुकुलो भएको छ । पूर्ण रुपमा लकडाउन नखुलेको भएपनि खुकुलो भएपश्चात् भने नेपालमा कोरोना संक्रमण निकै तीव्र रुपमा फैलिइरहेको छ । नेपालमा पहिलोपटक चैत ११ देखि लकडाउन लागु गरिएको थियो । लकडाउन कार्यान्वयनसँगै नेपालका आर्थिक गतिविधिहरु घट्दै गए । जसले गर्दा नेपालमा आर्थिक कारोवार समेत घट्नु स्वभाविक रह्यो । साथै जनजीवन अत्यन्त कष्टकर बन्यो । ठूलो सङ्ख्यामा मानिसहरु कोरोना त्रासको कारण काठमाडौंबाट बाहिरिएर आफ्नो गृह जिल्ला तर्फ फर्किए ।
ग्यास व्यवसायमा कोरोना सङ्कटको प्रभावः
लकडाउनको कारण सबै क्षेत्रहरु प्रभावित भए । खाना पकाउने ग्यास मानिसको आवश्यकताको वस्तु समेत भएको कारण पूर्ण लकडाउनको अवस्थामा समेत यसको कारोवारमा पूर्ण रुपमा रोक लगाइएन । कारोवार सुचारु नै रह्यो । यद्यपि मानिसहरुको चाप भने घटेर निकै कम हुनगयो । काठमाडौंका मानिसहरु घटेसँगै अहिले पनि ग्यासको कारोवार निकै घटेको छ । लकडाउन खुकुलो भएपश्चात् समेत ग्यासको कारोबार बढ्न नसक्नुमा यसको ठूलो कारोवार गर्ने होटल, रेष्टुरेन्ट, होस्टेल लगायतका ठूला व्यावसायिक क्षेत्रहरु सञ्चालनमा आउन नसक्नु नै मुख्य कारण हो ।
नेपाली बजारमा एलपि ग्यास कारोवार व्यवस्थित हुन नसकेको कुरा पानी पसल, किराना हुँदै मेडिकलबाट समेत ग्यास उपलब्ध भइरहेका घटनाबाट प्रष्ट हुन्छ । यस्तो अवस्था कायम रहिरहँदा न त उपभोक्तले नै सुरक्षाको महसुस गर्न सक्छन् । न त अप्ठ्यारो पर्दा उपभोक्ताले यस्ता पसलहरुबाट सहज रुपमा ग्यास पाउन नै सक्छन् ।
ग्यासको प्रमाणिकरणमा महासंघको जोडः
ग्यास व्यवसायीहरुले लामो समय देखि उठाउँदै आएको विषय भनेको यसको प्रमाणिकीकरण हो । ग्यास विक्रेता महासंघ नेपालले यस सम्बन्धी नेपाल सरकारलाई घच्घच्याउँदै आएको छ । एलपि ग्यास बजारलाई व्यवस्थित बनाई व्यवसायी र उपभोक्तालाई सुरक्षित गर्न प्रमाणिकीकरण आवश्यक रहेको भन्दै महासंघले यस कार्यको लागि लामो समय देखि पहल गर्दै आएको भएपनि यस कार्यमा सरोकारवाला निकायहरु नेपाल आगम निगम, वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभाग, आपुर्ति मन्त्रालयले यसलाई विशेष प्राथमिकता दिन नसक्दा यो विषय अझै टुङ्गिन सकेको छैन ।
ग्यास संवेदनशिल वस्तु भएको र यसलाई व्यवस्थित रुपमा मात्र कारोवार हुने व्यवस्था गराउनको लागि महासंघले लामो समय देखि घच्घच्याउँदै आएको छ । अन्य व्यवसायहरु जस्तो लथालिङ्ग तवरले कारोवार हुँदा दुर्घटनाका घटनाहरु भइरहेको भन्दै महासंघले विशेष सावधानी गराउँदै आएको छ । न्यूनतम सुरक्षाका विधिहरु अपनाएर मात्र ग्यास कारोवार गर्न जरुरी हुने महासंघ लगायत बाग्मती प्रदेशले पनि विशेष पहल गरिरहेको छ ।
यसकारण आवश्यक छ प्रमाणिकरणः
उद्योगीहरुबाट प्रशोधन भई विक्रेताहरु सम्म आइपुग्ने एलपी ग्यासलाई विक्री गर्ने क्रममा व्यापारी आफैं पनि सुरक्षात्मक ज्ञान सम्बन्धी आधारभूत तालिमप्राप्त भएको खण्डमा अत्यन्त संवेदनशिल ग्यासको कारोवार थप सुरक्षित हुन सक्छ । अहिले सम्म नेपाली बजारमा एलपि ग्यास कारोवार व्यवस्थित हुन नसकेको कुरा पानी पसल, किराना हुँदै मेडिकलबाट समेत ग्यास उपलब्ध भइरहेका घटनाबाट प्रष्ट हुन्छ । यस्तो अवस्था कायम रहिरहँदा न त उपभोक्तले नै सुरक्षाको महसुस गर्न सक्छन् । न त अप्ठ्यारो पर्दा उपभोक्ताले यस्ता पसलहरुबाट सहज रुपमा ग्यास पाउन नै सक्छन् ।
अव्यवस्थित कारोवार हुनुमा वितरक पनि जिम्मेवार छन्ः
अहिले नेपालमा ग्यास विक्री वितरणको लागि उद्योग र विक्रेता मात्र नभई वितरकहरु समेत संलग्न छन् । बजारमा ग्यास कारोबार व्यवस्थित बन्न नसक्नुमा यस्ता वितरकहरुले ग्यास प्रयाप्त उपलब्ध रहेको बेला सबै किसिमका पसलहरुलाई सानो परिणाममा ग्यास उपलब्ध गराउने परिपाटी पनि एक हो । साथै यस्ता पसलहरुबाट कारोवार हुने ग्यासको राम्रो हिसाबकिताब समेत नरहने हुनाले राज्यले पूर्ण राजस्व समेत सङ्कलन गर्न सकेको छैन । जसको असर आधिकारिक विक्रेताहरुलाई समेत पर्ने गर्दछ ।
समस्यामा आधिकारिक व्यवसायीः
बजार सहज हुँदा आधिकारिक विक्रेताहरु सम्म नपुग्ने उपभोक्ताहरुलाई असहज अवस्थामा भने पहिले ग्यास लिएको पसलबाट सहजै ग्यास पाउन सकिने अवस्था रहँदैन । यसबाट आधिकारिक रुपमा ग्यास कारोवार गर्दै आएका पसलहरुमा बढी भीड लाग्ने गर्दछ । जसले गर्दा ग्यास पाउन सबै व्यक्तिहरु लाइनमा बस्नुपर्ने हुन्छ । यस्तो अवस्थामा ग्यास विक्रेताहरुले समेत विभिन्न किसिमका आरोप एवं झगडाहरुको सामना गर्नुपर्ने हुन्छ ।
त्यसरी बजार असहज हुँदा उपभोक्तावादी संस्था, सुरक्षा निकाय लगायत अन्य सरोकारवाला निकायहरुले समेत ग्यास उपलब्ध गराइरहेका आधिकारिक विक्रेताहरु नै विशेष निगरानीमा पर्ने गर्छन् ।
यसरी आइपर्ने विभिन्न समस्या समाधानको लागि सहयोग पुग्न सकोस् भन्ने मान्यताले प्रमाणीकरण आवश्यक छ । यस सम्बन्धमा विगत ४-५ बर्ष पहिले देखि नै पहल हुँदै आएको हो । तर भएपनि नेपाल आयल निगमले भने यस विषयलाई अहिले सम्म टुङ्ग्याउन सकेको छैन । यसलाई जतिसक्दो छिटो सम्पन्न गर्न सके ग्यास कारोवार सुरक्षित हुने, व्यवसाय आत्मनिर्भर हुने र बजारलाई व्यवस्थित गर्न समेत सहयोग पुग्ने देखिन्छ ।
ग्यास कारोवार व्यवस्थित गर्न सजिलो छः
ग्यास कारोवारको लागि खरिद र विक्री मूल्य नेपाल सरकारले नै तोकिदिएको छ । साथै अत्यन्तै प्रज्वलनशिल समेत रहेको हुनाले यसलाई विशेष सुरक्षित गर्नको लागि उद्योगको गुणस्तर कायम गर्न एवं उपभोक्ता हितलाई मध्यनजर गरी यथाशिघ्र काम सम्पन्न गर्नु जरुरी छ । सम्पूर्ण ग्यास व्यवसायीहरु हाम्रो कारोवारलाई चुस्तदुरुस्त राख्नको लागि विशेष प्रयाशरत रहि नै रहनेछौं । यस कार्यमा सबै पक्षको सहयोगको आवश्यकता छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij