डाेटी । लामो समयसम्म बिरामी रहेका बुवाको मृत्यु भएसँगै आमाले पनि छोडेर सम्पर्कविहीन भएपछि डोटीको सायल गाउँपालिका–६ नारा गाउँका तीनजना बालकको बिचल्ली भएको छ ।
पचपन्न वर्षीय बुवा बाजी खातीको करिब १५ महिनाअघि रोगका कारण मुत्यु भएको थियो । बुवाको मृत्यु भएको छ महिनापछि नै आमासमेत सम्पर्कविहीन हुनुभएको थियो । बुवा खातीको मृत्यु भएसँगै घरमा रेखदेख तथा हेरचाह गर्ने कुनै पनि अभिभावक नभएका कारण उहाँका तीन छोरा नौ वर्षीय लक्ष्मण खाती, दुई वर्षीय कृष्ण खाती र चार वर्षीय गणेश खातीको विचल्ली भएको छ ।
अभिभावकविहीन बालकलाई सहयोग गरिदिन स्थानीयवासीले सबैमा आग्रह गरेका छन् । आमाबुवाविहीन भएका ती बालकलाई हिजो आज घरमा खाना दिनेसमेत मान्छे नभएका कारण निकै समस्या उत्पन्न भएको छ । वर्षातको झरीमा खरले छाएको चुहिने सानो झुपडी घरमा खानेकुरो नहुँदा उनीहरु कयौँ दिन भोकै बस्न बाध्य भएका छन् । सहाराविहीन बनेका ती बालकलाई अहिलेसम्म कसैले पनि सहयोग तथा स्याहार नगरेका कारण झनै समस्या हुँदै आएको सायल गाउँपालिका–६ का स्थानीयवासी रमेशबहादुर थापाले बताउनुभयो ।
उहाँले भन्नुभयो, “तीन जना साना बालक एक्लै घरमा बस्छन्, उनीहरुलाई खानेकुरो दिने मान्छे पनि छैनन, कस्तो बिजोक भएको छ ।” घरमा रहेको अन्नपात पकाएर खान सक्ने अवस्था नभएका कारण पनि उनीहरुलाई समस्या हुन थालेको थापाले जानकारी दिनुभयो । लामो समयसम्म बिरामी रहेका बुवाको करिब १५ महिना पहिले मृत्यु भएसँगै आमाले पनि एकाएक बालबच्चा र घर छोडेर सम्पर्क विहीन भएपछि ती बालकको बिचल्ली भएको सायल गाउँपालिकाका अर्का स्थानीयवासी तथा नेकपाका युवा नेता तेज डुम्रेलले बताउनुभयो । उहाँले भन्नुभयो, “बुवा बिरामी थिए बिते, आमाले अकस्मात बालबच्चा छोडेर बेपत्ता भएपछि बाललकको संरक्षण र रेखदेख गर्ने मान्छे नहुँदा समस्या उत्पन्न भएको हो, उनीहरुको समस्या समाधानका लागि सबैले सहयोग गर्न जरुरी छ ।”
दीर्घरोगका रुपमा रहेको दम र क्षयरोगले पीडित बाजी खातीको मृत्यु भएसँगै वडाका नागरिकको सहयोगमा उनीहरुका लागि केही खाद्यान्न र लुगा कपडा दिए पनि घरमा पकाएर दिने मान्छे नभएका कारण ती बालकलाई समस्या भएको सायल गाउँपालिका–६ का वडाध्यक्ष लालबहादुर खडायतले बताउनुभयो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij