
काठमाडौं । सरकारले कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि यातायातका साधन सञ्चालनमा फेरि जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको जोखिम बढेसँगै जोर विजोर लागू गरिएको गृह मन्त्रालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।
गृहमन्त्रालयका अनुसार काठमाडौं उपत्यका र दुई सय जनाभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लाहरुमा जोर–बिजोर लागु गरिएको छ ।
‘काठमाडौं उपत्यका र कोभिड–१९ को २०० भन्दा बढी सक्रिय संक्रमण केश भएका जिल्लामा अत्यावश्यक सेवा बाहेकका सार्वजनिक तथा निजी सवारी साधनहरु भोली मिति २०७७–०४–२२ गतेदेखि लागुहुने गरी जोर बिजोर नम्बरका आधारमा मात्र सञ्चालन गर्ने व्यवस्था गर्ने’, गृह मन्त्रालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
आज जोर नम्बर प्लेट भएका सवारी साधनमात्र चल्न पाउने छन् । आज साउन २२ गते जोर गते रहेकाले जोर नम्बर प्लेट भएका सवारी साधन चल्नेछन् भने भोली बिजोर नम्बर प्लेटका सवारी चल्नेछन् ।
त्यसै गरी गृह मन्त्रालयले अत्यावश्यक ढुवानीबाहेक अन्य सवारी साधनलाई बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म काठमाडौं उपत्यकामा प्रवेश निषेध गरेको छ ।
साथै दुई सय जनाभन्दा बढी कोरोना संक्रमित भएका जिल्लाका शहरी क्षेत्रमा पनि बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द गरिएको छ ।

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij