
काठमाडौं । भाद्र कृष्ण प्रतिपदाका दिन सुरु भई अष्टमीसम्म मनाइने गाईजात्रा पर्व आज सुरु भएको छ ।
नेवबर समुदायले मनाउने गाईजात्रामा एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर परिक्रमा गराइन्छ । गाई र मानिसलाई सिगारी मृतक आफन्तको प्रतिमाका साथ सहर परिक्रमा गर्दै मृतकका आफन्तले फलफुल, मिठाई, दुध, दही लगायत विभिन्न खानेकुरा र द्रव्य दान गर्ने प्रचलन छ । यसरी नगर परिक्रमा गराउँदा मृतकको आत्मा गाईको पुच्छर समाएर वैतरणी पार हुन्छ भन्ने धार्मिक विश्वास छ ।
राजा प्रताप मल्लले पुत्रशोकमा रहेकी आफ्नी रानीलाई अरु धेरैले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन बर्षभरि निधन भएका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउन आदेश दिएअनुसार गाईजात्रा सुरु भएको किंवदन्ती छ ।
तर यस बर्षको गाइजात्रा भने सावधानी पूर्वक मनाउनु पर्ने देखिन्छ । कोरोना (कोभिड–१९) सङ्क्रमण बढ्दै गएकाले भीडभाडका बीच जात्रा मनाउँदा कोरोना सङ्क्रमण समुदायमा पनि फैलिने खतरा समेत रहेको छ । सङ्क्रमण जोखिम बढ्दै गएकाले सचेत रहन सरकारले सबैलाई आग्रह गरेको छ ।
सरकारले ज्येष्ठ नागरिक र बालबालिकालाई भीडभाडमा नल्याउन अनुरोध गरिसकेकाले विगतझैँ यस वर्षको गाईजात्रा तामझामका साथ नहुने भएको छ । सरकारले बालबालिकालाई घर बाहिर निस्कन रोक लगाएपछि सांस्कृतिक रूपमा टोल छिमेकमै जात्रा मनाइने छ ।
गाईजात्राका अवसरमा आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij