२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

कसरी फैलियो साढे तीन सयबढी सुरक्षाकर्मीमा कोरोना संक्रमण

कसरी फैलियो साढे तीन सयबढी सुरक्षाकर्मीमा कोरोना संक्रमण

काठमाडौं । नेपालमा कोरोनाभाइरसबाट कम्तीमा ३६० सुरक्षाकर्मी सङ्क्रमित भएको पुष्टि भएको सुरक्षा निकायका उच्च अधिकारीहरूले बताएका छन्।

सुरक्षा निकायमध्ये कोरोनाभाइरस महामारीबाट नेपाल प्रहरी सर्वाधिक प्रभावित भएको देखिएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार मङ्गलवारसम्म २०६ प्रहरी कोभिड-१९ बाट पीडित भएका छन्।

त्यसैगरी नेपाली सेनामा ७९ र सशस्त्र प्रहरीमा ७५ जनालाई सङ्क्रमण भएको छ।

सीमा सुरक्षा, विदेशबाट आउने नेपालीहरूलाई राख्ने होल्डिङ सेन्टर तथा शव व्यवस्थापनको कामबाट सुरक्षाकर्मीमा कोरोनाभाइरसको सङ्क्रमण बढेको प्रहरी तथा सेनाका उच्च अधिकारीहरूले बताएका छन्।

कसरी बढ्यो नेपाल प्रहरीमा सङ्क्रमण ?

गत चैत ११ गते लकडाउन घोषणा गरेपछि पहिलो पटक काठमाण्डूको कालीमाटीमा दुई प्रहरीलाई सङ्क्रमण देखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

अहिले मोरङ, स्याङ्जालगायत जिल्लाहरूमा ठूलो सङ्ख्यामा प्रहरीहरू सङ्क्रमित भएका छन्।

हाल नेपाल प्रहरीको प्रवक्ताको जिम्मा पाएका प्रहरी वरिष्ठ उपरीक्षक कुवेरसिंह कडायतले २०६ जनामध्ये ९९ जना निको भएर फर्केका छन् भने बाँकी उपचारमा छन्।

उनीहरूलाई सङ्क्रमणका लक्षण देखिएर परीक्षण गराउँदा कोरोनाभाइरस पुष्टि भएकको कडायतले बताए।

उनले भने, “पहिला प्रहरी प्रधान कार्यालयका चार जनालाई देखियो। पछि कन्ट्याक्ट ट्रेसिङ गर्दै लाँदा मुख्यालयमै ३५ जना सङ्क्रमित भेटिए।”

सङ्क्रमण कसरी फैलियो भन्नेमा नेपाल प्रहरीले नै निर्क्योल गर्न सकेको छैन।

प्रहरी वरिष्ठ उपरीक्षक कडायतले भने, “प्रहरी सर्वसाधारणसँग प्रत्यक्ष सम्पर्कमा हुन्छन्। मानिसलाई नियन्त्रणमा लिनुपर्छ। त्यसरी पनि सरेको हुनसक्छ। तर किटान गरेर भन्न सकिँदैन।”

सशस्त्र प्रहरीमा दुई किसिमले सङ्क्रमण

सशस्त्र प्रहरी बलका प्रवक्ता प्रहरी नायब महानिरीक्षक राजु अर्यालका अनुसार सीमा सुरक्षा तथा क्वारन्टीन सुरक्षामा खटिएका सशस्त्र प्रहरीमा सङ्क्रमण देखिएको छ।

नेपाल(भारत सीमा क्षेत्रमा ठूलो सङ्ख्यामा सशस्त्र प्रहरीका सुरक्षाकर्मीहरू परिचालित छन्। प्रवक्ता अर्यालले नेपाल(भारत सीमा क्षेत्रमा सम्भावित सङ्क्रमित भारतीय नागरिकसँग सम्पर्क हुने भएकाले सङ्क्रमण सरेको हुनसक्ने बताए।

उनले भने, “सीमामा भारतीय नागरिक नेपाल आउन खोज्छन्। त्यहाँ उनीहरूलाई रोक्नुपर्‍यो। नजिक परेपछि सङ्क्रमण भएको भन्ने हाम्रो बुझाइ हो।”

क्वारन्टीन व्यवस्थापनमा बसेका बेला पनि सङ्क्रमित तथा सम्भावित सङ्क्रमितसँग सम्पर्क हुने भएकाले त्यहाँबाट सङ्क्रमण सरेको हुनसक्ने अर्यालको भनाइ छ।

संयुक्त राष्ट्रसङ्घको सुडान मिशनमा गएकासहित सशस्त्र प्रहरीका ९३ जना सङ्क्रमित भएका अर्यालले बताए।

तीमध्ये १८ जना सुडानमा र ४७ जना नेपालमा निको भइसकेका उनले बताए।

उनका अनसार सुडानमा भएका १८ जनालाई अझै सक्रिय सङ्क्रमण छ। बीबीसी

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij