नेपाल भ्यालुयर्स एसोसिएसन केन्द्रीय कार्यसमितिले कोरोना महाविपत्तिबाट मुलुक गुज्रिइरहेको अवस्थामा आफ्नो सहयोगी हात अघी बढाएको छ ।

महावीर पुनबाट स्थापित राष्ट्रिय आविष्कार केन्द्र मार्फत नेपाल भ्यालुयर्स एसोसिएसनले आज १ लाख १० हजार रकमको चेक सहयोग स्वरुप उपलब्ध गराएको हो ।
एसोसिएसनका अध्यक्ष ई. ऋषि कोइरालाले आफूहरुले उपलब्ध गराएको रकम राष्ट्रिय आविष्कार केन्द्र मार्फत पिपिई लगायतका स्वास्थ्य सामाग्री उत्पादन तथा खरिद गरी विभिन्न स्वास्थ्य संस्थाहरुलाई वितरण गर्ने कार्यमा प्रयोग हुने बताउनुभयो ।
मुलुकको प्रविधि विकासमा व्यक्तिगत तवरबाट नै महत्वपूर्ण योगदान पुर्याउँदै आउनुभएका महावीर पुन मार्फत उक्त सहयोग उपलब्ध गराउन पाएकोमा संघले गौरवान्वित महसुस गरेको समेत अध्यक्ष कोइरालाले बताउनुभएको छ ।
पछिल्ला दिनहरुमा मूल्यांकनकर्ता इन्जिनियरहरु पनि आफ्ना पेशागत र व्यावसायिक भूमिकामा मात्र सीमित नरही विभिन्न परिस्थितिमा सामाजिक दायित्वका काममा समेत अग्रसर बन्दै आइरहेका देखिन्छन् । 
केही दिन पहिले मात्रै नेपाल भ्यालुयर्स एसोसिएसन लुम्बिनी च्याप्टरले कोरोना रोकथाम कोषमा १ लाख ५ हजार रुपियाँ उपलब्ध गराएको थियो । अन्य च्याप्टरहरुले पनि क्रमिक रुपमा सहयोगार्थ कोष व्यवस्थापनको तयारी गरिरहेका छन् ।
सेतोघर डट कमसँगको संक्षिप्त कुराकानीमा अध्यक्ष कोइरालाले मुलुकको आवश्यकता बमोजिम आफूहरु खाद्यान्न, लत्ताकपडा लगायत सबै किसिमका सहयोग उपलब्ध गराउन तयार रहेको समेत ऊहाँले बताउनुभएको छ ।
विपत्ति नियन्त्रण कार्य राज्य पक्ष अथवा एक–दुई संस्थाको पहलमा मात्र नियन्त्रण हुन सम्भव नहुने बताउँदै ऊहाँले यस कार्य सबै पक्षको सहयोग र सहकार्य आवश्यक रहने समेत बताउनुभएको छ ।
नयाँ बर्ष २०७७ को उपलक्ष्यमा सदस्य इन्जिनियर एवं सम्पूर्ण नेपालीहरुमा शुभकामना प्रकट गर्दै अध्यक्ष ई. ऋषि कोइरालाले सबैलाई सरसफाई एवं सुरक्षामा सचेत रहन समेत आग्रह गर्नुभएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij